धनुषा कांग्रेस सभापतिका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान स्थगित – Nepal Press

धनुषा कांग्रेस सभापतिका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान स्थगित

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिका लागि गर्न लागिएको दोस्रो चरणको मतदान स्थगित गरिएको छ । आज बिहान ८ बजेदेखि मतदानको समय तय गरिएको थियो ।

निर्वाचन समिति सचिवालयका प्रमुख रामगुलाम कर्णले नेताहरूको सहमतिमै मतदान कार्यक्रम स्थगित भएको बताए । मतदान कार्यक्रमको नयाँ मिति र समयको टुंगो भने लागिनसकेको उनले जानकारी दिए । तर, भोलि बिहान ८ बजेदेखि गर्ने सहमतिको सम्भावना छ ।

मतदान कार्यक्रम स्थगित भएपछि मतदाताहरू निरास बनेका छन् । दुबै पक्षले आ-आफ्ना मतदातालाई जनकपुरमै ‘होल्ड’ गरेर भोलिसम्म राख्न व्यवस्थापन खर्च बढेको छ ।

विमलेन्द्र निधी समूहका उम्मेदवार योगेन्द्र पंजियारले आजै मतदान गर्नुपर्ने अडान लिएका थिए । तर, शेरबहादुर देउवा समूहका उम्मेदवार सन्तोष यादवले ढिलो भएको कारण देखाएर मतदान स्थगित गर्न लगाएको स्रोतले बताएको छ ।

धनुषामा संस्थापन पक्षका उम्मेदवार यादव कमजोर बनेकाले मतदान स्थगित गर्न लगाएको आरोप निधी पक्षका नेताहरूको छ । शेखर कोइराला समूहका सभापतिका उम्मेदवार दिनेश प्रसैलाले पंजियारलाई समर्थन गरेपछि संस्थापन पक्षका उम्मेदवार यादव कमजोर बनेका हुन् ।

पहिलो चरणको मतदानमा सबभन्दा कम मत ल्याएकाले प्रतिस्पर्धाबाट बाहिरिएका कारण दोस्रो चरणको मतदानमा प्रसैलाले पंजियारलाई समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा पंजियारले सर्वाधिक मत ल्याएका थिए ।

अहिले पंजियारलाई जिताउन नेता निधी, मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादव र शेखर कोइराला समूहका नेताहरू सक्रिय देखिएका छन् ।

यता, यादवलाई जिताउन पार्टीका सहमहामन्त्री महेन्द्र यादव र नेता आनन्द ढुंगाना खटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर