निर्णायक वार्ताका लागि देउवा आज पनि बालकोट जाँदै, कांग्रेस र एमालेका नेताबीच छलफल – Nepal Press

निर्णायक वार्ताका लागि देउवा आज पनि बालकोट जाँदै, कांग्रेस र एमालेका नेताबीच छलफल

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला एमालेसँग सहयोगको हात बढाएका प्रधानमन्त्री शेरबहादुर देउवा आज पुनः बालकोट जाँदैछन् ।

माओवादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै साँझ बालकोट आउने जानकारी केपी ओलीलाई गराएका छन् ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल हुँदैछ ।

बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।

माओवादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओवादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएको स्रोतले जनाएको छ ।

यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड- माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् । त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ ।

आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ ।

वार्तामा सहभागी भइरहेका एक नेताले भने- स्थायी ठाउँ ठेगाना नभएका र उत्तरदायित्व पनि बोक्नु नपर्ने प्रचण्ड–माधवलाई लिएर हिँड्दा कुनै पनि बेला दुर्घटनामा पर्ने देखिएपछि सभापतिज्यूले एमालेसँगै सहकार्य गर्न खोजेको थियो । भोलि जस अपजसको भागिदार पनि यीनै ठूला दलले बोक्दा जनमत एकै ठाउँमा हुन्छ भन्ने लागेको होला ।

अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् ।

एमालेले गठबन्धन भत्काएर अघि बढे सरकारमा सहभागी नभई चुनाव गराउन सघाउने आश्वासन देउवालाई दिएको छ । परमादेशबाट बनेको सरकारमा एमाले सहभागी भने नहुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर