प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी – Nepal Press

प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन जोगाउन मध्यमार्गी समाधान खोज्ने विषयमा छलफल भएको छ ।

शुक्रबार अपरान्ह दाहाल-नेपालबीच सिंहदरबारस्थित नेकपा एसको संसदीय दल कार्यालयमा भेटवार्ता भएको हो । नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला प्रचण्ड पुगेका थिए ।

भेटमा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले बताए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उनले जानकारी दिए ।

सचेतक श्रेष्ठले भने, ‘यो जुनखालको अन्योलतालाई कसरी चिर्ने ? नेकपा (एमाले)को षड्यन्त्रलाई कसरी परास्त गर्ने ? जुन राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो त्यसलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा जे जति सडकबाट उठेका विषयहरु, आन्दोलनमार्फत् उठाइएका विषयहरू र एमसीसीका राष्ट्रहितविपरीतका दफाहरु छन्, कसरी यसलाई करेक्शन गर्न सकिन्छ, र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने नेकपा एसको निर्णय नै हो ।’

एमसीसीलाई विशुद्ध विकासको योजनाको रूपमा मात्र कसरी अगाडि बढाउनेमा छलफल भइरहेको श्रेष्ठले बताए । ‘त्यसका उपायहरू खोजी गर्दैछौँ । त्यही विषयमा हामी अनौपचारिकरुपमा विभिन्न ढंगबाट गठबन्धनका दलहरुका बीचमा छलफलहरू बढाइरहेका छौँ ।’

देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध गठबन्धन आवश्यक रहेको श्रेष्ठको जिकिर छ ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी

  1. यिनले भनेका कुरा घिनलाग्दा हुन थाले । एउटा ठग र यी दुईमा फरक देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर