संसद भवनको गेटैअघि कसले कसरी राख्यो शंकास्पद प्रेसर कुकर ? – Nepal Press

संसद भवनको गेटैअघि कसले कसरी राख्यो शंकास्पद प्रेसर कुकर ?

काठमाडौं । संघीय संसद रहेको नयाँ बानेश्वरस्थित संसद भवनको मुख्य गेटअघि बीच सडकमा राखिएको शंकास्पद प्रेसर कुकरका कारण प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सडकको बीच लेनमा राखिएको विद्युतीय तारजडित बन्द प्रेस कुकर राखिएको करिब एक घण्टापछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच सडकको मुख्य भागमा राखिएको उक्त प्रेसर कुकर कतिबेला त्यहाँ पुर्‍याइयो भन्नेबारे पत्तै पाउन नसकेको नजिकै पसल रहेका एक व्यवसायीले बताए ।

‘प्रहरी एक्कासी दौडिएर आउँदा मात्र थाहा भयो, त्यहाँ त बम राखिएको रहेछ’, ती व्यवसायीले भने । गेटमा ड्यूटीमै रहेको प्रहरीको सामुन्ने शंकास्पद वस्तु राखिएको घटनाले सबैलाई आश्चर्यमा पारेको छ । सवारीसाधनमा चढेर उक्त प्रेसर कुकर राखिएको हुन सक्ने अनुसन्धान अधिकारी बताउँछन् ।

‘त्यहाँनेर पैदल यात्रीले राख्न सम्भव नै छैन’, बानेश्वर प्रहरी वृत्तका ती अधिकारीले भने । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले घटनाको अनुसन्धान भइरहेको बताए । संसद भवनको चारैतिर सीसीटीभी रहेको छ । प्रहरीले सिसीटीभी फुटेजबाट अनुसन्धान सुरू गरेको बताएको छ ।

एमसीसी पास गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न दलले सोमबार संयुक्तरुपमा नेपाल बन्द आयोजना गरेका छन् ।

एसपी मैनालीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर