भग्नावशेषसँगै ‘पुरानो मण्डला’मा छुटेका अन्तरकुन्तर – Nepal Press

भग्नावशेषसँगै ‘पुरानो मण्डला’मा छुटेका अन्तरकुन्तर

‘मण्डला थिएटर’ हिँडेका धेरै मानिस झ्वाट्ट अनामनगरस्थित पुरानो मण्डलातिर लाग्छन् । अलि पर पुगेपछि झस्किन्छन् । फरक्क फिरेर थापागाउँस्थित नयाँ मण्डलाको बाटो समात्छन् ।

दशौं वर्षदेखि सिंहदरबारको पूर्वी गेटअघिको मण्डला थिएटर जाने आदत भएका मानिस मात्रै होइन, मण्डलाको थिएटर नै थापागाउँ सारेका नाट्यकर्मी राजन खतिवडाहरु नै झुक्किन्छन् । थिएटर हिँडेका खतिवडाहरु झुक्किएर पुरानो मण्डलाको बाटो समात्छन् ।

‘मण्डला थिएटर सरिसकेको’ भनेर आफैंले आफैंलाई सम्झाउनुपर्छ नाट्यकर्मी विजय बरालहरुलाई । नत्र पूर्वी गेटबाट मण्डला छिर्ने दशौं वर्षको आदत उस्तै छ, बाटो र ठेगानमा मात्रै बदलिएको छ ।

अनामनगरको मण्डला थिएटर भग्नावशेषमा परिणत भइसकेको छ । नाटक मन्चन हुने थिएटर भत्किएको छ । त्यो जूनकीरी बस एक्लै भग्नावशेषको शन्नाटा चिहाएर बसेको छ । ती हल्लाहरु, ती चिया–गफहरु, ती कला साहित्यका छलफलहरु सबै बेपत्ता भइसकेका छन् । एक्लो–एक्लो भग्नावशेषसँग अहिले मौनता मात्रै छ ।

हो, मौनताको हल्ला चर्को हुन्छ । कान थुनिने हेभ्भी मेटलको भन्दा चर्को हुन्छ मौनताको हल्ला ।

भग्नावशेषको मौनताले कसैको कानमा लगातार फुसफुसाइरहेको छ भने ती मानिसहरु हुन्, – राजन खतिवडा, दायहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, विजय बराल, सोमनाथ खनाल, उमेश तामाङ, नाजिर हुसेन, प्रदीप चौधरी, सुरेश कार्की, नवीना अर्याल लगायत ।

०००

त्यो पुरानो मण्डला १५ जना नाट्यकर्मीको सपना थियो । १५ जनाको हातेमालो र पसिना थियो । कत्तिको् त्यहीँ साँघुरो कोठामा बास थियो, कत्तिको आनाजाना थियो ।

१५ जनाबाट सुलक्षण भारती र सृजना अधिकारी छुट्टिएर सिनामंगलमा पुरानो घर नाटकघर निर्माणमा लागिपरेका छन् । अहिले बाँकी रहेका १३ जना थापा गाउँमा सरेका छन् भव्य बिल्डिङ बनाएर ।

कर्पोरेट शैलीमा बनाइएको बिल्डिङमा सरेको नयाँ मण्डलाको स्टेजमा त्यही पुरानो मण्डलाको प्रतिछाया देखिन्छ । कोही नाट्यकर्मीले पनि त्यो पुरानो मण्डलालाई बिर्सिन सकेका छैनन्, जहाँ उनीहरुले आफ्नै हाडछाला घोटेर पुरानो मण्डलाको पहिलो जग खडा गरेका थिए ।

सन् २००८ बाट मण्डला थिएटरका सदस्यको सँगै यात्रा सुरु भएको थियो । १४ वर्षअघि गठन भएको नाटकप्रेमी समूहले २०१० बाट नाटकघरको सुरुवात गरेका थिए । नाटकको हलका लागि स्पेस खोज्ने काम सकिएपछि निर्माणमा लागेका थिए । र २०१२ मा तयार गरेका थिए ।
हल तयार भएपछि पहिलो नाटक मन्चन भएको थियो, ‘सुनकेशरी । खतिवडाको निर्देशनमा बनेको नाटक सत्यमोहन जोशीले लेखेका थिए ।
‘सुनकेशरी’ नाटक मात्रै थिएन, आफ्नै हलमा मन्चन भएको पहिलो सपना थियो सबैको । टिमका प्रायः सबैले खेलेका थिए ।

‘सुनकेशरी’बाट सुरु भएको मण्डलाको नाट्यात्रा एक दशकमा ६५ देखि ७० सम्म पुग्यो । मण्डलाकै टिमले मात्रै ४० भन्दा बढी नाटक गरे ।
नाटकको अलवा साहित्यिक कार्यक्रमहरु उस्तै हुन्थे । कला–साहित्यका मान्छेहरुको आउजाउको श्रंखला छुट्टै थियो । फिल्मका कार्यक्रमहरु पनि धेरै हुन्थे । पार्किङ थियो, अन्य ठाउँभन्दा सस्तो थियो । विजय सुनाउँछन्, ‘कला साहित्य क्षेत्रका प्राय सबैको जंकसन बनेको थियो । सबैको घरजस्तो बनेको थियो ।’

०००

अनामनगरको चर्चित चिया पसलका संचालक ‘मामा’ले आफ्नो बहुचर्चित उपनाम ‘मामा’ पाएकै थिएनन् । मामाको पसल अस्तित्वमै थिएन । मामाभन्दा अघि त्यो पसल अर्कैको थियो अहिले एनआइसी एसिया बैंकको बिल्डिङ भएको ठाउँमा । पछि मात्रै मामाले लिएका थिए ।
मण्डलाकै नाट्यकर्मीले चिया क्यान्टिन चलाएका थिए ।

दयाहाङको ‘डिग्री माइला’ नाटक मन्चन भइरहेको थियो । त्यही नाटकमा कलाकार आर्जेस रेग्मीले पनि खेलेका थिए । एक दिन आर्जेसले ‘मामा’ सम्बोधन गरिदिए । मामाले ‘भान्जा’ सम्बोधन गरिदिए । यसपछि मामा सबैको ‘मामा’ भइदिए । अहिले उनको वास्तविक नामभन्दा धेरै प्रसिद्ध छ ‘मामा’ ।

पहिला लिएको सटर छाडेर अलि पर्तिर सरेका थिए मामा । त्यहाँबाट पनि अलि तल्तिर युनियन हाउस नजिकै सरेका छन् अहिले ।
मामा सबैको ‘मामा’ भएकै समयमा ‘डिग्री माइला’ खुब चलेको थियो । डिग्री पढ्ने विद्यार्थीको काठमाडौं बसाइ, उसको भविष्य, सपना, राज्यकोे भूमिका लगायत विषयमा केन्द्रित नाटक हेर्न टियुबाट विद्यार्थीहरु ओइरिएका थिए ।

अहिले भत्किएको मण्डलामा लामो समयसम्म चलेको पहिलो नाटक नै ‘डिग्री माइला’ थियो, सन् २०१३ मा ।

०००

२००८ मा एक ठाउँ जम्मा भएको समूहले २०१० बाट संगठित रुपमा काम गर्न थालेका थिए । त्यो समूहले रसियन कल्चर सेन्टरमा फेस्टिभल पनि गरेका थिए । तर, समूह नै भएपछि स्पेस चाहियो !

स्पेसको खोजीमा लागे । त्यसअघि जावलाखेलमा सानो कोठामा थियो मण्डला थिएटरको अफिस । कत्ति समय त झोलामै बोकेर हिँडेका थिए अफिसलाई । पछि पुरानो मण्डला छेवैमा सानो कोठा लिएपछि त्यहीँ थिएटर बनाउने निधो गरे ।

विजयका अनुसार सबैले पचास–पचास हजार उठाए । सिनेमाका अभिनेता, अभिनेत्री जो नाटकसँग, नाट्यकर्मीसँग नजिक थिए, उनीहरुले पनि सहयोग गरे ।

‘त्यो स्पेस तयार गर्दा दुःख पनि भयो, रमाइलो पनि भयो । यहाँ पसिना बगाएर स्पेस बनायौं । इँटा धुनेदेखि रङ लगाउनेसम्म हामीले नै गर्‍यौं,’ विजय सुनाउँछन् ।

म्यानेजमेन्ट हेर्ने नवीना अर्याल र सेयर सदस्य सुरेश कार्की स्वंय खटिए । इँटा, ढुंगा जम्मा गर्नका लागि ‘सुँडी’ भनिने मुख्य मिस्त्री थिए, जो ज्यालादरीमै काम गर्थे । मुख्य मिस्त्रीपछि नाइके थिए कलाकार बुद्धि तामाङ । बुद्धि तामाङपछि विजय, उमेश तामाङहरु थिए हेल्पर ।
रङ लगाउने, इँटा धुने, मसला बनाउने, पानी लगाउने काम सबै हेल्परहरुले गरे । बुद्धिले प्लास्टर हान्थे ।

मण्डलाको भवन ठडियो । नाटक सुरु भयो । तर, लाइन जाने समस्या थियो ।

लाइन जाँदा युनियन हाउसबाट जेनेरेटरको लाइन ल्याउनुपथ्र्यो तारबाट । लाइन ल्याउँदा थिएटरको गेटमा एकजना बस्नुपथ्र्यो, ट्वाइलेट छेवैमा अर्का एकजना र युनियन हाउसमा एकजना । हात हल्लाएर लाइन आएको या नआएको बताउनुपथ्र्यो ।

‘हामीलाई आफ्नै जेनेरेटर चाहियो, सबैले पचास पचास हजार उठाएर पाँच लाखमा जेनेरेटर ल्यायौं । भित्र नाटक चलिरहँदा नाटक नै छाडेर बुद्धि दाइ, उमेश त कत्तिपटक जेनेरेटरको लाइन मिलाउन दौडनुभएको थियो । त्यसैले पनि जेनेरेटर ऋण काढेर ल्याएका थियौँ,’ विजय भावुक हुँदै सुनाउँछन् ।

०००

सबैले ऋण लगानी गरेका थिए मण्डलामा । तर, पारिश्रमिक लिने अवस्था थिएन । थिएटर सुरु गरेको पाँच वर्षपछि दशैंको दिनमा पाँच–पाँच हजार बोनस भनेर लिएको पैसाको सम्झना ताजै छ टिमका सदस्यहरुलाई ।

सन् २०१५ मा ‘रमाइलो’ नामक नाटक चल्दा भने कलाकारले पनि पारिश्रमिक पाए पाँच–पाँच हजार । त्यही वर्षबाट कलाकारले पाँच सात हजार र निर्देशकले १४ हजारसम्म लिने अवस्था बन्यो ।

दयाहाङ, सृजना सुब्बाहरु सिनेमातिर व्यस्त हुन्थे । नाटकमा पनि उत्तिकै समय दिन्थे । टिमका सदस्यहरु केही न केही गर्थे घर परिवार चलाउनलाई । अभिनेता दयाहाङ भन्छन्, ‘हामीले बडो दुःखले यो संरचना ठड्याएका हौं । अहिले छाड्नुपर्ने हाम्रो बाध्यता भइदियो । तर, यो ठाउँप्रतिको स्नेह र अपनत्व सधैं भइरहन्छ नै ।’

दयाहाङका अनुसार पुरानो मण्डला छाड्नुपर्ने बाध्यता थियो । दश वर्षको सम्झौता सकिन लागेको थियो । उता पार्किङको पनि असुविधा हुँदै गएको थियो । बैंकले लिएको पार्किङको जग्गा बैंकले नै भाडामा दिन मानेन । मण्डलाको टिम एक दशकपछि आइपुग्दा स्पेस ठूलो त चाहिएको थियो नै, फैलने ठाउँको पनि उत्तिकै जरुरत थियो । समूहकै पखेटा पलाइसकेको थिए, उड्न सक्ने जति खुल्ला स्पेस चाहिएको थियो । र नै आफूहरु नयाँ मण्डलामा सरेको बताउँछन् दयाहाङ ।

त्यो भग्नावशेषमा परिणत भएको पुरानो मण्डलाको प्रेम र अट्याचमेन्टले सबै नाट्यकर्मीलाई मसिनो गरी छुन्छ । सबैको पसिनाले सबैले चिन्ने र सबैको प्रिय ठाउँ बनेको थियो । थिएटरको माथिल्लो तलामा विजयको कोठा थिया्े । सात–आठ वर्षसम्म त्यहीँ सुतेका थिए ।

उमेश तामाङ एस कलेजमा बीबीए पढ्दा पढ्दै आएका थिए नाटक समूहमा जोडिन । समूहसँग जोडिँदै गएपछि, नाटकसँग नजिकिँदै गएपछि नाटकमै रमाउन थाले । उता कलेजमा एटेन्डेन्स कम हुन थाल्यो । पछि जाँच आउने वेला त बंगलादेश पुगेका थिए नाटक फेस्टिभलमा । नाटकको दुनियाँमा रमाउँदा रमाउँदै नै उमेशको बीबीए अधुरै रह्यो ।

उता सोमनाथ खनाल अंग्रेजीमा मास्टर्स गर्न टियु आएका थिए । टियुमै थोरबहुत नाटक गरिरहेका थिए । विस्तारै राजन खतिवडासँग नजिक भए । नजिक हुँदाहुँदै कतिवेला नाटकसँगै नजिकिए पत्तै पाएनन् । पत्रकारिताको सपना बोकेर आएर सोमनाथ नाटकतिर लागे ।

आख्यानकार राजन मुकारुङ विशेष सल्लाहकार जस्तै थिए । कवि विल्पव प्रतीक, उपेन्द्र सुब्बाहरु पनि सुरुवातबाटै सहयोग गर्दै जोडिएका थिए । विजय भन्छन्, ‘राजन दाइ विशेष सल्लाहकारजस्तै हुनुहुन्थ्यो । हामीलाई खुवाउने नै उहाँ हुनुहुन्थ्यो । धरानेमा लाने, खुवाउने, रिफ्रेस गराउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ यहीँ सुत्नुहुन्थ्यो, यहाँ लडेरै बस्नुहुन्थ्यो ।’

राजनले ‘दमिनी भिर’ उपन्यासमा पनि मण्डलाबारे थोरै लेखेका छन् ।

समूहमा जोडिएका प्रायः सबैको आ–आफ्नै कथा छन् । आ–आफ्नै विगत छन् । तर, आगत एकै छ, आउने दिनमा नेपाली रंगमन्चलाई अझैं व्यवसायिक बनाएर लैजाने ।

०००

अहिले मण्डला थापागाउँमा सरेको छ । भव्य बिल्डिङ बनेको छ । ठूलो हल छ । पार्किङको सुविधा छ । कार्यक्रम गर्नका लागि अर्को हल छ । कफी सप छ । नाटक सिक्ने विद्यार्थीका लागि होस्टेल छ ।

गत साता उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थितिमा उद्घाटन भयो । सुटिङमा व्यस्त रहेका दयाहाङ बाहेक सबै कलाकार उपस्थित थिए ।
उद्घाटन समारोहमा समूहकी अध्यक्ष सृजना सुब्बा मन्तव्य दिँदै गर्दा भावुक बनिन् । उनको भावुकता मण्डलाको उतारचढावपूर्ण दशकभन्दा लामो संघर्ष र यात्रासँग जोडिएको थियो होला । वा पुरानो मण्डलामा बगेका पसिना, प्रेम र जुनुनसँग जोडिएको थियो होला, अनुमान मात्रै गर्न सकियो !

उनले मण्डलाको सुरुवातदेखि आजसम्मको यात्राको भिडियो फुटेज पनि देखाइन् ।

०००

अहिले पनि पुरानै संचरनामा चलेको छ नयाँ मण्डला । स्यालरी बेसिसमा काम गर्ने तीनजना मात्रै छन् । बाँकी सबैले काम गरेको मात्रै लिन्छन् । बाहिरतिर काम गर्छन् । नत्र नाटक खेल्दा लिन्छन्, नाटक नखेल्दा यत्तिकै सुख्खा रहन्छन् ।

उमेश, विकास, नाजिर, सुरज यादव लगायत सुरुवातमा २०–२५ वर्षका थिए । अहिले ३०–३५ वर्षमा हिँडिरहेका छन् । ३० हजार भाडाबाट सुरु भएको मण्डला अहिले लाखौं तिर्नुपर्ने ठाउँमा पुगेको छ ।

आफूहरु नयाँ मण्डलामा सर्नुको कारण खोतल्छन् राजन खतिवडा, ‘हामीले सम्झौता गरेरै त्यो ठाउँलाई छाडेका हौं । एउटा नाटक सकिएर कुर्नुपर्ने भयो अर्को नाटक गर्नका लागि । फेरि नयाँ पुस्ताका भाइ बहिनीहरु लगालग आइरहेका छन् । ठाउँ त अत्ति नै प्रिय छ, तर स्पेस सानो भइदियो । अलि एक्सपान्ड भएर जाऔं भनेर पनि हो ।’

आफूहरुले निकै दुःख गरेर यो जोखिम लिएको दयाहाङको भनाइ छ । बैंकको ऋण र महँगो भाडामा पनि सम्भावना देखेर पुरानो ठाउँबाट सरेको बताउँछन् ।

‘त्यो न्यानो ठाउँ छाडेर आइहाल्यौं । अब यो ठाउँलाई स्थापित गर्नुछ । बाँकी सृजनात्मक कामहरु यहीँ गर्नुछ । यो नयाँ मण्डलालाई पुरानो मण्डलाजस्तै नै सबैको प्रिय ठाउँ बनाउनुछ । हिजो दश वर्षअघिको चुनौती अर्कै खालको थियो, आज दश वर्षपछि झनै ठूलो चुनौती थपिएको छ,’ अन्त्यमा दयाहाङ भन्छन् ।

तस्वीर :सौजन्य मण्डला थिएटर 
०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर