राष्ट्रियसभामा चार वर्ष : पक्ष–प्रतिपक्ष एउटै परिवार
नयाँ संविधान जारी भएपछि यो पहिलो राष्ट्रिय सभा हो । दुई नम्बर प्रदेश (हालको मधेस प्रदेश) मा राष्ट्रिय सभाको निर्वाचन नै ऐतिहासिक भयो । हाम्रो प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरू निर्विरोध निर्वाचित भयौँ । मेरा लागि यो पहिलो संसदीय भूमिका हो । सुरुको केही समय त अलिकति अलमल जस्तो, राष्ट्रिय सभा सदस्यका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ कि सकिँदैन भन्नेजस्तो भयो । यसको विधि र प्रक्रिया बुझ्न केही समय लाग्ने रहेछ ।
सङ्घीय संसदभित्र राष्ट्रिय सभाको आफ्नो छुट्टै गरिमा छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको केही बेग्लै खालका भूमिकाहरू हुन्छन् । राष्ट्रिय सभाले अभिभावकीय भूमिका खेलेको हुन्छ । प्रतिनिधि सभाले प्रधानमन्त्री चुन्न र चुनिने कुरामा उसको भूमीका हुन्छ, हाम्रो हुँदैन । सरकार बनाउने र गिराउने कुरामा राष्ट्रिय सभाको भूमिका हुँदैन तथापि राष्ट्रिय सभाबाट मन्त्री बन्न सकिन्छ । प्रधानमन्त्री र मन्त्री बनाउन सक्नुहुन्छ राष्ट्रिय सभाबाट तर प्रतिनिधि सभा र यसको भूमिका फरक हुन्छ ।
यी चार वर्षमा मेरो आफ्नै पनि भूमिकामा परिवर्तन हुँदै गयो । सुरुमा म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांसदका रूपमा त्यहाँ रहेँ । त्यसको केही समयपछि (नेकपा टुटिसकेपछि) सभामा सत्तासीन एमाले दलको नेता भएँ र पछिल्लो पटक सरकार परिवर्तन भएपछि प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा परिणत भएँ । मैले यी चार वर्षमा तीन वटा भूमिका निर्वाह गरेँ ।
कोभिड १९ महामारी र राजनीतिक उतारचढावका कारण पहिले हामी जुन गतिमा गइरहेका थियौँ, पछिल्लो समय त्यो गति कायम राख्न सकिएन । यस बेथितिले सबै ठाउँमा छोएको छ । राष्ट्रिय सभा यसबाट अछुतो रहन सकेन । हामीले विगतमा जति पनि विधेयकहरूमा छलफल ग¥यौँ, जति पनि कुराहरू ल्यायौँ, एउटा राम्रो कुरा के छ भने ती सबैमा हामी सर्वसम्मत भएका छौँ र हामीबीच परिपक्व र साह्रै सौहार्दपूर्ण वातावरण रह्यो । हिजो हामी सत्तामा रहँदाखेरि प्रमुख प्रतिपक्षी साह्रै सानो स्वरुपको प्रमुख प्रतिपक्षी थियो तर पनि न हामीले उहाँहरूलाई त्यसरी हे¥यौँ, न उहाँहरूले त्यो ‘फिलिङ्स’ बोक्नुप¥यो । साह्रै सौहार्दपूर्ण तरिकाले हामीले काम ग¥यौँ ।
बहुदलीय व्यवस्था भएको हुँदा हामी दलको मातहतमा छौँ । त्यसले गर्दा कतिपय दलगत विषयले गर्दा हामीले अलिकति भूमिकामा परिवर्तन गर्नुपर्ने, विधेयकहरूमा कतिपय कुरा गर्नुपर्नेमा पनि हामीले एउटा साझा बुझाइ र साझा सहमतिलाई कहिल्यै तोड्न दिएनौँ । हामीकहाँ बेल घेर्नुपर्ने, यो खालको स्थिति रहेन । यसरी हामी सफल हुनुमा हिजो जो प्रतिपक्षी दलका नेताहरू हुनुहन्थ्यो, उहाँहरूको परिपक्वता, हाम्रा दलका नेताहरूमा, सचेतकहरूमा रहेको परिपक्वता र अहिले सत्तासीन दलभित्र नेपाली काङ्ग्रेसलगायतका नेताहरूमा रहेको परिपक्वताले भूमिका खेलेको छ । सबैभन्दा ठूलो भूमिका, हाम्रो अध्यक्षको भूमिका पनि साह्रै राम्रो रह्यो । समन्वयकारी खालको भूमिका रह्यो । जसरी प्रतिनिधि सभामा अहिलेको अवरोध छ, यसमा सबैभन्दा ठूलो जिम्मेवार भनेको सभामुखको कारणले देखिन्छ तर हाम्रो त्यस्तो देखिएन । वर्तमान अध्यक्षले हिजो नेपाली काङ्ग्रेस प्रतिपक्षमा रहँदाखेरि पनि प्रतिपक्षी दलको विश्वासलाई लिएरै जानुभयो र हामीसँग कुरा गर्दाखेरि प्रतिपक्षीको सम्मानलाई अलि बढी ध्यान दिनका लागि सचेत गराइरहनुभयो ।
अहिले पनि उहाँको भूमिकालाई हेर्दा सबैलाई मिलाएर लैजाने समन्वयकारी भूमीका छ । त्यसले गर्दाखेरि पनि हामी सफल भएका हौँ । यस सफलतामा हाम्रा अध्यक्षज्यू, उपाध्यक्षज्यू, सभापतिज्यूहरू, सङ्घीय संसद सचिवालयका कर्मचारी सबैको भूमिका आ–आफ्नो ठाउँमा निकै महङ्खवपूर्ण छ । सबैको योगदानकै कारण राष्ट्रिय सभाले उदाहरणीय काम गर्न सकेको छ । भविष्यमा आउने राष्ट्रिय सभाका सदस्यहरूले पनि अब यस गरिमालाई बचाएर लैजानुहुन्छ भन्ने कुरामा म चाहिँ विश्वस्त छु । जे होस्, नयाँ संविधान आइसकेपछिको यो पहिलो राष्ट्रिय सभामा हामीले राम्रो परम्परा बसाल्न सफल भएका छौँ । मलाई त्यसमा गौरव छ ।
मेरो पृष्ठभूमि सक्रिय राजनीति भएकाले मेरो ध्यान राष्ट्रिय सभातिर थिएन तर पार्टीले राष्ट्रिय सभामा मलाई पठाउने निर्णय ग¥यो, यसका लागि म धन्यवाद दिन चाहन्छु किनभने माथिल्लो सदनमा रहेर एकदमै सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवसर मिल्यो र धेरै कुराहरू सिक्ने अवसर पनि प्राप्त भयो । निर्वाचनमा निर्विरोध भएदेखि नै हामीमा भावनात्मक एकता बलियो भएको थियो । अरूभन्दा हामी अलि फरक हौँ है भन्ने भावना त्यतिबेला देखि नै आइसकेको थियो । राष्ट्रिय सभा विशेष हो, राष्ट्रिय सभाका सदस्य अलि फरक हो भन्ने भावना त्यतिबेलैदेखि विकसित भइसकेको थियो । यहाँ आइसकेपछि पहिलेदेखि सांसद रहिसक्नु भएका कतिपय साथीहरू हुनुहुन्थ्यो । निश्चित रुपमा उहाँहरूको भूमिकाले पनि हामीलाई कानून निर्माणका काममा गहिराइमा पुगेर काम गर्न सघायो जस्तो लाग्छ ।
राम्रा अभ्यासहरूको कुरा गर्दै गर्दा हामीसँग कतिपय सुधार्नु पर्ने विषय पनि छ । कतिपय अवस्थामा हामी असाध्यै पुरातनवादी छौँ । हामीले सिस्टम परिवर्तन ग¥यौँ । सिस्टम परिवर्तन गरेर हिजोको संसदीय प्रणालीभन्दा अलि फरक ल्याउन पनि खोज्यौँ । हाम्रो संविधानले नै समाजवादउन्मुख भनेर भन्यो तर कतिपय कुरामा हामीले निकै पुरातन शैली अपनाइरहेका छौँ । जस्तो ः विधेयक प्रस्तुत हुँदा, दफाहरू संशोधन हुँदा एउटै बुँदालाई चार पटक दोहो¥याइरहन्छौँ । यो असाध्यै पुरानो शैली भयो । सभामुख वा अध्यक्ष आउँदाखेरि हामी बेल बजाउँछौँ । त्यो नै पर्याप्त हो तर त्यसो गर्दैनौँ । चट्ट मार्सलले गएर अलर्ट गर्ने । यससँगै हाम्रा छलफल र प्रस्तुतिका पाटा अहिले पनि पुरानै छन् । त्यो अदालतमा पनि छ । फिराद लेख्छौँ हामी । ‘लिखितम् धनीका नाम…..’ भनेर । मलाई लागेको कुरा, यस्ता पुराना शैलीहरूलाई चाहिँ हामीले हाम्रा पालामा परिवर्तन गर्न सकेनौँ । अलिकति यसलाई आधुनिकतासँग जोड्ने र अनावश्यक परम्पराहरू हटाउँदै जाने गर्न सक्नुपथ्र्यो । बहुदलीय शासन प्रणालीका राम्रा पक्षहरूलाई लिने र अझै राम्रो बनाउनका लागि त्यसलाई अलि विकसित गरेर लैजाने गर्नका लागि हाम्रो ध्यान अलि पुग्न सकेन कि ! अब नयाँ आउने साथीहरूले यसमा ध्यान दिनुपर्ने स्थिति छ ।
सम्माननीय अध्यक्षज्यू, माननीय उपाध्यक्षज्यू, राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू, सचिवालयका साथीहरू सबैको एकीकृत रुप हो, अहिलेको राष्ट्रिय सभा । सबै साथीहरू हामी एउटा परिवार भएर बस्यौँ । प्रमुख प्रतिपक्षी, सत्तापक्ष भन्ने कुरा हाम्रो बस्दा बेन्च अलग अलग भए पनि भावनात्मक रुपमा हामी धेरै टाढा रहेनौँ । राष्ट्रप्रति जिम्मेवार भएर राष्ट्रले दिएको दायित्व पूरा गर्ने कोसिस ग¥यौँ । संविधानले जुन भावका साथ राष्ट्रिय सभाको परिकल्पना गरेको छ, त्यस परिकल्पनालाई हामीले केही हदसम्म साकार गर्न सक्यौँ । मैले अघि पनि भनेँ यो हामी सबैको एकीकृत प्रयासबाट मात्रै सम्भव भएको हो । यसका लागि अध्यक्ष, उपाध्यक्षलगायत सचिवालयका सम्पूर्ण साथीहरू र सबै माननीयहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु । सुरुमा निर्वाचित भएर हालसम्म रहनुभएका, यसअघि नै बिदा हुनुभएका र अझै कार्यकाल बाँकी रहेका सबै माननीयज्यूहरू धन्यवादका पात्र हुनुहुन्छ । जीवनमा कहिल्यै नबिर्सिने खालको एउटा राम्रो समूह बनाउन हामी सफल भयौँ ।
नयाँ निर्वाचित साथीहरूलाई पनि म के आग्रह गर्न चाहन्छु भने हामीले जे असल परम्पराहरू बसाल्न सक्यौँ, त्यस परम्पराहरूलाई कायम राख्दै अघि बढ्न सफल हुनुहोस् । कतिपय पुराना परम्पराहरू, जुन हामीले परिवर्तन गर्न सकेनौँ, जुन आवश्यक छैनन्, त्यो फुर्का लगाइरहनुपर्ने जरुरी छैन, देखिँदा पनि कता कता सामन्ती अवशेषजस्तो, बेलायतको भारदारी सभाको झल्को दिने पुरानो ढर्रा परिवर्तन गरी नयाँ मान्यताहरू स्थापित गर्न सक्नुहोस् । मेरो शुभकामना छ, उहाँहरूलाई । अनावश्यक कुराहरूलाई सुधारेर जाने वातावरण बनाउन सक्नुहोस् भन्ने कामना छ । हामीले राष्ट्रिय सभामा रहेर के गर्न सक्यौँ, के गर्न सकेनौँ भन्ने कुरा त इतिहासले मूल्याङ्कन गर्ला । भावी सन्ततिले मूल्याङ्कन गर्लान् तर म आफूमा चाहिँ सन्तुष्ट छु । मैले जे गर्न सकेँ, हामी सबै ‘टिमवर्क‘का साथ जे गर्न सक्यौँ, त्यस असल अभ्यासलाई नयाँ आउनुहुने साथीहरूले राष्ट्रिय सभाको गरिमा कायम राख्न सिकाइका रूपमा लिनुहोस् भन्ने हो ।
(राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सम्पादन गरेको पुस्तकबाट)