शेरबहादुरजीले ब्ल्याङ्क चेक माग्नुभएको छ, एमालेले दिँदैन : सचिव भट्टराई (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ‘ब्ल्याङ्क चेक’ मागेको बताएका छन् ।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारेका हुन् ।
‘प्रधानमन्त्रीजीले एमालेसँग ब्ल्याङ्क चेक माग्नुभएको छ । एमालेले ब्ल्याङ्क चेक दिदैन । ब्ल्याक एण्ड ह्वाइटमा सहमति हुनुपर्छ’, भट्टराईले भने ।
गठबन्धन भत्काउन एमालेले कतै धुप नबालेको भन्दै भट्टराईले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताए ।
‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ । यो गठबन्धन भत्काउन हामी लागेको छैनौं तर भत्कनु मुलुकको हितमा हुनेछ’, उनले भने ।
एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको बताए ।