सभामुखले राजीनामा नदिएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् ।
स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै उनले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने प्रष्ट्याए ।
‘एमाले विभाजन गर्नेगरी सभामुखले दोहोरो भूमिका निभाउनुभयो,’ महासचिव पोखरेलले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्यो वा मार्गप्रशस्त गर्नुपर्यो । अनि मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ ।’
सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरूको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।