चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ) – Nepal Press

चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थानीय निर्वाचनको अभियानमा होमिने भएको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले निर्वाचन अभियानको नारा र प्रदेशगत अनुगमनको जिम्मेवारी टुुंगो लगाएको छ ।

समाजवादीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टीले संगठन निर्माण, सदस्यता वितरण र चुनावी प्रचारको कामलाई एकैसाथ अगाडि बढाउने छ । निर्वाचन अभियानका लागि ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ नारा तय गरिएको छ ।

‘जनतामा जाऔं एकीकृत समाजवादीलाई जिताऔं भन्ने नाराका साथ हामी निर्वाचन अभियानमा होमिदैछौं । अभियानका लागि सातवटै प्रदेशमा केन्द्रीय कार्यालयका नेताहरुलाई अनुगमनका लागि खटाउने निर्णय पनि गरेका छौं’, बैठकपछि प्रवक्ता खतिवडाले पत्रकारहरुसँग भने ।

समाजवादीले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, वागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्विनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भूसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई अनुगमनका लागि खटाउने निर्णय गरेको छ ।

उनीहरुले प्रदेश अन्तर्गतका स्थानीय तहमा संगठन निर्माण, सदस्यता वितरण र निर्वाचन प्रचारका लागि भएका कामहरुको अनुगमन गर्नेछन् । त्यस्तै सम्बन्धित प्रदेशका स्थानीय तहहरुमा पार्टी संगठनको वास्तविक अवस्था र शक्ति परीक्षण गरेर प्रतिवेदनसमेत तयार गर्नेछन् ।

यसैबीच नेकपा समाजवादीले चुनावी गठबन्धन अपरिहार्य भएको भन्दै तालमेलको बाटो खुला राख्ने निर्णयसमेत गरेको छ । प्रवक्ता खतिवडाले निर्वाचनमा तालमेलका लागि खुला रहने निर्णय भइसकेको भन्दै गठबन्धनमा रहेका अन्य दलहरुपनि तालमेलको पक्षमा रहेको बताए ।

‘हामीले चुनावी तालमेलका लागि हात खुला राखेका छौं । माओवादी र समाजवादी पार्टीले पनि तालमेलको पक्षमा निर्णय लिइसकेका छन् । अब कांग्रेसले पनि चाँडै यसबारे निर्णय लिओस् भन्ने हाम्रो सुझाव छ’, खतिवडाले भने ।


प्रतिक्रिया

One thought on “चुनावमा होमियो एकीकृत समाजवादी, संगठन विस्तारसँगै चुनावी प्रचार गर्ने (भिडिओ)

  1. ‘चुनावमा कलमले कमाल गर्छ’ रे त्यो ‘कमाल’ भनेको के हो ?? ‘यिनले भनेको जस्तै कमाल भयो भने के हुन्छ ??’ राजनीति के यस्तै चंखे, चतुरे को दाउ पेच मात्र हो ??
    नेपाली राजनीति, त्येशले सम्बोधन गर्नु पर्ने ‘इस्युहरु’ कसरी एड्रेस गरिन्छन, त्यो चाहिन्न ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर