चुनावी तालमेलका लागि कांग्रेसलाई प्रचण्डको घुर्की, माओवादीलाई काँध थाप्ला त कांग्रेसले ? – Nepal Press

चुनावी तालमेलका लागि कांग्रेसलाई प्रचण्डको घुर्की, माओवादीलाई काँध थाप्ला त कांग्रेसले ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीच अघिल्लो स्थानीय निर्वाचनमै तालमेलको घोषणा भयो । चुनावी तालमेलबाट परिणाम निकाल्न माओवादीलाई निकै सकस पर्‍यो । किनकी कांग्रेसका अधिकांश नेताहरू माओवादीसँग चुनावी तालमेलको पक्षमा थिएनन् ।

भरतपुर महानगरपालिकामा कांग्रेससँग चुनावी तालमेल गरेर छोरी रेणु दाहाललाई मेयर जिताउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘पापड’ नै पेल्नुपर्‍यो । कांग्रेससँगको तालमेलबाट ढुक्क नभएरै २०७४ असोज ५ गते माओवादीले नेकपा एमालेसँग चुनावी तालमेलको सम्झौता गर्‍यो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा महत्वपूर्ण हिस्सा पाएको माओवादी सरकारमै रहेर प्रमुख प्रतिपक्षी एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको थियो । कांग्रेसको साथ छाडेर एमालेसँग वाम गठबन्धन गरेर प्रचण्डले शक्ति आर्जन गरेका थिए ।

विहीबारमात्रै बुटवलमा प्रचण्डले कांग्रेसका केही नेताहरूलाई अतिवादी करार गर्दै तालमेलको पक्षमा कांग्रेस नउभिए एमालेसँग वार्ता गर्ने बताए ।

गठबन्धनकै बलमा बनेको नेकपामा केपी शर्मा ओलीपछि दोस्रो वरीयतामा अध्यक्ष रहेका प्रचण्ड अहिले ओलीविरोधी गठबन्धनमा छन् । नेकपाभित्रको विवाद, संसद विघटन हुँदै नेकपा विभाजनसम्म पुग्दा प्रचण्ड पुरानै माओवादीको अध्यक्ष छन् । समयक्रममा कांग्रेससँगै गठबन्धनमा आइपुगेका प्रचण्ड आगामी तीनै तहको निर्वाचनमा चुनावी तालमेलको पक्षमा छन् । चुनावी तालमेलबारे सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक सबै दल सहमत छन् ।

कांग्रेसभित्र एक्लै निर्वाचन लड्नुपर्ने मत बलियो रहेको अवस्थामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि दबाबमा छन् । यद्यपि पार्टी केन्द्रीय समितिमा देउवाको बलियो पकड छ । देउवा स्वयं चुनावी गठबन्धनको पक्षमा छन् । यहीकारण हालै उनले पार्टी नेताहरूलाई गठबन्धनमा रहेका दलहरूलाई ‘चित्त दुख्नेगरी’ अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । देउवाले गठबन्धनमा रहेका दलहरूलाई चुनावी तालमेलबारे आश्वस्त बनाएपनि कांग्रेसले औपचारिक निर्णय गरिसकेको छैन ।

कांग्रेसमा नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित देउवा पक्षकै अधिकांश नेताहरू चुनावी तालमेलको विरुद्धमा छन् । हालै देउवानिकट सुदूरपश्चिम प्रदेशका कांग्रेस सभापति वीरबहादुर बलायरले ‘रुखबाहेक अन्त कांग्रेसीको हातले भोट नहाल्ने’ बताएका थिए ।

‘हिजो स्थानीय निर्वाचनमा हामीलाई उपयोग गरेर प्रचण्डले संघीय निर्वाचनमा एमाले बोके । अब पनि माओवादी प्रवृत्ति नचिन्ने हो भने कांग्रेसलाई समस्या पर्छ’, तालमेलको विरुद्धमा रहेका एक कांग्रेस पदाधिकारी भन्छन् ।

कांग्रेसभित्र चुनावी तालमेलका बारे बढ्दो मतभिन्नताले देउवालाई भन्दा बढी तनाव भने प्रचण्डलाई दिएको छ । एमालेसँग तत्कालै सहकार्यको सम्भावना नदेखेका प्रचण्डले अब भने चुनावी तालमेलका लागि कांग्रेसलाई बाध्य पार्न ‘रणनीतिक’ अभिव्यक्ति दिन थालेका छन् । केही समयअघि एमाले अध्यक्ष ओलीजस्तो आफू संवादै गर्न नचाहने ‘ढोकाबन्दवादी’ नभएको बताएका थिए । चुनावी तालमेलका लागि कांग्रेस तयार नभए ‘विकल्प’ खोज्ने सन्देश प्रचण्डका पछिल्ला अभिव्यक्तिहरूमा सुनिन थालेको छ ।

विहीबारमात्रै बुटवलमा प्रचण्डले कांग्रेसका केही नेताहरूलाई अतिवादी करार गर्दै तालमेलको पक्षमा कांग्रेस नउभिए एमालेसँग वार्ता गर्ने बताए ।

‘नेपाली कांग्रेसको केही नेताहरूले भन्ने गर्छन् नि माओवादी केन्द्रसँग हालतमा तालमेल हुन सक्दैन । कांग्रेसमा केही नेताहरू अतिवादी देखिएका छन् । कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिदैन’, प्रचण्डको भनाइ थियो ।

एमालेसँग तत्कालै चुनावी तालमेलको सम्भावना नरहेको बताएपनि प्रचण्डले सम्भावनाको ढोका भने खुल्लै रहेको बताउने गरेका छन् । ‘कांग्रेसले माओवादीलाई लखेट्यो भने राजनीतिमा असम्भव भने के हुन्छ र ?’, प्रचण्डको दाबी छ ।

‘तेरो बुई चढ्न पाइँन भने अर्काको बुई चढेर देखाइदिन्छु भनेर के धम्क्याउनु ? आखिर बुई नै चढ्ने भएपछि’, कांग्रेसका एक नेताले प्रचण्डको अभिव्यक्तिमाथि व्यंग्य गरे ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भाग लिएर चुनावी राजनीति सुरू गरेको माओवादीले पहिलो प्रयासमा सफलता हासिल गरेको थियो । तत्कालीन संविधानसभाको ६ सय १ सीटमध्ये माओवादीसँग २ सय ३८ सीट रहेको थियो । यद्यपि पहिलो संविधानसभालाई सफल बनाउन पहिलो पार्टीको हैसियतमा रहेको माओवादी सफल भएन । २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी बिनातालमेल प्रतिस्पर्धामा उभियो ।

त्यसबेला २६ सीटमात्रै प्रत्यक्ष जितेको माओवादी तेस्रो दल बन्न पुगेका थियो । त्यसयताले तालमेलबिना चुनाव लड्ने प्रयत्न माओवादीले गरेको छैन । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेस र संसदीय निर्वाचनमा एमालेसँग तालमेल गरेको माओवादी फेरीपनि तालमेलका लागि सहयात्री खोज्दैछ । कांग्रेस र एमालेमध्ये एक दलसँग सहकार्य गर्न नसके माओवादी समस्यामा पर्ने निश्चित छ । यहीकारण कांग्रेस नेताहरू प्रचण्डलाई उपयोगितावादी देख्छन् ।

‘हिजो स्थानीय निर्वाचनमा हामीलाई उपयोग गरेर प्रचण्डले संघीय निर्वाचनमा एमाले बोके । अब पनि माओवादी प्रवृत्ति नचिन्ने हो भने कांग्रेसलाई समस्या पर्छ’, तालमेलको विरुद्धमा रहेका एक कांग्रेस पदाधिकारी भन्छन् । ती पदाधिकारी चुनावी तालमेल नगरे एमालेसँग सहकार्य गर्ने प्रचण्डको अभिव्यक्ति नै आपत्तिजनक रहेको बताउँछन् ।

‘तेरो बुई चढ्न पाइँन भने अर्काको बुई चढेर देखाइदिन्छु भनेर के धम्क्याउनु ? आखिर बुई नै चढ्ने भएपछि’, कांग्रेसका ती नेताले प्रचण्डको अभिव्यक्तिमाथि व्यंग्य गरे ।

कांग्रेस अहिले देशभर चुनावी अभियानमा केन्द्रित छ । चैत दोस्रो साता केन्द्रीय समिति बैठकबाट तालमेलबारे निर्णय लिने कांग्रेसको तयारी छ ।


प्रतिक्रिया

One thought on “चुनावी तालमेलका लागि कांग्रेसलाई प्रचण्डको घुर्की, माओवादीलाई काँध थाप्ला त कांग्रेसले ?

  1. ‘कब्जा गरेर भाले हुने’ भित्री मनसाय राखेर: सपना सपनाको जालोमा रुमलिएका नेपाली युवाहरु र समुदायलाई अर्को सपना देखाएर तिनीहरुको इमान्दार निष्ठा र देश प्रतिको समर्पण भावनालाई क्याश गरेर ‘जनयुद्द’ चलाएको भनिएका ‘प्रचण्ड’ ‘ कांग्रेसले खेदे जत्ता नि जाने’ राजनीति सम्भावनाको खेल’ भन्ने आफैले उब्जाएको बाणीको लहरामा लहरिन्दै ‘ओली संग नि तालमेल हुन्छ’, ‘प्रधानमन्त्री दिंदा नि ओलीले नमाने पछि MCC पास गर्न पर्यो’, यस्ता-यस्ता बोलि बोल्न पुग्नु भनेको के हो ?? त्यो भन्दा नि तल झर्ने, स्खलित हुने र सक्किने ठाउँ छ ?? अनि, तिनै ‘प्रचण्ड’ को पछि यिनले केहि गर्लान भनेर अझै लुरुलुरु हिड्ने ले के गर्न सक्छन र राजनैतिक रुपमा ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर