मनसरा… !
हाम्री छोरी आभा अहिले पाँचौँ वर्षमा हिँड्दै छिन् । सामान्य नेपाली र अङ्ग्रेजीका शब्द र अंकहरू उप्काउन सक्ने भएकी छन् । अफिसले राजीनामा स्वीकृत गरेपछि म घरैमा सानो व्यवसाय गर्दै उनीसँगै हाँसेर, बोलेर दिन काटिरहेको छु ।
मेरो घरको एउटा कोठामा केही किताब र केही पत्रपत्रिका छन् । उमेर छँदा लेखिएका गीत, गजल, सायरी र मुक्तकका डायरीहरू पनि तिनै किताबहरूको बिचमा कहिँकतै छन् । कुनै डायरीमा मनसराका सुन्दर अक्षरहरूले सजिएका केही पानाहरू छन् । प्रायः डायरीहरू मेरै अक्षरले कुरूप भएर थन्किएका छन् ।
नानीकी आमा गाउँकै एउटा विद्यालयमा नेपाली पढाउँछिन् । आमा छोरीसँगै स्कुल जान्छिन्, सँगै फर्किन्छन् । आमा निकै कमजोर हुँदै जानुभएको छ । बुवाका आँखाले भर दिन छाडेको धेरै भइसक्यो ।
छोरी जन्मिएपछि घरमा केही कुराहरू परिवर्तन भए । आमाबुवा निकै हर्षित हुनुभयो । म छोरीलाई हेरेर, उनीसँगै खेलेर घण्टौँ हराइदिन सक्ने भएछु । नानीकी आमा पनि यी सबै कुराहरू देखेर खुसी छिन् ।
उनले मलाई धेरै माया गर्छिन् ।
आभा, नानिकी आमाले आफ्नो इच्छाले राखेकी हुन् छोरीको नाम । आभालाई लेख्न र पढ्नमा खुब रुचि छ । स्कुलमा थाकेर आएर पनि उनमा पढाई प्रति विशेष रुचि देखेर म अचम्मित हुन्छु । आभा अहिले कक्षा एकमा पढ्छिन् ।
उनका झोलामा भएका किताबहरूको नाउँ उनलाई कण्ठ छ । उनी दिनानुदिन नयाँ नयाँ शब्दहरू सिक्न उद्धत देखिन्छिन् । मैले राखेका र्याकबाट नयाँ नयाँ किताबहरू झिकेर ल्याउँछिन्, शब्दहरू पढ्न खोज्छिन् र नसकेको कुरा मलाई ल्याएर सोध्छिन् । शब्द सिकाइको भोकले आकुल भएकी आभालाई त्यस शब्दको अर्थ पनि भनिदिनु अनिवार्य झैँ हुन्छ- सकेसम्म सजिलो र उनले बुझ्ने तरीकाले ।
एक दिन छोरीले एउटा डायरी झिकेर लिएर आइन् । डायरीको अघिल्लो पृष्ठमै मोटा र ठुला अक्षरले ’मनसरा’ लेखिएको थियो ।
आभाले बाहिरको कुर्सीमा बसेर डायरी पल्टाइन् । अगाडि शीर्षक झैँ लेखिएको ‘मनसरा’ सहजै पढिन् ।
नानीकी आमाले भान्छाबाट सोधिन्, ‘आज कुन सब्जेक्ट पढेकी छोरी ?’
आभाले भनिन् ,’मनसरा मामु !’
‘मनसरा मामु ?’, कस्तो विरोधाभासपूर्ण जवाफ छोरीको । व्याकरणीय संयोग हो यो, ‘मनसरा मामु ?’
म फेरि एक पटक झसङ्ग भएँ । आभाको ‘मनसरा मामु’ लाई मैले ‘मनसरा, मामु !’ गरेर सुनेँ ।
म मोबाइलमा केही समाचार हेर्दैछु । आभा दौडिएर हातमा डायरी च्यापेरै मतिर आइन् ।
‘होमवर्क सक्यौ छोरी?’
‘आज मनसरा पढ्ने बाबा ।’
‘तिम्रो बेला भएको छैन आभा । जाऊ बाबाको डायरी लगेर राख ।’
‘मनसरा भनेको के हो बाबा ?’
आभा साह्रै जिद्दी बच्ची हो । अब मैले नबोली धर छैन ।
‘समयले भेटाएर नियतिले छुटाएको एक टुक्रो जिन्दगी हो छोरी ।’
……
‘बुझ्यौ ?’
आभाले बुझिन भन्ने भावमा टाउको दायाँबायाँ हल्लाइन् । उनले बुझिनन् भन्ने कुरा मैले बुझेँ । हातको डायरी भुईँमा पछारेर उनी आमा भएतिर दौडिइन् ।
जम्मा पाँच वर्षकी मान्छेलाई दिएको जवाफ सम्झिएर म आफैसँग रिसाएँ एक पटक । मैले मनसरालाई के बुझेँ यत्तिका वर्षमा ? अनि किन सकिनँ बुझाउन एउटा बाल सुलभलाई ?
सायद मनसरा यस्तै केही हो, जसलाई न मैले न अरू कसैले कहिल्यै बुझ्न सक्यो । यस्तै केही सोचमा निकै बेर हराएँ म ।
भुईँमा पछारिएको डायरी सरक्क टिपेर जतनसाथ लगेर भित्र किताबहरूको चेपमा घुसारेर बाहिर निस्किएँ ।
छोरीलाई बोलाउन खोज्छु, ‘आभा…., छोरी…!’
भित्री कोठामा हजुरमाको छेउमा आभा निदाई रहेकी छ । आमाले आफ्नो हातले आभाको गाला र आँखाको डिलतिर पुछिदिए झैँ गर्दै हुनुहुन्छ । गहभरि आँसु बनाएर निदाएकी आभाको आँखा पुछ्दै हुनुहुन्थ्यो, सायद ।
नानीकी आमा भान्छामा खाना तयार गरिरहेकिछिन् । म आफ्नो काममा लाग्छु ।
‘बालखलाई साँझमा रुवाएर, बिचरा भोकै निदाई।,’ आमा भनिरहनुभएको थियो ।
म सुनेको नसुन्यै गर्छु ।
मनसरा, तिमी रुवाउनकै लागि भेटिएकी थियौ ? अनि रुवाउनकै लागि छुट्टिएकी हौ त ?
धेरैपछि आज आफूलाई हेरेर भित्रभित्रै रोएँ, अरूलाई हेरेर बाहिरबाहिरै खुसी हुने बानी भएछ ।
मनसरा…!
२०७१ कार्तिक ९, पीपल चौक, गाईघाट । म नजिकैको उदयपुर अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी पढाउँथेँ । तर एउटा अन्तिम कक्षा मेरो कक्षा ७ को सेक्सन ‘बि’ मा सामाजिक विषय थियो । अन्तिम कक्षा सकेर निस्कँदै गर्दा पाइन्टको खल्तीमा भएको मोबाइलले भाइब्रेसनको सङ्केत दियो ।
‘हेप्पी बर्थ डे सर, विश् यु अ हेप्पी लाइफ एण्ड मेनि मोर !’ मनसराको मेसेज थियो ।
एक रुपैयाँ पच्चिस पैसा खर्च गरेर ‘थ्यांक यु !’ मात्र रिप्लाएँ ।
‘आईएम् एक्पेक्टिङ् सम् क्वालिटी टाइम विद् यु, क्यान वि…?,’ लगत्तै आयो अर्को मेसेज ।
‘आर यु किडिङ् ? हाव इज इट् पसिबल ?’, मैले पनि जवाफ फर्किएँ ।
‘मिट मी एट टेबल नम्बर थ्री, भ्यु पाइन्ट रेस्टुरेन्ट, इफ् योर क्लासेज् आर ओभर ।’
मनसरा गाईघाट आउने कुरा त थियो । किनकि दसैँ नजिकिँदै थियो । गाईघाटमा मनसराका मावलीहरू छन् । तर यति चाँडो त उ किन आउँथी र गाईघाट ? मनमा कुरा खेलाउँदै म विद्यालय हाताबाट बाहिरिएँ ।
पीपल चौक पुगेँ, अगाडि नै छ, भ्यु पाइन्ट रेस्टुरेन्ट ।
‘टेबल नम्बर थ्री !’ सम्झिँदै लागेँ उकालो । मुटु सामान्य अवस्थाभन्दा जोडले धड्किएको थियो । यदि मनसरा आएकी हो भने यो मेरो जीवनको सबैभन्दा अपत्यारिलो र भयङ्कर सर्प्राइज हुने थियो ।
टेबल नम्बर थ्री ! पाखुरा देखिने निलो टी- शर्ट र निलै जिन्स लगाएकी एउटी महिला कुर्सीमा विपरीत दिशातिर फर्किएर बसिरहेकी छ । यो संयोग हो कि सर्प्राइज ? अनि यो हतार ? यो कौतुहलता ?
हत्तपत्त भित्र पसेर टेबल नम्बर थ्री नजिकै पुगेँ । केटी मोबाइलमा केही हेर्दै थिई ।
‘हेल्लो !’, आवाज दिएँ । टाउको उठाएर हेरी मतिर । बसेको ठाउँबाट उठी र एउटा सानो रातो झोला मतिर सार्दै भनी ‘हेप्पी बर्थ डे, डियर !’
‘ह्वाट् अ सर्प्राइज !’, म अकमक्क परेँ ।
‘प्लिज सिट् डाउन !’, नजिकैको कुर्सीतर्फ देखाएर उनले आँखीभुइँको सहायताले बस्न इशारा गरिन् । म बसेँ ।
‘थ्यांक यु पनि छैन ?’
‘आइएम् सरी ! थ्यांक यु !’
‘नो सरी, नो थ्यांक यु’, उनले भनिन् ।
गाईघाटमा मनसरा र मेरो यो दोस्रो भेट हो ।
‘अनि घर नगई ?’, मैले सोधेँ ।
‘घरमा ममि बुवालाई जुठो छ । म मामाहरूसँग यतै आएँ ।’
‘ए ए ! ठिक छ ।’, म मुस्कुराएँ ।
‘यु लुक् सो जेन्टल् !’, उ मेरो तारिफ गर्न खोज्छे ।
‘आइ थिंक् आइ अलरेडी वाज, !’ मजाकमा हामी कौन सा पछाडि छौँ र ?
ऊ मज्जाले हाँसी । वरपरका टेबलका केही टाउका हामीतिर फर्किए । हामी लजायौँ ।
‘के खान्छौ?’
‘समथिङ भेज् ! के छ यहाँको स्पेसल ?’
‘भेज् किन?’
‘सन्डे!’
छिः म कति बुद्दु छु । मलाई केही कुराको हेक्का रहँदैन । मनसराले आइतबार र मङ्गलवार नन् भेज् खाँदिन थिइन् ।
‘सरी!’
‘नो सरी, नो थ्यांक यु!’
‘डाइलग रिपिट भयो ।’
‘मामाहरू कुरिरहनुभएको छ, खाजा खान घरै पुगिएला । अहिलेलाई कफी मात्र गरौँ है !’
‘ओके !’
मेनु हेरेर लास्टमा दुई वटा कफि अर्डर भयो ।
‘घरतिर के छ ?’, मैले सन्नाटा चिर्ने यत्न गरेँ ।
‘ठिक छ । यता ?’
‘यता पनि ठिक छ । घर आउने होला नि !’
‘नाइँ आउँदिन होला । अलि छिट्टै फर्किनु छ।’
‘एक दिन एक छिन आए हुन्छ नि ! ममिले कति सम्झिरहनुहुन्छ ।’
‘मलाई ममीको नम्बर दिनु न ! फोन गर्छु, आउन नभ्याए पनि ।’
मैले नम्बर भनिदिएँ, उनले मोबाइलमा सेभ गरिन् ।
कफि आयो । कफिको चुस्की लगाउँदै केही कुराकानी भए, दैनिकीका, पढाईका र अगाडिका दिनका ।
कफि सकेर हामी उठ्यौँ । काउण्टरमा गएर मैले १८० रुपैयाँ तिरेँ । हामी बाहिर निस्कियौँ ।
ढोकाबाट बाहिर निस्किएपछि अघिको रातो झोला उनले मेरो हातमा थमाईदिइन् । मैले लिएर आफ्नो काँधमा बोकेको अर्को झोलामा राखेँ ।
मोटरसाइकलको पछाडी राखेर मैले उनलाई सेतो पुल नजिकै लगेर छोडिदिएँ । र घरतिर लागेँ ।
घर पुग्दा अरू दिनभन्दा अलि अबेर नै भइसकेको थियो । बाइक आँगनमा राखेर आफ्नो कोठामा पसेँ । आमा भान्सामा आगो फुक्दै हुनुहुन्थ्यो ।आएको चाल पाएर बाहिर निस्किनुभयो । झोला खाटमा राखेर म पनि बाहिर निस्किएँ ।
‘हेप्पी बर्थ डे विरोध सर !’ ममिले भन्नुभयो । म बिहान घरबाट निस्किँदा ममि उठ्नुभएकै हुँदैन । म आफ्नो क्याम्पस पढेर बिहानको खाना बजार तिरै खाएर स्कुल सकेर साँझमा मात्र घर आउँथेँ ।
‘यो धरतिमा जन्म दिनु भएकोमा थ्यांक यु आमै !’ यति भनेर गोजिबाट एउटा चोकोपन् झिकेर ममिलाई दिएँ ।
‘खान्न म त ! तैँ खा !’ भनेर भान्सामा पस्नुभयो ।
म कपडा फेर्न थालें । कपडा फेरेर झोला खोल्नै लाग्दा फेरी ममिले बोलाउनुभयो र म बाहिर निस्किएँ ।
‘बुहारीको फोन आएको थियो । यतै आएकी रैछन त !’
‘अँ भेट भएको थियो ।’
अरुदिन एक छिन ढिलो हुँदा आत्तिएर फोन गर्ने अनेक प्रश्न गर्ने मान्छे आज निकै अबेर हुँदा पनि चुप बस्नुको रहस्य मनसराको फोन पो रहेछ ।
‘के भनिन् त ?’
‘केही नाइँ ! सामान्य हाइ हेल्लो मात्र ।’
यत्तिकैमा मोबाइलको मेसेजको घण्टी को सङ्केत आयो ।
भित्र पसेँ, मोबाइल झिकेर हेरेँ । मनसराकै मेसेज थियो, ‘भोलि बिहान आउँछु आमालाई भेट्न । लिन आउनु ल ?’
‘मेरो लागि छोरो जन्माइदिनुभएकोमा हजुरलाई धन्यवाद !’ मनसराले फोनमा भनेको कुरा आमाले एक छिनमा सुनाउनुभयो ।
‘त्यति नजिक आएर पनि घरसम्म आउँदिनौ ?’ भनेर आमाले सोध्नुभएकोले घरसम्म आउन लागेकी रहिछन् ।
जन्मदिनको दिनमा मनसरा भेटिनु र भोलि घरैमा आउने कुरा नै मेरो लागि ठूलो कुरा थियो । तैपनि म उनको कोसेली हेर्न आतुर थिएँ । म भित्र पसेँ र झोलाबाट उनले दिएको रातो झोला हातमा लिएर बडो जतनले खोलेँ ।
त्यहाँ एक डायरी थियो ।
०००
पारिलो घाम लागेको छ। असोजको दिन, दसैँलाई स्वागत गर्न तम्तयार छ गाउँ । घरका भित्ताहरूले मुहार फेरेका छन्, बाटोघाटो, चौतारो सबै सुकिला भएका छन् ।
यस्तै एउटा दिनमा बुवा र म बाख्राको टाट्नो सुधार्दै थियौँ, आमा र बहिनी करेसाबारीमा तोरी बेड्याउंदै हुनुहुन्थ्यो- एउटा महिला आकृति सानो हाते ब्याग च्यापेर हाम्रो घरतिर उक्लियो ।
‘को आयो घरमा ?’, आश्चर्य मान्नुभयो बुवाले ।
‘खै ! राम्ररी देखिएन ।’, मैले भनेँ ।
‘मान्छे त चिनेकै जस्तो लाग्यो ।’
‘होलिन् कोही शाहिखोलातिरको । बजारबाट फर्किएकी होलिन्, पानी पिउन पसेकी हुन कि !’
‘जा घर पुगेर आइज । आउँदा एक जग चिसो पानी पनि ले।’, बुवाले यति भनेर बाँसको चोया तिखार्न थाल्नुभयो । म घरतिर लागेँ ।
बुवाको अनुमान सहि रहेछ । अञ्जान नौलो मान्छे थिएन घरमा आएको, मनसरा थिइन् ।
‘मान्छेहरूले बाटो बिराएजस्तो छ नि !’, अलिकति बनावटी हाँसे म ।
‘बाटो बिराएको मान्छे हराउँछ, यसरी आउनुपर्ने ठाउँमा आइपुग्दैन ।’, मनसरा पनि हाँसिन्, सायद त्यो पनि बनावटी नै थियो ।
यति धेरै समयपछि मनसरा घरसम्मै आइपुग्दा पनि ममा उत्साह र खुसी देखिएन, किनकि त्यो दसैँपछि मनसराको फ्लाइट थियो ।
मैले एक गिलास पानी लिएर आएँ, त्यो पानी उसलाई दिँदै सोधेँ, ‘अनि के कति कामले ?’
‘बिना काम आउन नहुने भइसक्यो यो घर अब ?’ उनले यसरी भनिन् कि मानौँ उनी त्यही घरकी एक सदस्य हुन् ।
‘काम विशेष नभै आएको थाहा थिएन, त्यही भएर ।’, म त बोल्न पनि जान्दिन यस्तो बेला ।
‘अब चाडहरूले घेर्न लागेपछि समय मिल्ला नमिल्ला, एक पटक बुवा ममिलाई पनि भेटौँ, आशीर्वाद लिऔँ भनेर ।,’ उनले आउनुको उद्देश्य बताइन् ।
बुवाआमालाई पनि भनेपछि म पहिलो प्राथमिकतामा परेँ भन्ने सम्झिएर फिस्स हासे, केही बोलिनँ ।
‘ममिहरु खै त ?’
‘बारीमा हुनुहुन्छ, बोलाउँ ?’
‘नाइँ पर्दैन, मै जान्छु ।’ यति भनेर उनी घर पछाडी आमा र सान्नानी भएतिर लागिन्, म पानी लिएर बुवासँग लागेँ ।
‘को रहेछ केटा ?’, बुवाले सोध्नुभयो ।
म त्यसै गरी हासे जसरी अरुबेला घरमा मनसराको कुरा चल्दा हास्थें ।
बुवाले बुझ्नुभयो ।
हाम्रो घरमा मनसरा आएको यो पहिलो पटक थिएन, हुनेवाला बुहारीको हैसियतमा उनी पहिला पनि धेरै पटक मसँग आएकी थिइन्। त्यसैले यो कुरा बुवालाई पनि नौलो लागेन । हामी आफ्नो काममा लाग्यौँ ।
०००
‘बिहे गर्नुभा हो ?’, धेरै पछि मनसराको म्यासेज आयो मेसेन्जरमा ।
‘खै ! सबैले त्यसै भन्छन् !’, मैले फर्काएँ ।
‘कोसँग ?’, कुराकानी थपिइहाल्यो ।
‘केटीसँग ।’, रिस उठाइदिनु थ्यो ।
‘छ्या ! अनि बिहे केटीसँग त हुन्छ नि !’, उसले पनि रिस देखाई ।
‘लौ हो र ! मेरो बहिनीको त केटासँग भयो त !’, मैले झन जिस्काएँ ।
मज्जाले हाँसिन् र भनिन्, ‘तपाईं सुध्रिनुहुन्न ।’
‘बिगार्ने मान्छे अलि कडा परेर होला !’
‘इडियट! साँच्ची भन्नू न !’
‘साँच्ची !’
‘राँची जानुस् !’
‘आएर लैजाऊ !’
‘म किन आउनु ?’
‘तिमी आउजाउ गरिरहन्छ्यौ क्यारे त्यता । बाटो देखाउँछ्यौ कि भनेर ।’
‘हे प्रभु !’
‘हजुर ?’
‘छ्या तपाईं त !’
‘छ्या तिमी त !’
‘म गएँ ।’
‘शुभ यात्रा ।’
‘नो थ्यांक्स !’
‘आइ डन्ट केयर!’
यो अन्तिम संवादपछि मनसरासँग मेरो कुराकानी भएको छैन । मनसरा मनभित्रै मात्रै छे । मनसँगै बोल्छिन् मनसरा । मनसँगै कुरा गर्छिन् । आज अचानक छोरीले मनसरालाई सम्झाइदिइन् । मनसरालाई डायरीबाट निकालेर मेरो अगाडि ठिङ्ग राखिदिइन् ।
०००