त्रिवि पदाधिकारीलाई अखिलको ढाडस- परमादेशी प्राध्यापकको धम्कीबाट हतास नहुनुस् – Nepal Press

त्रिवि पदाधिकारीलाई अखिलको ढाडस- परमादेशी प्राध्यापकको धम्कीबाट हतास नहुनुस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको राजीनामा मागिएको विषयमा एमाले निकट अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको छ ।

सत्ता गठबन्धनमा आवद्ध प्राध्यापक संगठनहरुले त्रिवि पदाधिकारीलाई राजीनामा दिन चेतावनी दिएपछि अनेरास्ववियुले विद्यार्थीहरुको भविष्य धरापमा पार्नेगरी बन्धक नबनाउन भनेको छ ।

परमादेशी प्राध्यापकको धम्कीबाट हतास नहुन आग्रह गर्दै अनेरास्ववियुले प्राध्यापकहरु उत्शृङ्खल वक्तव्यबाजीमा उत्रिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारी तलव खाएर विश्वविद्यालयलाई बन्धक बनाउने र वर्तमान पदाधिकारीहरुको राजीनामा माग्ने कदमप्रति अनेरास्ववियुले भत्र्सना पनि गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विश्वविद्यालयमा तालाबन्दीको संस्कारको विऊ रोप्ने र हुर्काउने कलंकको टिका लगाएका, त्यही सरकारको तलब भत्ता खाएर विश्वविद्यालयलाई बन्दक बनाउने, र लुटतन्त्र मञ्चाउने कर्म गर्दै आएका परमादेश सरकार निकट मानिने प्राध्यापक संघरसंगठनको वर्तमान विश्वविद्यालयका पदाधिकारीहरूको राजिनामा माग्ने कदमप्रति हाम्रो संगठन घोर भ्रत्सना गर्दछ ।’

एकमहिना लामो समयदेखि विश्वविद्यालयमा तालाबन्दी हुाँदा केही नबोल्ने, सेवा आयोगका परीक्षाहरू स्थगित गर्न दवाब दिने र आफूनिकटका प्राध्यापकहरूलाई लाभका पदमा नियुक्तिका लागि दबाब दिने क्रियाकलाप विश्वविद्यालयको हित विपरित रहेको अनेरास्ववियुको ठहर छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरूले त्यही जनताको संस्थालाई धरासायी बनाउन उद्त रहनु प्राज्ञिक र राजनीतिक रुपले अनैतिक छ । गुण्डागर्दी शैलीमा कागजी खोस्टो मार्फत धम्काउनु पेशागत दृष्टिले पनि अक्षम्य छ । कुनै अमुक पार्टी निकट रहेको बा सत्ताको शक्तिको उन्मादबाट निस्किएको खहरे धम्कीबाट हतास नहुन विश्वविद्यालयका विभिन्न निकायमा रहनुभएका पदाधिकारीहरूलाई अनुरोध गर्दछौं ।’

उसले सरकारी सेवा सुविधा लिएर विश्वविद्यालयमा राजनीति गर्नुभन्दा राजीनामा दिएर खुला राजनीतिमा आउन चुनौतीपनि दिएको छ ।

मंगलबार कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना, माओवादीनिकट राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा.डा. रमेश भट्टराई र नेकपा एसनिकट एकीकृत प्रगतिशी प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. गोविन्द सुवेदीले संयुक्त वक्तव्य प्रकाशित गर्दै त्रिवि पदाधिकारीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

उनीहरूले अन्यथा यस अवस्थाले ल्याउने परिणामतर्फ ध्यान दिन सचेत गराउँछौं भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने आशय पनि विज्ञप्तीमार्फत व्यक्त गरेका थिए ।

विज्ञप्तिमा शिक्षक, कर्मचारी र विद्यार्थीका जायज मागहरुको सम्बोधन गर्नुको साटो त्रिवि पदाधिकारीले धम्कीपूर्ण भाषामा विज्ञप्ति निकाल्ने र आफूनिकट प्राध्यापक र विद्यार्थी लगाएर प्रतिकार गरेको आरोप लगाइएइको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर