जब बीसौं वर्षपछि श्रीमान् फिर्दा श्रीमतीले स्मृति गुमाइसक्छिन्
गत वैसाखमा खोटाङका विज्ञान कोइराला बेपत्ता भएको १९ वर्षपछि घर फर्किए । १७ वर्षको उमेरमा ०५८ सालमा काठमाडौंबाट बेपत्ता भएका विज्ञानको घरमा हर्षोल्लास थियो, तर पीडा र दुःखको फेहरिस्त पनि उस्तै थियो । घर छाड्दा शरीर र मानसिक अवस्था स्वास्थ्य रहेका उनी घर पुग्दा अस्वस्थ्य थिए ।
दुःखको क्यानभासमा कोइराला परिवारको खुसी धमिलो–धमिलो बनेको थियो । विज्ञानले आफ्नै बहिनीलाई चिनेनन् । विज्ञानले आफ्नै आमालाई चिनेनन् । उनले आफ्नै परिवारलाई चिनेनन् । सिर्फ मावली हजुरआमाको तस्बिरलाई मात्रै बल्लतल्ल ठम्याए ।
माओवादी शसस्त्र द्वन्द्वको समयमा सेना र माओवादी दुवैको निशाना परेका विज्ञानलाई बन्दुक त दागिएन, तर घर छाड्न विवश बनाइयो । भारत हिँडेका उनी कसोकसो काठमाडौं पुगे र अपहरणमा परे । अपहरणपछि शोषण र यातनाबाट छुटकारा पाउन सशस्त्र द्वन्द्वमा बेपत्ता बनेका विज्ञानलाई करिब दुई दशक कुर्नुपर्यो । दुई दशकपछि छाला र हड्डी मात्रै बोकेर घर फिरे ।
विज्ञान त प्रतिनिधि मात्रै हुन् । दशवर्षे सशस्त्र द्वन्द्वकालमा तीन हजारभन्दा ज्यादा मानिस बेपत्ता बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगको रिपोर्टमा छ ।
द्वन्द्व सकिएको डेढ दशक बढी भइसक्यो । अझै पनि बेपत्ता पारिएकाहरु फर्कने आशामा आफन्तहरु बाटो कुरेर बसेका छन् । घरको ढोका खुल्लै राखेर निदाएका छन् । कुनै दिन कोही त फिर्लान्, तर विज्ञान जसरी फिरे भने ?
सशस्त्र जनयुद्ध सकियो, नयाँ व्यवस्था आयो । तर, बेपत्ताहरु अझै फर्किएका छैनन् । बेपत्ताहरुलाई कुरेर अझैं थाकेका छैनन् आफन्तहरु । उनीहरुको पर्खाइकोे समय घर्कँदो छ, तर आशाको दीयो ननिभ्दो छ ।
एउटा चिनियाँ सिनेमा छ, ‘कमिङ होम’ (२०१४) । सन् १९६६–७६ सम्म दश वर्ष चलेको चिनियाँ सांस्कृतिक क्रान्तिको समयलाई आधार बनाएर गेलिङ यानले लेखेको उपन्यासमा आधरित रहेर चाङ यिमोउले निर्देशन गरेको सिनेमा हो यो । यिमोउ आफैंमा ऐतिहासिक पृष्ठभूमिमा रहेर सम्बन्ध, प्रेम, मानवीयतालाई मसिनो गरी दृश्यकरण गर्न पोख्त निर्देशक हुँदै हुन् । कडा सेन्सरसिप छलेर चिनियाँ कम्युनिस्ट सत्तालाई खुसी बनाउन विम्ब, प्रतीकहरुमा खेल्ने निर्देशक पनि हुँदै हुन् । सृजनामा लाग्ने अंकुशेहरुलाई विम्ब, प्रतीकले पन्छाउनु उनको कौशल हुँदै हो ।
जति धेरै संकटका बीच बाँचिन्छ, उति धेरै सृजनाको गुरुत्व बढी हुन्छ– यिमोउ यसको उदाहरण हुन् । तर, चिनियाँ संस्थापन पक्षको गुनगान गाउनबाट उनका सिनेमाहरु अलग्गिएका भने छैनन् ।
२०१४ मा प्रदर्शित ‘कमिङ होम’ले चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा एक परिवारको प्रेम, सम्बन्ध र त्यागको कथा भन्छ ।
दक्षिणपन्थविरोधी आन्दोलन र पछि सांस्कृतिक क्रान्तिको समयमा विचार अभिव्यक्त गरेकाले प्रोफेसर लु यान्सी (चेन डेओमिङ)लाई श्रम शिविरमा राखिएको छ । एक दिन श्रम शिविरबाट भाग्न सफल हुन्छ ऊ । घरमा श्रीमती र छोरी छिन् । तीन वर्षकी हुँदा बाबुसँग छुटेकी छोरीलाई बाबुसँगको अलिकति सम्झना पनि छैन ।
सशस्त्र जनयुद्ध सकियो, नयाँ व्यवस्था आयो । तर, बेपत्ताहरु अझै फर्किएका छैनन् । बेपत्ताहरुलाई कुरेर अझैं थाकेका छैनन् आफन्तहरु । उनीहरुको पर्खाइकोे समय घर्कँदो छ, तर आशाको दीयो ननिभ्दो छ ।
लु यान्सी सिधै घर जान सक्दैन । घर जानसाथ पक्राउ पर्नेछ र झनै ठूलो सजायको भागिदार हुनुपर्नेछ । छोरी आफ्नो बाबुसँग सकरात्मक छैनन् । लुक्दै लुक्दै घर पुगेका लुले घरको ढोकाको चेपमा राखेको चिर्कटोमा श्रीमती फ्रेङ वान्यु (गोङ ली)लाई भोलि बिहान स्टेसनमा भेट्न आउनु भनेर लेख्छन् । त्यो सूचना छोरीले थाहा पाएपछि सरकारी प्रतिनिधिलाई खबर गर्छिन् । र स्टेसनमा फ्रेङलाई भेट्नै नपाइए त्यहाँबाट भाग्न सफल हुन्छ । त्यही बेला फ्रेङ लडेर घाइते हुन्छिन्, टाउकोमा चोट लाग्छ ।
लु यान्सीको दोस्रो घर फिर्ती सांस्कृतिक क्रान्ति सकिएपछि हुन्छ । ऊ जेलबाट छुट्छ र घर आउँछ । तर, घरमा श्रीमती फ्रेङले पहिचान गर्न सक्दिनन् । बढी इमोसनल भएका कारण विस्मृतिकी बिरामी भएकी छन् ।
लुकै पर्खाइमा बसेकी फ्रेङले आफ्नै श्रीमान्लाई नचिनेपछि लुले स्मृति फर्काउन अनेक उपाय लगाउँछ । सरकारी प्रतिनिधि आएर कागज देखाउँदा पनि फ्रेङले चिन्दिन । लुले चिठी लेखेर महिनाको पाँच तारिखमा स्टेसन आउँछु भनेर पठाउँछन् । यसपछि फ्रेङ हरेक महिनाको पाँच तारिखमा रेल स्टेसन जान्छिन् लुलाई लिन । सबै–सबै आउँछन् स्टेसनमा, तर लु आउँदैन ।
एक दिन लु नै स्टेसनमा आउनेहरुको समूहबाट घर फर्कन्छ, तर पनि फ्रेङले चिन्दैन । फ्रेङले त्यही लु खोजिरहेको हुन्छ, जो उनीहरु छुट्नुअघि थियो । तर, समय र अनुहार बदलिइसकेको छ दुवैको । पुराना चिठीहरुको बाकस नै फ्रेङको घरमा लगिदिन्छ छोरीले । लुले नै पढिदिन्छ । अन्ततः चिठी पढ्दापढ्दा आजित भएर लुले छोरीसँग बोल्छ, ‘अब चिठी पढ्न जाँदिनँ । चिठी पढिरहेँ भने म फ्रेङको श्रीमान् हुँदिनँ, चिठी पढ्ने मान्छे मात्रै हुन्छु ।’
लु फ्रेङको घर छेवैमा बसेको छ । फ्रेङ एक्लै बसेकी छे लुको पर्खाइमा । पहिला लु श्रम शिविरबाट भागेर आउँदा ढोका बन्द गरेका कारण फ्रेङको भेट भएको हुँदैन, त्यही भएर फ्रेङले घरको ढोका खुल्लै राखेकी छे । तर, लु घरमै पुग्दा पनि फ्रेङले चिन्दिन ।
वर्षौंपछि लु पनि वृद्ध भएको हुन्छ । फ्रेङ पनि वृद्धा भएकी हुन्छिन् । तर, फ्रेङको बिरामी निको हुँदैन । वृद्धा हुँदा पनि हरेक महिनाको पाँच तारिखमा स्टेसन पुग्छिन् । लुको नामसहितको पमप्लेट र लुका लागि बनाएका खाजा बोकेर लुलाई लिन पुगेकी वृद्धा फ्रेङलाई वृद्ध लुले नै स्टेसन पु¥याउँछ ड्राइभर बनेर । फ्रेङ पमप्लेट बोकेर उभिन्छिन् लुलाई पर्खेर । वृद्ध लु फ्रेङ छेवैमा उभिन्छन् ।
अहिले पनि भनिन्छ, सांस्कृतिक क्रान्तिका कारण निम्तिएको मानसिक ट्रमाहरु अझै पनि छन् । त्यस समयमा परिवारमा आएको विचलन, सम्बन्धहरुमा आएको उतारचढावको असर आधा शताब्दीपछि अहिले पनि देखिन्छन् । त्यसबेलाको घाउको दागले अहिले पनि मानिसहरु पीडित छन् भनिन्छ ।
त्यही घाउलाई एकदमै चहराउने गरी यिमोउले आधा शताब्दीपछि सिनेमा बनाए । सिनेमामा सम्बन्धको उज्यालो खोजे, सम्बन्धको अँध्यारो खोजे । पर्खाइको वेचैनीलाई खोजे । पर्खाइको दुर्दान्त समाप्तीलाई खोजे । राजनीतिक क्यानभासमा प्रेम, विस्वास र त्यागको पोट्रेट बनाए ।
यिमोउका प्रायः सिनेमा चिनियाँ क्रान्ति र क्रान्तिपछिको पुर्नजागरणको परिवेशमा छन् । अधिकांश सिनेमाले ती समयको पृष्टभूमिमा रहेर संवेदित कथा भन्छन् । माओको गुनगान गाएझैं गर्दै चिनियाँ सेन्सरसिपबाट ‘स्किप’ भइदिन्छन् यिमोउ । तर, यिमोउका कथा नौला भने हुँदैनन् ।
लुकै पर्खाइमा बसेकी फ्रेङले आफ्नै श्रीमान्लाई नचिनेपछि लुले स्मृति फर्काउन अनेक उपाय लगाउँछ । सरकारी प्रतिनिधि आएर कागज देखाउँदा पनि फ्रेङले चिन्दिन । लुले चिठी लेखेर महिनाको पाँच तारिखमा स्टेसन आउँछु भनेर पठाउँछन् । यसपछि फ्रेङ हरेक महिनाको पाँच तारिखमा रेल स्टेसन जान्छिन् लुलाई लिन । सबै–सबै आउँछन् स्टेसनमा, तर लु आउँदैन ।
हो, कथा नौलो या नवीन नै हुनुपर्छ भन्ने हुँदैन, कथा हामीले सुनिआएकै भए पनि हुन्छ, तर त्यसलाई भन्न जान्नुपर्छ । त्यो कथालाई बुन्न जान्नुपर्छ । कथा भन्न, उधिन्न र बुन्न पोख्त मेकर हुन् यिमोउ । उनको कथा भन्ने तरीका र कथालाई उनले दिने पृष्ठभूमि सधैं शानदार हुने गर्छ ।
यिमोउका अन्य सिनेमाभन्दा ‘कमिङ होम’ चाहिँ मेकिङको हिसाबले अलि फरक छ । प्रायजसो रङहरुमा खेल्न रुचाउँछन् यिमोउ । सिनेम्याटोग्राफरबाट करियर सुरु गरेका यिमोउको सिनेम्याटोग्राफीको शैली आफ्नै छ । यिमोउको यस्तै शैलीले ‘कमिङ होम’को मुड र सुस्त गति अनि उदास–उदास दृश्यहरुलाई अर्थपूर्ण बनाउन सहयोग गरेको छ ।
रङहरुमा पनि थोरै फरक तरीकाले खेलेका छन् यस सिनेमामा यिमोउले । अलि बढी नै दबाबसहित ‘गे्र’ कलरलाई प्रयोग गरेका छन् । बढीजसो मौनतामा खेलेका छन् । यसले पात्रको उदासी मुडलाई स्थिर राखिरहन सहयोग पनि गरेको छ । खुसीको सानो औंशसम्म नभएको सिनेमालाई यिमोउले जति सुस्त र धिमी बनाएका छन्, उत्ति नै गोङ लीले आफ्नो पात्रलाई गजबले निभाउन पाएकी छन् । साथमा यिमोउले प्रयोग गरेको ग्रे कलरले गोङ लीको अन्तरनिहित उदासी र गहिरो दुःखको निस्वासलाई दर्शक समक्ष गज्जबले प्रस्तुत गरिदिएको छ ।
सम्पादनमा एकदमै धेरै जम्पकटहरुलाई प्रयोग गरिएको छ । प्रायजसो कट–अन–एक्सनको प्रयोग फाइट सिनहरुमा प्रयोग हुने गर्दछ । दर्शकले त इमेजहरुमा आउने डिसकन्टिन्युटिलाई ख्याल गर्दैनन् । उनीहरु कथामा के ट्वीस्ट आउँछन् भनेर मात्रै कुरेर बसेका हुन्छन् । क्लोजअपदेखि मिडियम सटहरुमा चलाइएको जम्पकटहरुले डिस्टर्ब महसुस गराउँछ ‘कमिङ होम’मा । तर, यिमोउले यस्ता कटहरुको प्रयोग पात्रहरुमा भएको मानसिक विचलन र अस्थिरतालाई देखाउन पनि प्रयोग गरेका हुनसक्छन् । तर, अलि अनावश्यक र झिँजोलाग्दा जम्पकटहरु भने छन् ।
यिमोउले सांस्कृतिक क्रान्तिको पृष्ठभूमिमा निर्माण गरेको प्रेमको उदेकलाग्दो र दुःखलाग्दो कथालाई बडो सुन्दर तरीकाले दृश्यपान गराएका छन् दर्शकलाई । हुन त प्रेम, सम्बन्ध भन्ने चिज फुल्छ नै संकटमा । फक्रन्छ नै अप्ठ्यारोमा । सहजतामा त त्यही चिजले मानिसविरुद्ध प्रतिकार गर्न थाल्छ किनभने मानिसले सहजतामा सम्बन्ध, प्रेमलाई बेवास्ता गर्न थाल्छ ।
नेपालको दशवर्षे सशस्त्र युद्धकमा कति प्रेम, सम्बन्धहरु फुले, फक्रिए अथवा निमोठिए, त्यसको हिसाबकिताब छैन । भौतिक क्षतिको क्षतिपूर्तिका लागि अझैं पीडितहरु लडिरहेका छन्, मानसिक क्षतिको कुरा त परको रह्यो । तर, यिमोउको ‘कमिङ होम’ हेर्दै गर्दा दिमागमा भने सशस्त्र युद्धमा बेपत्ता पारिएका हजारौं मानिसहरु र उनीहरुलाई पर्खिरहेका आफन्तहरुको सम्झना आइरह्यो । पक्कै एक दिन त विज्ञान जसरी उनीहरु फिर्लान् नै, तर लु र फ्रेङको जस्तो अवस्था बनिदियो भने ?