एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइयो : प्रदीप ज्ञवाली (भिडिओ) – Nepal Press

एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइयो : प्रदीप ज्ञवाली (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइएको भन्दै देशले गम्भीर मूल्य चुकाउनुपर्ने बताएका छन् ।

संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धनले एमसीसीलाई गिजोलेका कारण देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘एमसीसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरुले दुई वटा जुन ब्लन्डर गरेका छन्, यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने नबढाउने भन्ने । तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति, यो निम्त्याएको उहाँहरुले हो ।’

उनले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको पनि बताए ।

उनले भने, ‘हामीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाहीको सूचना टाँस हुनुपर्छ र यसो नगर्ने सभामुखज्यू हुनुहुन्छ, उहाँले स्टेप डाउन गर्नुपर्छ भन्ने कुरा छ । त्यसो भयो भने संसदमा हामी जान पाउँछौँ, छलफलमा सहभागी हुन पाउँछाँै । अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ यथावत छ । यसमा सामान्यतया उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

उनले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको बताए ।

उनले भने, ‘दलीय स्वार्थका लागि अहिले संसद बन्द भएको होइन, हामी एउटा सिस्टमा लागि लडेका छौँ । दलीय व्यवस्था हो भने दलको सर्वोच्चता स्थापित हुने एउटा आधारभुत कुरासँग जोडिन्छ, यदी त्यसो भएन भने सिस्टम चल्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर