बार चुनाव- एमालेविरुद्ध सत्ता गठबन्धनको यसरी हुँदैछ भागबण्डा – Nepal Press

बार चुनाव- एमालेविरुद्ध सत्ता गठबन्धनको यसरी हुँदैछ भागबण्डा

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचनमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धनका वकिलहरु मिलेर लड्ने भएका छन् । नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को नेतृत्वमा गठबन्धन चुनावमा जाने भएको हो ।

बार नेतृत्वका लागि सोमबार उम्मेदवारी मनोनयन हुँदैछ । गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी निकट वकिलहरु समावेश छन् ।

शनिबार र आइतबार भएको गठबन्धन निकट वकिलका संगठनहरुको बैठकले सत्ता गठबन्धन मिलेर लड्ने समझदारी गरे पनि अझै छलफल बाँकी रहेको नेकपा एस निकट कानून व्यवसायीबाट वार्तामा सहभागी अधिवक्ता डेकेन्द्र सुवेदीले नेपाल प्रेसलाई बताए ।

अध्यक्षमा डिएलएका सुनिल पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एकजनालाई अघि बढाउने तयारी छ । महासचिवमा माओवादी निकट दिनमणी पोखरेलको नाम आएको छ । पोखरेलले भने गठबन्धन मिलेर जाने सैद्धान्तिक सहमति भए पनि टुंगो लागि नसकेको बताए ।

स्रोतका अनुसार अध्यक्षसहित १५ सिट कांग्रेसले र महासचिवसहित १० सिट गठबन्धनका अन्य दल निकट कानून व्यवसायीले भागबण्डा गर्ने सहमति भइसकेको छ ।

यसअघि गठबन्धनबाट माओवादी आवद्ध रमण श्रेष्ठ अध्यक्ष बनाउन लबिङ भए पनि डिएलएले अरुलाई नेतृत्व नदिने अडान लिएपछि श्रेष्ठको नाममा सहमति भएन । श्रेष्ठ भने असन्तुष्ट बनेर नेकपा एमाले निकट पीपीएलएका नेताहरुसँग संवादमा जुटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर