सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर
आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु कलाकार प्रकाश सपूतको विशेषता नै हो । उनी आम मानिसको दुःख र बाध्यताहरुमा मुटु छेड्ने विम्बहरु चलाउन माहिर छन् । दर्शक–स्रोताको मन रेट्न, आँखा रुझाउन सिपालु छन् । आम मानिसले झेल्ने अप्ठ्याराहरुलाई सरल भाषामा पोख्न पोख्त छन् ।
अहिले उनै सपूतको गीत ‘पीर’ को चर्चा छ । १६ मिनेटको गीतले १६ वर्षअघि शान्तिप्रक्रियामा आएको माओवादी जनयुद्ध र त्यसपछि घर फर्किएको घाइते लडाकुको अन्तरकुन्तर खोतल्ने प्रयास गरेको छ । जो राजनीतिक परिवर्तनका लागि ज्यानको बाजी लगाएर युद्ध लडेका थिए ।
परिवर्तनका लागि बम र बारुदको धुवाँमा मृत्युको चित्कार सुन्दै मुठ्ठी कसेर हिँड्नु चानचुने हिम्मतको कुरा थिएन त्यसवेला । बन्दुकको आवाज र धुवाँमा रुम्मलिएको कठिन जीवन झेले योद्धाहरुले । यसपछि माओवादी शान्तिपूर्ण प्रक्रियामा मात्रै आएन, ०६४ सालको पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी बनेर निस्कियो ।
मुक्तिको, न्यायको, समानताको सपना देखेर जंगलबाट घर फर्किएका योद्धाहरुमा उत्साह र जाँगर कम थिएन । एक दशकसम्म बन्दुक बोकेको काँधले गोलीका दागहरु बिर्सिएको थियो । भाँचिएका हातखुट्टालाई बिर्सिएको थियो । किरिया गर्नका लागि टालोसम्म नभेटेका आफन्तहरुको आँसुले आकार पाउलाजस्तो भएको थियो । तर, सोचेजस्तो केही भएन ।
‘माओवादी शिविर’ का ‘कम्रेड’ हरु रोल्पामा अन्तिमपटक पिलित्त रोएका थिए । अहिले भन्न सकिन्छ– त्यो आँसु, आँसु मात्रै थिएन, लडाकुले मुठ्ठी पारेर भन्ने ‘लालसलाम’ माथिको उपहास थियो ।
२०६२ साल असोज ५ गते माओवादीको चुनबाङ बैठकका क्रममा सांस्कृतिक प्रस्तुति दिइएको थियो । कार्यक्रममा कलाकारले पूर्ण घर्तीद्वारा लिखित गीत ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? कसले भन्छ योद्धाहरुको जीत हुँदैन ?’ मा प्रस्तुति दिएका थिए । गीतमा अर्को लाइन थियो, ‘एक–दुई हार हुनसक्छ, तर मुटु स्पात बन्छ ।’
मोहित श्रेष्ठ र कर्ण परियार ‘विद्रोही’ले गाएको गीतको स्रोता थिए, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कृष्णबहादुर महरा, नन्दबहादुर पुन, वर्षमान पुन, रामबहादुर थापा लगायत शीर्षस्थानका नेता ।
गम्भीर भएर गीत सुनिरहेका प्रचण्ड भावुक बने । नेताहरु भावुक बने । झनै सूर्य विकले ‘जित्नैपर्छ यो अन्तिम लडाइँ’ गाउँदा प्रचण्डका आँखाबाट धाराप्रवाह आँसु बगेको देख्ने स्रष्टाहरु नै छन् । आँसु रोक्न नसकेपछि दुवै हातले आँखा छोपेर घोप्टो फर्किएका प्रचण्ड पूर्वलडाकुहरुको स्मृतिबाट अझैं हटेका छैनन् ।
‘शीर्षस्थानका नेताहरु सबै रोए,’ पत्रकार दिलिप कुँवर भन्छन्, ‘प्रचण्ड मात्रै रोएनन्, उनका सबै सहयोद्धाहरु रोए । कसैले गलबन्दीले आँसु पुछे त कसैले रुमालले । नेत्र विक्रम चन्द विप्लव स्तब्ध बने । एकोहोरो टोलाइरहे । त्यस दिन कसैको आँखा ओभानो रहेन ।’
प्रचण्डहरुको चुनबाङमा बगेको त्यही आँसुसँगै क्रान्ति बगेर गयो । कसैले सिंहदरबारमा आँसुलाई पुछे । कसैले शीतल निवासमा आँसुलाई पुछे । कसैले संसद भवनमा आँसुलाई पुछे । कसैले कालो गाडीमा हुइँकिएर बनेपाको होटलतिर मदिराको प्यालाले आँसुलाई पुछे । कसैको बहुराष्ट्रिय कम्पनीको पिँधमा आँसुलाई थिग्राए । कसैले दलालीको हत्केलामा आँसुलाई थमाइदिए ।
उता छातीमा गोली थापेर नेतृत्वलाई बचाएका लडाकुहरुको आँसु निरन्तर बगिरह्यो । कसैको आँसु सहरका गल्लीहरुमा बगिरह्यो । कसैको डान्सबार र गेस्टहाउसमा बगिरह्यो । कसैको युद्धका ट्रमाहरुमा बगिरह्यो । कसैको घाइते ज्यान र मनमा आँसु बगिरह्यो । कसैको अरबको मरुभूमिमा आँसु सोसिइरह्यो ।
‘प्रचण्ड’हरुलाई पो चुनबाङमा अन्तिमपटक रोएपछि पुग्यो, तर युद्धमा निःस्वार्थ परिवर्तनका खातिर होमिएका हजारौं योद्धाहरु त अहिले पनि निरन्तर रोइरहेकै छन् । उनीहरुको आँसुले गिलो बनाएको सडकमा कम्रेडहरु चिल्ला गाडीमा सवार भइरहेका छन् । सपूतले यही यथार्थलाई गीतमार्फत् उजागर गरिदिए ।
गीतको भिडियोमा गोलीको दाग बोकेर श्रीमती अरब उड्छिन् । विमानस्थलमा श्रीमान् र छोरीसँग छुटिँदै गर्दाको दृश्यले मुटु चिर्छ । सपूतले खिचेको त्यो दृश्य फिक्सन हो । तर, फिक्सन मात्रै होइन, बिमानस्थलमा धेरैपटक देखिएको यथार्थ पनि हो ।
रोल्पा नगरपालिका, खुमेलकी फूलमाया थापा मगर १२ वर्षकी हुँदा भूमिगत भएकी थिइन् । युद्धमा होमिएकी थिइन् । युद्ध सकियो, अन्य लडाकुसँगै घर फिरिन् । त्यो पनि जनवादी विवाह गरेको श्रीमानसँग । श्रीमानले तल खोलाबाट चामल बोक्ने टालोमा बारुद माथि लाँकुरी डाँडामा पुर्याउँथ्यो । फूलमाया भने बन्दुकमा त्यही बारुद भरेर युद्धमा निस्किन्थिन् ।
दश वर्षपछि घर फिरेकी फूलमायाले बन्दुकले लड्नुपर्ने परिवर्तनको युद्ध टुंगाएकी थिइन् । बन्दुक बिसाएकी थिइन् । तर, उनले आफैं लड्नुपर्ने युद्ध भने सकिएको थिएन ।
सपना पूरा भएको भ्रममा उत्साहित भएर घर फिरेकी फूलमायाको गर्धनमा टेक्ने भएर निस्कियो नेतृत्व । उनको गर्धनमा टेकेर नेतृत्वले उनले लडेको युद्धलाई नै उपहास गर्न थाल्यो । र आजित भएर विदेशिइन् ।
दुईपटक विदेश गइसकेकी उनको अभिभारा श्रीमान्, तीन छोराछोरी र एक सासुलाई पाल्नु मात्रै छैन, मरुभूमिमा आफूलाई पनि बचाउनु छ । जीवनको युद्ध लड्नु छ । अहिले त उनलाई ‘कम्रेड’ शब्दप्रति नै वितृष्णा छ । भन्छिन्, कमरेडहरु कम्रेड रहेनन् । बन्दुकको नालमा ज्यानको बाजी थापेर हिँडेको हाम्रो सपना तुहाइदिए ।’
धेरै फूलमायाहरु विदेशमा छन् । यता ठमेलमा मसाज सेन्टर खोलेर बसेका छन् । गैंती हानेर, बालुवा छानेर बसेका छन् । सपूतले यिनै प्रतिनिधि कथालाई गीतमा केलाएका हुन् । मसिनो गरी छुन्छ गीतले । भावुक बनाउँछ । माओवादी जनयुद्धको अँध्यारो पाटोलाई मिहिन ढंगले उधिन्न सफल भएका छन् सपुत ।
तर, सपूतको यो कालजयी सिर्जनामा असन्तुष्ट बनेको छ माओवादीको पार्टीं पंति । गीतले माओवादीका कथाव्यथालाई व्यवसायीकरण गरेको आरोप उनीमाथि लगाइएको छ । साथै, देशको लागि ज्यानको आहुति दिन तयार भएका पूर्वलडाकु महिलाहरु अहिले देहव्यापारमा संलग्न भएको देखाएर जनयुद्धको विद्रुपीकरण गरिएको गुनासो पनि माओवादी पंतिको छ ।
एउटा राजनीतिक विषयवस्तुमा सिर्जना बुन्न खोज्नु कुनै पनि कलाकारका निम्ति सबैभन्दा जोखिमको विषय हो । किनकि यस्तो विषयमा हात हाल्दा सबैलाई एकैचोटि सन्तुष्ट पार्न सकिन्न, जसरी अन्य हल्काफुल्का सिर्जनाबाट सकिन्छ । सपुतले यो जोखिम मोलेकै हुन् ।
सपुतको गीतले माओवादी जनयुद्धको एउटा पाटोलाई चित्रण गरेको छ, जुन सत्यको एकदमै नजिक पनि छ । तर, यही नै पूर्णता भने होइन । यस आन्दोलनले जन्माएका उज्याला बिम्बहरु पनि छन्, जस्तो कि धाविका मिरा राई । बम र बारुदको धुँवाबाट बाहिर निस्किएकी उनी ‘अयोग्य लडाकु’ हुँदै संसारका पहाडहरुमा दौडेर आफूलाई चिनाएकी उनको सफलताको कथा पनि कम रोचक र कम भावुक छैन । साथै, देशमा आएका राजनीतिक परिवर्तनका लागि माओवादी जनयुद्ध नै मुख्य कारकतत्व थियो भन्ने बुझाइ उक्त पार्टीभित्र छ । त्यसैले पनि यो गीतले जनयुद्धलाई न्याय नगरेको उनीहरुले महसुस गरेका हुन सक्छन् ।
गीतप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्ने हक जोकोहीलाई छ । तर, उत्तेजित प्रतिक्रिया दिएर सिर्जनामाथि आक्रमण गर्नु चाहिँ वाञ्छनीय हुँदैन । प्रकाश सपूतले बहसको विषय छेडिदिएका छन् । माओवादी पंतिले यसमाथि पर्याप्त बहस गर्ने ठाउँ छ । तर, गीतलाई नै दण्डित गर्ने, युट्यूवबाट हटाउने जस्ता अतिरञ्जित प्रतिक्रिया दिएर उनीहरुले आलोचना पचाउनै नसक्ने बिन्दूमा आफूलाई उभ्याएका छन् । यो स्वभाविक छैन ।
सपूतले जे प्रयास गरेका छन्, त्यसले जरुर पुराना सवालहरुलाई पुनः ब्युँताइदिएको छ । युद्ध केका लागि थियो, कसका लागि थियो ? युद्धले हामीलाई के दियो ? युद्धलाई क–कसले चलाए, क-कसले प्रयोग गरे र क-कसले फाइदा लिए ?
स्थानीय चुनावको संघारमा सार्वजनिक भएको सपूतको गीतले ठूलै राजनीतिक अर्थ राख्ने नै छ । यो गीतले दिने राजनीतिक लाभ–हानीको हिसाबकिताबको चर्चा सुरु भइसकेको छ । तर, यो गीतको राजनीतिकरण भन्दा पर सपूतले ‘पीर’ मार्फत् माओवादी शिविरमा जसरी बारुद पड्काएका छन्, यसले टुक्रा–टुक्रामा विभाजित माओवादी शिविरलाई समीक्षा गर्न वाध्य बनाएको छ ।