चुनावी गठबन्धनको पक्षमा देउवा, एमालेविरुद्ध मिलेर जाँदामात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी – Nepal Press

चुनावी गठबन्धनको पक्षमा देउवा, एमालेविरुद्ध मिलेर जाँदामात्र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी

वीरगञ्ज पुगेर भने- एमालेजस्तो बलियो संगठन र जनाधार भएको पार्टी विपक्षमा छ भन्ने बुझौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे पहिलोपटक मुख खोलेका छन् । पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण समारोहपछि बोल्दै सभापति देउवाले गठबन्धन गरेर चुनावमा जाँदामात्र सफलता प्राप्त हुने बताए ।

देउवाले सत्ता गठबन्धनमा रहेका दलहरूबीच तालमेल गरेर जाँदामात्र स्थानीयदेखि प्रदेश र संघीय चुनावमा सहज जित हासिल हुने र आगामी सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सकिने बताए ।

देउवाले भने, ‘यस्तो अवस्थामा कसै न कसैसँग मिल्नुपर्ने आजको आवश्यकता छ । त्यसैले गठबन्धनकै साथ र सहयोगमा प्रधानमन्त्री बनेको हुँ । कतिपय ठाउँमा आपसी समस्या पनि हुन सक्लान् । जिल्ला, गाउँ अथवा कहीँ कतै समस्या भए आपसमा बसेर कुराकानीमार्फत सुल्झाउन सकिन्छ ।’

प्रधानमन्त्री देउवाले नेकपा एमालेजस्तो बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी विपक्षमा रहेकाले पनि कांग्रेसलाई गठबन्धन आवश्यक पर्ने बताए । उनले एमालेभित्रजस्तो एकता कांग्रेसभित्र नभएको असन्तुष्टि प्रकट गरे ।

देउवाले पार्टीभित्र बलियो एकता कायम गर्दै सत्ता गठबन्धनलाई मिलाएर लैजानुपर्ने धारणा राखे । देउवाले मुलुकको संविधान र चुनाव प्रणालीका कारण कुनै एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले कांग्रेसले गठबन्धन गर्नुपर्ने बताए ।

देउवाले भने, ‘एक्लै चुनाव लड्दा अघिल्लो चुनावमा के भयो ? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’

कांग्रेसका गठबन्धनको विपक्षमा नेताहरू बोलिरहेका बेला देउवाले पहिलोपटक आफ्नो पोजिशन प्रष्ट पारेका हुन् । नेकपा एस र माओवादी केन्द्रले देउवा गठबन्धनको पक्षमा रहेको बताइरहेका बेला उनले त्यसलाई पुष्टि गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर