श्रममन्त्री श्रेष्ठले अवलोकन गरे शेख जायद मस्जिद
अबुधावी । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठसहितको टोलीलाई ग्रान्ड मस्कका अधिकारीहरुले युएईको प्रमुख प्रार्थनास्थलको रूपमा रहेको शेख जायद मस्जिदका विभिन्न पक्षबारे जानकारी दिएका थिए ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन भने उनलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप प्रदान गरिएको थियो ।
उक्त अवसरमा मन्त्री श्रेष्ठका साथ सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, दूतावासका श्रम सहचारी निर्मला थापा लगायत उपस्थित थिए ।
शेख जायद ग्रान्ड मस्कलाई संयुक्त अरब इमिरेट्सको प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले निर्माण गरेको ग्रान्ड मस्क नजिकै उनको समाधिस्थल पनि छ । ग्रान्ड मस्क सन् १९९६ मा निर्माण सुरु भएर सन् २००७ मा सम्पन्न भएको थियो ।