यसरी पत्ता लागेको थियो लुम्बिनी
सन् १८९६ को नोभेम्बर महिनाको अन्त्यतिर तत्कालीन पाल्पा गौंडाका बडाहाकिम खड्गशमशेरले रुम्मिनदेई (लुम्बिनी) जंगलमा ढुंगाको ठूलो खम्बा जमिनमुनि गाडिएको अवस्थामा भेटिएको जानकारी पाए । उनी त्यहाँ पुगेर खम्बाको निरीक्षण गरे र खन्न लगाए ।
नजिकै मुकाम खडा गरी आफू पनि त्यहीं बसे । उत्खनन्को काम धमाधम भइरहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिकका दिन ३ फिट जति खन्न बाँकी थियो । त्यतिकैमा एकजना विदेशी पुरातत्वविद् डा. फुहरर त्यहाँ आए । कपिलवस्तु क्षेत्रको उत्खननका लागि नेपाल सरकारसँग अनुमति मागेका फुहररलाई पाल्पा क्षेत्रका बडाहामिकसँग सम्पर्क गर्न लगाइएकाले तानसेन पुगेका थिए । पाल्पा पुगेपछि बडाहाकिम रुम्मिनदेही जंगलमा ढुंगाको खम्बा खनिरहेका छन् भन्ने थाहा पाएर उनी तानसेनबाट बाटो सोध्दै त्यहीं पुगे । फुहररको खड्गशमशेरसंग भएको पहिलो भेट नै त्यहीं थियो ।
यसरी फुहररले उत्खनन हुँदै गरेको खम्बा र त्यसमा उल्लेखित अभिलेखको तस्वीर खिचे । पुरातात्विक क्षेत्रको यसरी उत्खनन गर्न नहुने सुझाव दिए । उल्लेखित अभिलेखको ब्राम्ही लिपिविज्ञहरुले अर्थ लगाएपछि गौतम बुद्धको जन्मस्थल तथा प्राचीन लुम्बिनी सोही ठाउँ हो भन्ने स्पष्ट भयो ।
खड्शमशेर पुरातत्वका विशेषज्ञ थिएनन् । लुम्बिनी पत्ता लाग्नुअघि उनलाई बुद्ध र बुद्धधर्मका सम्बन्धमा खासै ज्ञानसमेत थिएन भन्ने गरिन्छ । यद्यपि, उनी जिज्ञासु थिए र त्यसको उत्खनन गनए रुचि देखाए । संयोगबश फुहरर आए र लुम्बिनी पत्ता लाग्यो ।
यसरी लुम्बिनी पत्ता लगाउने व्यक्तिका रुपमा फुहरर र खड्गशशमशेर चिनिए । त्यसो त डा. फुहरर त्यसअघि पनि नेपाल आएका थिए । सन् १८९५ को मार्चमा निग्लिहवासम्म आएर उनले ढलिरहेको अशोक स्तम्भमा कुँदिएको अभिलेख उतारेर फर्केका थिए । त्यहीं पाठको अर्थ ठम्याएपछि भारतीय पुरातत्व सर्वेक्षण विभागले नेपालभित्र अरु पनि स्तम्भहरु हुनसक्ने सम्भावना देखेर दोस्रोपटक पनि फुहररलाई नेपाल पठाएको थियो । फुहरर तेस्रोपटक पनि नेपाल आएर कपिलवस्तु क्षेत्रको उत्खनन गरेका अभिलेखहरु छन् ।
पत्ता लागेको दुई वर्षपछि सन् १८९८ मा लुम्बिनीको अध्ययन तथा उत्खनन गर्न अर्का पुरातत्वविद् पी.सी मुखर्जी आए । मुखर्जीले अशोक स्तम्भ वरिपरी उत्खनन गरेर हेरे । विभिन्न कालखण्डमा बनाइएका प्राचीन इँटाका पर्खालहरु उनले भेटे । विभिन्न आकारका भग्वावशेषहरु भेटेपछि उनले तिनलाई स्तुप वा विहार रहेको हुनसक्ने अनुमान गरे । मुखर्जीले अशोक स्तम्भको उत्खनन गरिरहेको तस्वीरको पछाडि दुईवटा साना तर जिवित भौतिक संरचना देखिन्छन् । तीमध्ये एउटा स्थानीयले वनदेवीको रुपमा पूजा गर्ने रुम्मिनदेहीको मन्दिर थियो भने अर्को मठ थियो । ती दुवै संरचनाको पनि उनले उत्खनन गरेका थिए ।
पहिलो वनदेवीको रुपमा स्थानीयले पूजापाठ गर्ने रुम्मिनदेहीको मन्दिर थियो । यद्यपि, त्यसबेलासम्म मन्दिर भन्ने प्रचलन थिएन भन्ने मान्यता इतिहासविद्हरुको छ । जुन भत्केको र छानो खसेको जीर्ण अवस्थामा थियो । कालान्तरमा यसै मन्दिरलाई रुपान्तरण गर्दै हालको मायादेवी मन्दिर बनाइएको हो ।
त्यहींबाट मुखर्जीले मायादेवीले शिशुलाई जन्म दिइहेको सबैभन्दा पुरानो मूर्ति भेटेका थिए । शीर भाँचिएको अवस्थामा रहेको सो मूर्तिको पछाडि शीर भेटेर जोड्दा उक्त मूर्तिको तल्लो भागसँग ठ्याक्कै मिलेको थियो । लुम्बिनीमा भेटिएको सबैभन्दा महत्वपूर्ण र पुरातात्विक मूर्तिको रुपमा यसलाई लिइन्छ । नजिकै रहेको दोस्रो मठ एक सन्यासीले केही वर्षअघि मात्र स्थापना गरेको भनिएको छ । उक्त मठमा ताला लागेको तस्वीर मुखर्जीको तस्वीरसंग प्रष्ट देख्न सकिन्छ । मुखर्जीले त्यसको पनि उत्खनन गरेर केही मूर्ति र भाँडाकुँडा भेटेका थिए ।
सन् १८९८ मै थाइल्याण्डका राजकुमार भिक्षु दीपंकर वंशजलाई साथमा लिएर आएका अनागरिक धम्मपालले पनि लुम्बिनीमा एककोठे भवन देखेका थिए । उक्त कोठाभित्र कपडाले छोपिएको मूर्ति राखिएको आफूले देखेको उनले बताएका छन् । तर त्यहाँ सुरक्षा गार्डले मूर्ति हेर्न पाल्पाबाट स्वीकृति लिएर आउनुपर्ने बताएपछि उनले पैसा दिएर मूर्ति हेरेको र मूर्तिको टाउको र खुट्टा नदेखेको उल्लेख गरेका छन् ।
त्यसपछि लुम्बिनी भेटिएको चर्चा संसारभर फैलिएको थियो । सन् १९३३ मा केशरशमशेरको नेतृत्वमा लुम्बिनीको विस्तृत उत्खनन सुरु भयो । उनको उत्खनन वैज्ञानिक नभएको आरोप लाग्ने गरे पनि उनले थुप्रै संरचनाहरुको संरक्षण गर्दै पिसी मुखर्जीले उत्खनन गरेको त्यही पुरानो वनदेवीको मन्दिरलाई छोपेर पुरानो मायादेवी मन्दिर निर्माण गरेका थिए ।
अशोक स्तम्भदेखि पूर्वको माटोको ढिस्कोमाथि रोमन शैलीमा सेतो चुना लगाएर निर्माण गरेको त्यतिबेलाको संरचना नै हालको मायादेवी मन्दिर हो । मौर्य सम्राट अशोकले लुम्बिनीमा अशोकका बृक्षमुनि सात तहको इँटामाथि हिफाजतसाथ राखेको जन्मस्मारक शिलामाथि पछि विभिन्न कालहरुमा संरचनाहरु निर्माण भएको पुरातत्वविद्हरुको मान्यता छ । त्यहाँ गुप्तकालमा शिखरशैलीमा सप्तरथ निर्माण गरिएको थियो भनिन्छ ।
तर पछि लुम्बिनी ओझेलमा पर्दा मन्दिर जीर्ण भइ माटोको ढिस्कोमा परिणत भएको मान्यता छ । कालान्तरमा त्यसलाई वनदेवीको कल्पना गरी रुम्मिनदेई वा रुम्मिनमाई भनिएको थियो । पी.सी मुखर्जी आउँदासम्म पनि यसलाई मायादेवी मन्दिर भनिएको थिएन । उनले मायादेवीको मूर्ति भेटिएको कोठा मात्र भनेका छन् । त्यो कोठा कसले बनायो भन्ने पत्ता लागेको छैन ।
सेतो रंग लगाइएको र झट्ट हेर्दा रोमनशैलीमा बनेको देखिएकाले खड्गशमशेरले नै उक्त कोठा बनाएका हुन् कि भन्ने अनुमान छ । तीनै खड्गशमशेरले पाल्पामा रानी महलसमेत निर्माण गरेका छन् । उनैले बनाएको अड्कल काटिएको कोठालाई छोपेर केशरशमशेरले मायादेवी मन्दिर बनाए । त्यसबाहेक उनले पुष्करणी पोखरीलाई समेत संरक्षण गरे ।
पछि उक्त मन्दिरसमेत जीर्ण हुँदै गएपछि थप उत्खनन गर्नुपर्ने आवश्यकता ठानी लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्थाको संयुक्त उत्खनन कार्य सन् १९९३ देखि १९९६ सम्म जारी रह्यो । त्यतिबेला पुरानो मायादेवी मन्दिर भत्काइयो । सोही समय मार्कर स्टोन, पन्ध्र वटा च्याम्वर, गुप्त, कुषाण, शुंग र मौर्यकालीन इँटा र वास्तु अवशेषहरुसहित थुप्रै महत्वपूर्ण सामग्री भेटिए । जसले लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा पुष्टि गर्न थप सहयोग मिल्यो ।
सन् १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भयो । त्यसपछि युनेस्कोको सहयोगमा मायादेवी मन्दिरको डिजाइन पास गरेर २०५८ सालमा हालको मायादेवी मन्दिर निर्माण गरियो । पुनःनिर्मित मायादेवी मन्दिरको बाह्य आवरण केशरसमशेरले १९३३–३९ सालसम्मको अवधिमा निर्माण गरेको अर्धरोमन शैलीमा निर्मित मायादेवी मन्दिरकै पुनरावृत्ति जस्तो देखिन्छ ।
स्रोत: लुम्बिनी विकास कोषबाट प्राप्त लिखतहरु /बसन्त विडारीको लुम्विनीः विगत, वर्तमान र भविष्य/डा. गितु गिरीको लुम्बिनी क्षेत्रका सांस्कृतिक सम्पदाहरु/वसन्त महर्जनको लुम्बिनी, ऐतिहासिक तथा पुरातात्विक अध्यनन/बाबुकृष्ण रिजालको लुम्बिनीका पुरातात्विक संरचना ।