राप्रपाले बनायो भूतपूर्व सैनिकहरूको बेग्लै संगठन, राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्ने लिङदेनको घोषणा – Nepal Press

राप्रपाले बनायो भूतपूर्व सैनिकहरूको बेग्लै संगठन, राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गर्ने लिङदेनको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीनिकट भूतपूर्व सैनिकहरुको बेग्लै संगठन निर्माण गरेको छ । अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा) गठन गरिएको हो ।

आज उक्त परिषदको १०१ सदस्यीय कार्यसमिति घोषणा गरियो । परिषद्को सहअध्यक्षमा अप्रा प्रसे डिबि थापा रहेका छन् । यस्तै, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू तोकिएका छन् । जसअनुसार प्रदेश नं १ मा अप्रा प्रसे चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेसमा अप्रा प्रसे रामबहादुर थापा, वागमती प्रदेशमा अप्रा प्रसे लवराज थापा मगर, गण्डकी प्रदेशमा अप्रा प्रसे रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा अप्रा सेनानी इश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेसमा अप्रा प्रसे ईश्वर थापा छन् ।

यसैगरी सचिवमा अप्रा क्याप्टेन केवेन्द्रजङ्ग गुरुङ, अप्रा प्रसे सानुराम कटवाल, अप्रा सुक सुवर्ण रोक्का, अप्रा सुक तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा अप्रा सुक विष्णुबहादुर गिरी रहेका छन् ।

घोषणा कार्यक्रममा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त र राष्ट्रवादी शक्तिको तागतबाट’ कोर्स करेक्सन’ गरिनुपर्ने बताए । नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्ति र राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।

लिङ्देनले भने, ‘प्रजातान्त्रिक बाटोबाट देशमा परिवर्तन सम्भव छ, आसन्न स्थानीय तहको निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर