आक्रामक गगन थापालाई कुर्सीबाटै के जवाफ दिँदै थिए भीम रावल ? (भिडिओसहित) – Nepal Press

आक्रामक गगन थापालाई कुर्सीबाटै के जवाफ दिँदै थिए भीम रावल ? (भिडिओसहित)

‘मलाई गलत सावित गर्न नसक्नेले ठूलो स्वरमा चिच्याएर अर्थ छैन’

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले हिजो संसदमा एमसीसीको बचाउ गर्दै आक्रामक भाषण गरे । एमसीसी राष्ट्रघाती सावित भए आफूलाई चारपाटा मुडेर थानकोट कटाउन उनको चुनौती थियो ।

भाषणका क्रममा थापाको निशानामा परेका थिए, एमाले नेता भीम रावल जो विगतदेखि एमसीसीका मुख्य आलोचकका रूपमा चिनिन्छन् । हिजो पनि संसदमा बोल्दै रावलले एमसीसी पारित गर्नेहरूलाई ‘राष्ट्रिय गद्दार’ को संज्ञा दिएका थिए । साथै, उनले एमसीसीका पक्षधरहरूलाई आफूसँग बहसमा आउन चुनौतीसमेत दिए ।

रावलले भने, ‘म चुनौती दिन्छु । एमसीसी पारित गर्न चाहने को विद्वान, को यो सरकारका सल्लाहकार हुनुहुन्छ, बहसमा आउनुस् । मैले सम्झौताका प्रत्येक धारा, दफाहरू जस्ताको तस्तै यहाँ ल्याएको छु । के मलाई (बहसका लागि) समय दिइन्छ ? हतार-हतार पारित गर्न खोज्नु भनेको नेपालको स्वाधिनताको विरुद्ध नांगो षड्यन्त्र हो ।’

आफ्नो सम्बोधनमा गगनले रावललाई कडा जवाफ फर्काए ।

‘तपाईंको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ? अछाममा गर्ने कि काठमाडौंमा स्वीकार्य छ । यो सम्झौताको कारणले कहिँ कतै देशको स्वाधीनता तलमाथि हुन गयो भने मलाई थानकोट कटाइयोस् । नागरिकता खोसियोस् । चारपाटे मुडियोस् । माननीयहरू तयार हो ?’, गगनले भनेका थिए ।

गगनले यसरी उत्तेजक भाषण गरिरहँदा रावल पनि आक्रोशित देखिएका थिए । उनले कुर्सीमा बसिबसी औंला ठड्याउँदै गगनलाई केही जवाफ दिइरहेको टेलिभिजनमा देखियो, तर आवाज सुनिएन । त्यसबेला उनी के भन्दै थिए भन्ने धेरैले कौतुहल व्यक्त गरिरहेका छन् । हामीले यो कुरा उनैलाई सोध्यौं ।

– कांग्रेस महामन्त्रीले तपाईंलाई लक्षित गरी भाषण गरिरहँदा तपाईं उहाँलाई के जवाफ दिँदै हुनुहुन्थ्यो ?

गगन थापाले रोष्ट्रमबाट छलफल काठमाडौंमा गर्ने कि अछाम भन्दै थिए । मैले उनलाई धेरै ठूला कुरा किन गर्नु, यही संसदमा तिमीहरूले जम्मा तीन मिनेट बोल्न दिएर हतारहतार पास गर्न खोजिरहेका छौ, यहीँ बहस गरौं भनेको हो । बहस खुल्ला गर भनेको हो । म सम्पूर्ण तथ्यहरू ल्याएर यहीँ पेस गर्न तयार छु । संसदमा बहस गर्न नदिएर ठूल्ठूला कुरा गर्ने ? मैले भनेको यही थियो ।

– उहाँले विगतमा तपाईंसमेत सहभागी सरकारबाट एमसीसीबारे विभिन्न निर्णय भएको पनि दाबी गर्नुभएको छ ? यो सत्य हो कि होइन ?

त्यो झुट्टा कुरा हो । यसको अर्थ छैन । मुख्य कुरा सम्झौतामा के छन् भन्नेमा पर्दा हाल्न र विषयान्तर गर्न यस्तो कूप्रचार गरिरहेका छन् ।

– तर, तपाईं पनि योबीचमा पटक-पटक मन्त्री त बन्नुभएको छ । तपाईं सहभागी मन्त्रीपरिषद्ले एमसीसीबारे कुनै पनि निर्णय गरेको छैन त ?

मलाई हाँसो उठ्छ यस्तो कुरा सुन्दा । यो केवल प्रपोगाण्डा गर्नेहरूले गर्ने प्रचार हो । सरकारमा जानुको अर्थ सबै मन्त्रालयको जम्मै कुरा थाहा हुन्छ त ?

– तर, क्याबिनेटबाट भएको निर्णय त थाहा हुनुपर्ने होइन र ?

क्याबिनेटबाट कहाँ निर्णय भएको छ ? म सहभागी भएको कुनै पनि बैठकमा एमसीसीको विषय छलफलमा ल्याइएको छैन । म अनुपस्थित भएको बेला, विदेश गएको बेला भएको भए छुट्टै कुरा हो । त्यसमा जिम्मेवार हुन सक्दिनँ । प्रधानमन्त्री प्रणालीमा त औपचारिक छलफल नगराइकन मुख्यसचिवलाई ‘यो कुरा हाल’ भनेर लेखाउने पनि चलन छ । त्यस्तो गरिएको भए मलाई थाहा भएन । कार्यसूची बाँडेर छलफल नगराइ कसैले गरेछ भने म जिम्मेवार हुन्नँ, प्रधानमन्त्री जिम्मेवार हुन्छ ।

मन्त्री त कति भाका छन् कति । गृहमन्त्रालयमा मैले कति काम गरेँ होला । मैले गरेको काम त्यतिबेलाका बालबालिकामन्त्रीलाई थाहा हुन्छ त ? मन्त्रालयमा कसैले गरेको काम अर्को मन्त्रीले स्वतः थाहा पाउनुपर्छ भन्ने जनतालाई भ्रममा पार्ने कुरा मात्रै हो ।

जो औपचारिक प्रस्ताव बाँडिन्छ त्यो मात्रै सबै मन्त्रीहरूलाई थाहा हुन्छ । भोलि गगन थापाले मैले उठाएका विषयहरू यसकारण गलत हुन् भनेर भन्न सके पो अहिले ठूल्ठूलो स्वरले चिच्याउनु । अरु प्रोपोगण्डा मच्चाएर कुनै अर्थ छैन ।

– गगनले त एमसीसी राष्ट्रघाती पुष्टि भए आफूलाई थानकोट कटाइदिए हुन्छ भन्ने चुनौती पनि दिनुभयो । यसलाई कसरी लिनुहुन्छ ?

लोकतन्त्रमा सबैले भाषण गर्न पाउँछन् । भाषणमा त के आपत्ति भयो र ।

– तपाईं अहिलेसम्म एमालेमै हुनुहुन्छ । तपाईंको पार्टी एमसीसीमा निर्णयहीन देखियो नि ?

मैले संसदीय दलको बैठकमा नै यस्तो महत्वपूर्ण राष्ट्रिय विषयमा गम्भीर छलफल गर्न माग राखेँ । संसदीय दलका अध्यक्ष तथा पार्टी अध्यक्षलाई दिएँ । मेरो धारणा स्पष्ट नै छ । कुनै पनि देशको राष्ट्रियतासँग सम्वन्धित महत्वपूर्ण विषयमा जिम्मेवार राजनीतिक दलले छलफल गर्ने र धारणा बनाउने कुरा त मैले भनिरहनै पर्ने होइन ।

– एमालेले एमसीसीलाई राजनीतिक हत्कण्डाका रूपमा प्रयोग गर्न खोजेको पनि आरोप लागेको छ । कांग्रेससँग वार्तामा विभिन्न शर्त पनि राख्यो । यो ठीक हो ?

उहाँहरूलाई नै सोध्नुस् । म त्यो वार्तामा छँदा पनि छैन मलाई थाहा पनि छैन ।

– एमसीसी पारित त भयो । अब चुपचाप बस्नुहुन्छ कि के गर्नुहुन्छ ?

यो राष्ट्रको स्वाधीनता र स्वतन्त्रतासँग सम्बन्धित विषय भएको हुँदा उहाँहरूले के गर्नुहुन्छ नजिकबाट हेरिन्छ । देशको स्वाभिमानमा आघात पर्ने कुरा आयो भने कुने पनि देशभक्त नागरिक चुप बस्ने कुरा आउँदैन ।

– कानूनी लडाइँमा जाने सम्भावना छ कि ?

अदालतले त अस्तिनै दरपीठ गरिदियो नि सुन्नुभएन ?

– भनेपछि अब एमसीसीमा कुनै अवरोध हुँदैन होइन ?

हेर्नुपर्छ । अहिले तुरुन्तै भयो । यसै भन्न सकिन्न । सम्पूर्ण पक्षहरू कसरी जान्छन् सरकारले के गर्छ ? भन्ने हेर्नुपर्छ ।

– एमसीसीसँगै पारित गरिएको व्याख्यात्मक टिप्पणीले के अर्थ राख्छ ?

सम्झौतामा यस्ता एकतर्फी व्याख्याको कुनै अर्थ हुँदैन । हिजो अमेरिकाले दिएको प्रतिक्रिया सुनिहाल्नुभो । त्यसमा व्याख्याको बारेमा केही बोलेको छैन । खाली जनतालाई झुक्याउने कुरा हो यो । महाकाली सन्धिमा त दुईवटा सदनको संयुक्त वैठकले संकल्प प्रस्ताव पारित गरेको छ । यीनै शेरबहादुर देउवा होइनन् त्यतिबेला ? के भयो त ? यस्ता कुराले अर्थ राख्दैन ।


प्रतिक्रिया

One thought on “आक्रामक गगन थापालाई कुर्सीबाटै के जवाफ दिँदै थिए भीम रावल ? (भिडिओसहित)

  1. सिआईएकाे एजेण्टकाे के हैसियत छ र भनिरहनुपर्ने ? देउवाकाे पुच्छर त हाे । जे भन्नू छ देउवा र काँग्रेसलाई भने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर