सनराइज बैंकको ८७ औं शाखारहित बैंकिङ्ग सेवा सिस्नेमा
काठमाडौं । सनराइज बैंक लिमिटेड बुधबारे शाखाको आयोजनामा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं.१ शान्तिचोक, सिस्नेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८७ पुगेको छ । बैंकले अर्जुनधारा नगरपालिका वडा नं.१ शान्तिचोक, सिस्ने झापामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद गौतमलाई नियुक्त गरेको छ ।
शाखा सुरुवात कार्यक्रममा प्रमुख अतिथिमा अर्जुनधारा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गजाधर खतिवडा तथा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सभापतित्व सनराइज बैंक लिमिटेड बुधबारे शाखाकी शाखा प्रबन्धक गीता खतिवडाले गरेकी छिन् । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।