इटहरीमा पीएचडीधारीको कचहरीः मान्छे डराएर परपर भाग्थे ! – Nepal Press

इटहरीमा पीएचडीधारीको कचहरीः मान्छे डराएर परपर भाग्थे !

इटहरी । इटहरी प्रदेश १ को अहिलेको जल्दोबल्दो शहर हो । प्रदेश १ का दुई उपमहानगरमा जनसंख्या र आन्तरिक आम्दानीको हिसाबमा सबैभन्दा ठूलो उपमहानगर इटहरी नै हो । यद्यपि, इटहरीको शहरी इतिहास लामो छैन ।

युवा शहर हो इटहरी । २०५३ माघ ११ गते राजपत्रमा नगरपालिका भएको सूचना प्रकाशन भएको इटहरी गाउँबाट नगरमा बढुवा भएको २५ वर्ष मात्रै पूरा भएको छ । उपमहानगरपालिका भएको २०७१ मंसिर १६ मा मात्रै हो । इटहरी उपमहानगरको रुपमा त बालकै छ । भर्खर सात वर्ष पुग्यो ।

इटहरी द्रुत गतिमा बढ्दै जानुमा यसको जनसंख्या बढोत्तरीको तथ्यांकले बोल्छ । २०५८ सालको जनगणनाले ४१ हजार २ सय १० देखाएको इटहरीको जनसंख्या २०६८ मा आइपुग्दा १ लाख ४० हजार ५ सय १७ पुग्यो । पछिल्लो जनगणना २०७८ अनुसार इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ पुगको छ ।

इटहरी युवा शहर हो भन्ने बारेमा शनिबार इटहरीको विश्वआदर्श कलेजमा भएको पीएचडीधारीको प्रथम भेलाका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंक न्यौपानेले ठट्टा गरे । धरान बसाई र इटहरीमा पनि कर्मथलो बनाएका उनले भने, ‘इटहरीका होटलमा जोडी पक्राउ भनेको समाचार सुन्दा मैले भनेको थिएँ, इटहरीलाई वैंश आएछ । धरान त बूढो भयो ।’

युवा शहर इटहरीको शैक्षिक जनशक्तिमा ढुक्क हुने अवस्था धेरै पछि मात्रै आएको बताए इटहरीका शिक्षा उद्यमी तथा अवकाशप्राप्त शिक्षक तथा लेक्चरर लेखनाथ घिमिरेले ।

‘पहिलो इटहरीका कलेजमा पढाउन धरान र विराटनगरका सरहरु आउनु हुन्थ्यो’, घिमिरेले भने, ‘इटहरीमै बसेर पढाए धेरै राम्रो हुन्थ्यो भन्ने अवस्था थियो ।’

इटहरीको शैक्षिक र प्राज्ञिक परिचय त केही दशक अगाडिसम्म हुँदै नभएको घिमिरेले बताए ।

भने, ‘इटहरीलाई आसपासका समृद्ध शहरले ड्राइभर र खलाँसीको शहर भनेर हियाँउथे ।’ इटहरीमा ६ दशक रहेको अनुभव भएका घिमिरे अहिले इटहरीको आफ्नै शैक्षिक परिचय भएको र इटहरी प्रदेश १ का राम्रा शैक्षिक गन्तव्यमा एक भएकोमा खुशी लागेको सुनाउँछन् । त्यही खुशीलाई मूर्तरूप दिन उनकै अगुवाइमा इटहरीमा पहिलोपटक पीएचडी गरेकाहरुको भेला आयोजना गरे ।

विद्वद् भेला २०७८ नाम दिइएको भेलामा उनले एमफील गरेका पीएचडीउन्मुखहरूलाई समेत निम्तो दिए । पत्रकारलाई निम्तो दिँदा घिमिरेले भनेका थिए, ‘आफूले पीएचडी नगरे पनि पीएचडी गरेकाहरूलाई सम्मान र भेला गर्न पाँउदा नै म खुसी छु ।’

कार्यक्रम सुरू हुनुभन्दा अगाडिको अनौपचारिक माहोलमा घिमिरेले ठट्टा गरे । विभिन्न देशका पीएचडी गरेकाहरूको कार्यक्रममा आउने समय फरक-फरक पाएको बताए । उनले भने, ‘यूरोप अमेरिकाबाट गर्नेहरु अलि चाँडै आउनुभयो । नेपाल र भारतबाट गर्नेहरू कोही समयमै र कोही भने ढिलो आउनुभयो ।’

इटहरीका पीएचडीधारीहरूका रोचक अनुभव

पीएचडीधारीको प्रथम भेलामा आएका प्रमुख अतिथि प्राध्यापक डाक्टर टंक न्यौपाने, डाक्टर रमेश घिमिरेबाहेक अधिकांश डाक्टरहरू इटहरीमै मुकाम बनाउनेहरू थिए ।

डाक्टर मोहनकुमार तुम्बाहाङ,प्राध्यापक डाक्टर केदारप्रसाद पौडेल, प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेल, डाक्टर रामजी तिमल्सिना, डाक्टर राधेश्याम राठी, डाक्टर गीता अधिकारी पौडेल, डाक्टर टोलनाथ काफ्ले, डाक्टर तारा काफ्ले, डाक्टर तारा निरौला, डाक्टर दिवाकर रेग्मी, डाक्टर दक्षता राणा, डाक्टर गणेश श्रेष्ठ लगायतका झण्डै दुई दर्जन पीएचडीधारी तथा एमफील गरेकाहरु कार्यक्रममा उपस्थित थिए ।

उनीहरुले पीएचडी गरेपछिका रोचक अनुभव सुनाए । इटहरीमा ३३ वर्षदेखि बसोबास गरेका र इटहरीका प्रथम पीएचडी प्राध्यापक डाक्टर केदार पौडेलले रोचक अनुभव सुनाए । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय अंग्रेजी विभागबाट पीएचडी गरेका उनले भने, ‘इटहरीमा पीएचडी गरेको मान्छे आउनासाथ परपर भाग्थे ।’ धरानमा पनि टंक न्यौपाने, आफ्नो र गोबिन्द तुम्बाहाङ लगायतका पीएचडीधारीहरूको धेरै नाम राखिएको पौडेलले सुनाए ।

इटहरीका प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले आफ्नो साहित्यको पीएचडीको कारण सुनाए । उनले ठट्यौली शैलीमा भने, ‘पीएचडी गरेकाको मात्रै मञ्चमा स्थान हुने, बोल्न पाउने भएपछि मैले पीएचडी गरेँ ।’

पीएचडी भेलामा पीएचडीको काम के हो र के हैन भन्ने सम्ममा विमर्श भए । डायस्पोराका कविता बारेमा पीएचडी गरेका इटहरीका डाक्टर रामजी तिमल्सिनाले आफ्नो काम अध्ययन, अनुसन्धान र लेखक मात्रै भएको बताए । पीएचडी गर्ने मान्छे एकैसाथ आफ्नो क्षेत्रको विज्ञ र एक्टिभिस्ट हुन नसक्ने बताउँदै उनले भने, ‘मलाई मेरो क्षेत्रको मैले बोल्न र गर्न सक्ने सबै काम लाउनु । तर, मेरो क्षेत्र बाहिरको नलाउँनु । म नारा जुलुसमा जान्नँ ।’

आजकाल कुनै एक विषयमा पीएचडी गरेकोमा सबै विषयको जानकारजस्तो भएर बोल्ने कुराको डाक्टर तिमल्सिनाले आलोचना गरे । आफ्नो विज्ञताको क्षेत्रमा केही नगरेर बाँकी सबै क्षेत्रमा विज्ञताको धमास दिनेमा उनले आलोचना गरे । भने, ‘एक विषयमा पीएचडी गरेको छ । बोल्न चाहि सबै क्षेत्रमा बोलेको छ । यो कसरी हुन्छ ? मलाई इटहरी खानेपानी बारेमा बोल्न लगाउँदा म कसरी बोल्न सक्छु ?’

अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पीएचडी गरेका डाक्टर तारा निरौलाले पीएचडीको काम आफ्नो विज्ञ क्षेत्रमा अध्ययन, अध्यापन र खोज नै भएको तर्क गरे ।

कार्यक्रममा बोल्ने पीएचडी तथा एमफील गरेका वा गर्दै गरेकाहरूले आफ्नो क्षेत्रको सक्दो योगदान इटहरी शहरलाई दिन तयार भएको बताए ।

इटहरीको बौद्धिक क्षेत्र जोड्न इटहरी बौद्धिक मञ्च गठनको प्रस्ताव

पीएचडी गरेका, एमफील गरेका वा अन्य विभिन्न क्षेत्रमा रहेर दक्षता हाँसिल गरेकाहरूलाई समेटेर इटहरीको बौद्धिक क्षेत्र जोड्ने एक मञ्च बनाउन सहभागीहरूले प्रस्ताव गरेका छन् । यसको लागि डाक्टर रामजी तिमल्सिना संयोजक तथा नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीसमेत सहभागी भएको नौ सदस्य समिति बनेको छ ।

समितिले इटहरीका बौद्धिक वृत्तले इटहरी र समग्र प्रदेशको विकासमा सक्दो सहयोग गर्न र सल्लाह दिने वातावरण बनाउन खाका बनाउने जिम्मेवारी पाएको छ ।

इटहरी बौद्धिक मञ्चको गठन तयारीबारेमा खाका तयार गर्न बनेको समितिका संयोजक डाक्टर रामजी तिमस्सिनाले भने, ‘यो इटहरी निवासी बौद्धिकहरूले इटहरीका विभिन्न क्षेत्रको विगत र वर्तमानमाथि अनुसन्धान गरी यस शहरको आगामी दिनका काम र अभियानका लागि विचार निर्माण गरी तिनको कार्यान्वयनमा योगदान दिनको लागी विमर्श गर्ने समूह हो ।’

तिमल्सिनाले अर्को वृहत् भेला आगामी चैतभित्रै गर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “इटहरीमा पीएचडीधारीको कचहरीः मान्छे डराएर परपर भाग्थे !

  1. १. भेलाका सम्बन्धमा भन्दा यसको नियत राम्रो हो भने यसो हुनु अत्युत्तम कार्य हो।
    २. समाचारको भाषाका सम्बन्धमा भन्दाचाहिँ लेखनको शैली एकदम राम्रो र सलल बगेको छ तर शीर्षक चयनचाहिँ अलिक उपयुक्त लागेन, नकारात्मक भाव बोकेजस्तो वा अस्पष्ट भयो कि!!!

  2. I think I should comment/ note this writing as a very beautifully realistic and detail, yet precise description of the programme!

Leave a Reply

Your email address will not be published. Required fields are marked *