देउवाको प्रस्ताव- एमसीसीमा सघाउनुस्, ओलीको जवाफ- पहिले हाम्रा माग सम्बोधन गर्नुस् – Nepal Press

देउवाको प्रस्ताव- एमसीसीमा सघाउनुस्, ओलीको जवाफ- पहिले हाम्रा माग सम्बोधन गर्नुस्

विष्णु पौडेल भन्छन्–आ आफ्ना अडान कायमै रहे, वार्तामा सहमति भएन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु आ- आफ्ना अडान राखेर छुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेको वार्तामा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताएका छन् ।

बैठकपछि पौडेलले नेपाल प्रेससँग भने– आज कुनै सहमति भएन । उहाँहरुले एमसीसी पारित गर्न एमालेको सहयोग माग्नुभयो । हामीले हाम्रा माग सम्बोधन गर्नुस् भन्यौं । त्यो भनेको एमालेलाई संसदीय प्रक्रिया भाग लिनका लागि हामीले उठाउँदै आएका मागको सम्बोधन हुनुपर्छ भन्ने हो । त्यसमा कुनै सहमति भएन ।

यो पनि पढ्नुहोस् : देउवाको आशंकामा एमालेको आश्वासन स् ढुक्क हुनुस्, प्रचण्ड(माधवसँग हाम्रो सहकार्य र गठबन्धन हुँदैन

एमालेले एमसीसीमा एमालेलाई प्रयोग गर्ने र हानिकारक गठबन्धन कायमै राखेर एमालेमाथि प्रहार गर्ने दोहोरो नीति नलिन प्रधानमन्त्रीलाई प्रष्ट रुपमा भनेको छ ।

उपाध्यक्ष पौडेलले सभामुखका कारण एमालेले संसदको कारवाहीमा भाग लिन नपाएको भन्दै पहिले एमालले राख्दै आएका विषयलाई सम्बोधन गर्न आग्रह गरेको बताए ।

कांग्रेसले भने एमसीसी पारित गर्नु कांग्रेस र एमालेको कर्तव्य भएको भन्दै गठबन्धनभित्रका कतिपय दलका कारण समस्या भएको समेत बताएको छ । तर एमालेले माओवादीको नीति एमसीसीको विपक्षमा मतदान गर्ने तर गठबन्धन नछाड्ने देखिएकाले त्यसमा प्रष्ट हुन भनेको कांग्रेस नेताहरुले बताएका छन् ।

वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए ।

कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर