शिरीषको फूल- भएका, नभएका र खोजिएका – Nepal Press

शिरीषको फूल- भएका, नभएका र खोजिएका

‘उपन्यासमाथि नाटक आउँदैछ रे !’ भनेकै दिनदेखि एक किसिमको अधैर्य हृदयमा पैदा भइसकेको थियो । त्यस अधैर्यका बीच पनि नाटक लागेको शुरूकै दिन पुग्न सकिएन । दोस्रो दिनको पहिलो शो हेर्न म शिरीषको फूल नै बोकेर पुगेँ । त्यस व्यग्रता र औत्सुक्यको साथ लाग्दै पछिपछि भय पनि आउँदै थियो । म डराइरहेकी थिएँ, कतै मैले आफ्नो मस्तिष्कभित्र देखेकी बरी र नाटककी बरी उस्तै रहिन भने मेरी बरीलाई नाटककी बरीले न्याय गर्न सकिन भने ! मलाई लाग्छ (उपन्यास पढिसकेका) हरेक दर्शक यही डरकासाथ थिएटरको अँध्यारो माहोलमा जम्दो थिए ।

इमानदार भएर भन्नुपर्दा यहाँनेर म पक्षपाति हुँ शायद, यत्तिको डर मेरो हृदयमा अन्य पात्रका लागि पलाएको थिएन । अँ, सुयोगविरका लागि पनि डराएकी त थिएँ, तर यो हदसम्म होइन। खैर, अब नाटकतिरै लागौँ ।

अँ, उपन्यासमा नपाइने एउटा कुरा नाटकमा शुरूमै पाइयो। उपन्यासमा पात्रहरू मात्र छन् । तिनै पात्रहरूभित्र पारिजात कतै गौण छिन् । तर, नाटकले पारिजातलाई शिरीषको फूलमूनि सग्लो उभ्याइदिएको छ । प्रोलगमा पारिजात देखापर्छिन् कालो फ्रेम भएको चस्माका साथ र भन्छिन्, ‘दर्शन भनेको चस्माजस्तै हो। एउटै मान्छेले जीवनमा अनेकानेक चस्मा फेरिरहन सक्छ। र हरेकले संसारलाई या जीवनलाई आ-आफ्नै चस्माबाट हेर्छन् ।’ प्रोलगको अन्त्यसँगै पारिजात चस्मा खोलेर टेबलमा राख्छिन्, जसलाई केहीक्षणपछि बरीले लगाउँछे ।

खैर, अहिलेलाई भने सुयोगविरको कुरा गरौँ ।

दोस्रो विश्वयुद्धबाट फर्किएको सुयोगविर आफ्नो फौजी कोटभित्र केही खोज्दै हुन्छ। यो खोजाइ दुःखद र शनशनीपूर्ण भएको ब्यागग्राउण्डमा बजिरहेको धुनले हामीलाई पूर्वसूचित गर्छ। त्योसँगै हामी सुयोगविरका आहतपूर्ण भावनाहरूसँग एकाकार हुनसक्छौँ। हामी बुझ्नसक्छौँ विश्वयुद्धबाट फर्किेएर आउँदा उसले आफूसँग कुनै गौरवकाबिल इतिहास बोकेर ल्याएको छैन। उसका पछि लागेर आएका छन् त केहीथान तिक्त विगतहरू, बस् ! उसको विक्षिप्तता र त्यसबाट पन्छिन उसले रोजेको पलायनको बाटो हामी छर्लंग देख्न र टड्कारो महसुस गर्नसक्छौँ।

यो विक्षिप्त सिपाही आफ्नो रक्स्याहा साथी शिवराजसँग उसको घर पुग्छ। शिवराज सुयोगविरसँग आफ्नी जेठी बहिनी मुजुराको परिचय गराउँछ। मुजुरा यतिबेला लजावती झारजस्तै देखिन्छे।

मुजुराको कुरा एकछिनमा फेरि गरौँला।

अँ, अनि कान्छि बहिनी सानुसँग पनि सुयोगको भेट हुन्छ। तब पालो आउँछ सकमबरीको। बरी, जसले पारिजातले टेबलमा छोडिराखेको चस्मा लगाएकी छे। बरी, जो किताबहरूसँगै मस्तै भुलिदिन्छे । बरी, जो फूलहरूसँग मग्न खेलिदिन्छे । बरी, जो चुरोटका धुँवाहरूसँग मुक्त उडिदिन्छे । उपन्यासमा जस्तै बरी आफ्नो परिचय आफै दिन्छे सुयोगविरलाई, उस्तै बन्दुक पड्किएजस्तै आवाजमा । अनि, दाजु शिव र दाजुका साथीले पिउँदै गरेको ठाउँबाट दुई खिल्ली चुरोट टिप्छे र जान्छे । बरी बरण्डामा पुगी त्यसलाई आफ्ना ओठहरूबीचमा च्यापेर सल्काउँछे। आगो, चुरोटमा मात्र नसल्किएर अन्त कतै पनि सल्किएको स्पष्ट हुन्छ दर्शकका नजरमा । यस अर्थमा, नाटकमा हुनुपर्ने दम छ भन्न हिचकिचाउन पर्दैन ।

नाटक उपन्यासकै सादृश्य भर्जनझैं बगेको छ । यस दौरानमा सुयोगविरको अह्मलाई बरी उसैगरी प्रहार गरिरहन्छे । विश्वयुद्धमा आफ्नो सम्पूर्ण जवानी लुटाएर एक्लो र रित्तो फर्किएको सुयोगविरलाई बरी मुखैअघि बुढो भनिदिन्छे, अपराधी भनिदिन्छे। हरेकपटक अपमानबोध गरी फर्किएको सुयोगविर तर, बरीको बारे नसोचिरहन सक्दैन । उपन्यासमा जस्तै ऊ बरीलाई आफूले दयनीय अवस्थामा प्रेम गरेको स्वीकार गर्छ र दुखिरहन्छ। केहीलाई छोडेर यावत कुराहरू उपन्यासमा पढेझैं नाटकमा हेर्न मिलिरहेकै छन् ।

सुयोगविरलाई नाटकको शुरूदेखि अन्त्यसम्म हामी विक्षिप्त देख्न पाउँछौँ । उसको विक्षिप्तता समय घर्किँदै जाँदा बढ्दो छ। विश्वयुद्धमा होमिएर जीवनको अनिश्चितता र विसंगतिलाई नजिकबाट छामेको सुयोगविर हरेक कुरालाई निस्सार देख्छ । विश्वयुद्धकालीन समयमा मृत्युलाई प्रतिसेकेण्ड अंगालेर बाँच्नुले सुयोगविरलाई जीवन र मृत्युबीचको भिन्नताबाट नै विमुख गराइदिएको हुन्छ । दुःख र सुख, भोग र प्रेम, सभ्यता र जंगलीपना, नारी र वस्तु, प्रकृति र विध्वंश, यी र यस्ता यावतबीच सुयोगविर कुनै भिन्नता महसुस गर्दैन । विश्वयुद्धबाट फर्किसकेपछिको बाह्य संसार पृथक त हुन्छ तर ऊभित्र भने अझै उही संसार र उही मनस्थिति जिउँदो हुन्छ । यसरी ऊ सांसारिक युद्धबाट फर्किसकेर पनि पुनः आफूभित्रको युद्धमा होमिन पुगेको छ । उसलाई विगतले आगतमा हिँडनबाट रोक्छन्, खुट्टा तान्छन्, बाटो छेक्छन् । ऊ विक्षिप्त छ ।

तर, छोटो गरी केश काटेकी बरीलाई व्यक्तिगत रूपमा भने मैले सारीमा कल्पिएकी थिइनँ । जति जति बरी पुरानी हुँदै जान्छे उति उति मेरी दिमागकी बरी मेरो मगजभित्र आधुनिक हुलियामा पेश आउने गर्छे। तसर्थ, वर्तमान युगको नजरबाट नै बरी पेश आउली भन्ने मौन अपेक्षा बरीलाई मञ्चमा सारीमा देख्नासाथै भत्किएर गएको थियो। खैर, बरीको चरित्र निर्माणमा नाटकको टिमले गरेको मिहेनत नाटक हेरिरहँदा दर्शकलाई अवश्य महसुस हुन्छ। बरीलाई पुरानै समयपटमा चित्रण गरिए पनि उसको व्यक्तित्वमा उसको आधुनिक मानसको झलक काफी पाउन सकिन्छ । पारिजातले वर्णन गरेजस्तै बिरालाका जस्त चंख आँखा, जिस्क्यााउने हेराइ र साथसाथै एउटा निर्भीक, गम्भीर र चिन्तनमुखी व्यक्तित्व । बरीको हिँडाइ, बरीको हेराइ, उसका भावभंगिमा, उसको बोल्ने लवज र नाटकभरि लोभ्यााइरहने उसको विशेष प्रकारको अदा उपन्यासकी बरीको भन्दा कत्ति पनि कम छैन । बिन्दास र बौद्धिक एकैसाथ हुनसक्ने पारिजातकी बरीलाई नाटककी बरीले यसरी निभाएकी छे लाग्छ, ऊ ‘वर्षौंदेखि र त्यस मञ्चबाहिर पनि’ उस्तै छे । जे होस्, दर्शकलाई बरीले असन्तुष्ट छोड्नेछैन ।

अब मुजुराको कुरा गरौँ । उपन्यासमा वर्णन गरिएभन्दा मुजुरा अलिकति फरक हुलियामा छे। सेतो सारीमा नभएर ऊ गाढा रातो सारीमा छे। केश खुला नभएर बाटिएको छ। दुई बहिनीका लागि दिदीले आमासमेत आफै हुन खोजेको आशय यस रंग छनोटले दिन खोजेको प्रतित हुन्छ जब उसले बहिनीहरूको बडो प्रेमले ख्याल राखेको देखाइन्छ। तर, मुजुराको विषयमा नाटक हेरिसक्दा पनि एउटा खड्किरहने कुरा के छ भने, शुरूमा सुयोगविरलाई भेट्दा लजावती झारजस्तै लजाएकी मुजुरा नाटक बग्दै गर्दा उसलाई खुलेरै जिस्काइदिन्छे। मुजुराको यस दुई किसिमको व्यक्तित्व नाटकमा देखिनु उति स्वभाविक लाग्दैन । ‘बरी र मुजराबीच टडकारो पृथकता देखाउनुपर्छ है’ भन्ने चेतका कारण शायद प्रारम्भमा मुजुराको चरित्रमाथि चाप ज्यादा पर्न गएको पो हो कि ! खैर, चरित्र निर्माणमा बरीमाथि जति मिहेनत मुजुरामाथि नगरिएको हो कि भन्ने शंका यहाँनेर दर्शकलाई हुनसक्छ । सानुको चरित्र भने उपन्यासमा भनिएजस्तै नै देख्न पाइन्छ। पानीको फोकाजस्तै उसको तपसिलको उपस्थितिमाथि चर्चा गर्नु उस्तो जरुरी त लाग्दैन तर उसको चरित्र निर्वहनले उपन्यासलाई न्याय गर्दै नाटकमा नजाँनिदो गरी प्राण भरेको पनि नकार्न सकिँदैन।

नाटकमा लगभग उपन्यासमा वर्णित दृश्यहरूलाई नै देखाउने कोसिस गरिएको छ। पारिजातको सग्लो उपस्थिति नाटकमा नयाँ लाग्छ। र उपन्यासभित्रैबाट लिइएको भए पनि भिन्न तरिकाले कोरसमा देखिएका मटिनची, हेडहन्टरकी छोरी, भैँसी गोठाल्नी र आदिवासी युवतीको चित्रणले उपन्यासमाभन्दा गाढा रंगमा आफ्नो अस्तित्व नाटकमा जताएका छन्। उनीहरू सुयोगविरसँग आफ्ना गुनासो र सवाल राखिरहन्छन्। उपन्यासमा गौण देखिने यी पात्रहरू नाटकमा भने सक्रिय देखिन्छन्। आफूहरूसँग गरेको अपराध सुयोगविरले सकमबरीसँग नदोहोर्याओस् भन्ने आशय र चेतले उनीहरू सुयोगविरलाई विगतका यादहरू पठाएर आक्रमण गरिरहन्छन् र उसलाई विक्षिप्त बनाइरहन्छन्। उपन्यासका गौण पात्रहरूको प्रयोग गरी नाटकमा यसरी जीवन्तता थप्नु दर्शकहरूका लागि मननयोग्य कुरा बनिदिएको छ।

उपन्यासमा बरीको मृत्युको खबर शब्दहरूमार्फत् नै थाहा पाइन्छ। तर, नाटकमा त्यही कुरालाई बिम्बात्मक शैलीमा देखाइएको छ। सुयोगविरको चुम्बनपछि बरी बगैँचाबाट घरभित्र छिर्छे र अविलम्ब बगैँचामा उभ्याइएको शिरीषको बोटबाट फूलहरू झर्न थाल्छन्। रूख रित्तो हुन्छ र भुइँ निलो ! त्यसपछि इपीलगमा पुनः पारिजात देखापर्छिन् । उनका अनुसार मरेर जानेको मृत्यु बाँचेकाहरूमा बाँचिरहन्छ।

उपन्यासमा नभएका तर नाटकमा समेटिएका दृश्यहरू त यी भए । अब उपन्यासमा भएका तर नाटकमा नभएका दृश्यहरूका कुरा गरौँ । त्यसो त उपन्यासमा उल्लिखित हरेक घटना एवं उपघटनाहरूलाई नाटकमा सादृश्य गराउनु सम्भव नहोला । तर, केही दृश्यहरू नछुटेका भए सुन पनि सौगन्धिय हुनसक्थ्यो कि भन्ने एक जिज्ञासा ।

नाटकको क्लाइमेकसमा सुयोगविर जब द्वन्द्वात्मक मनस्थितिकाबीच बरीलाई चुम्बन गर्छ तब ऊ बिना कुनै प्रतिक्रिया नै घरभित्र छिर्छे। तब एउटा सन्नाटा छाउँछ र त्यो सन्नाटासँगसँगै शिरीषका फूलहरू बरीको मृत्युको प्रतिकात्मक भुइँभरि झर्छन्। यहाँनेर, बरीको अचानकको मृत्युको खबरले दर्शकको हृदयमा झट्का पुर्याउन त खोजिएको छ तर त्यतै कतै अर्को महत्वपूर्ण कुरा छुटिरहेको पो छ कि भन्ने दर्शकको मनमा झस्को पस्छ।

शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ

शिरीषको फूलमाथि यो हाइकू हामी किताबभित्रै पढ्न पाउँछौँ। इाइकूमा जस्तै उपन्यासमा पनि शिरीषको फूल चुम्बनपछि झरिहालेको छैन। झर्नुअघि पाठक हृदयलाई के होला कसो होला भन्ने व्यग्र हुटहुटीमा पार्दै शिरीष फूल ओइलिएको छ। यो फूलको ओइलिनु किन पनि यति महत्त्वपूर्ण छ भने त्यो ओइलिरहँदा भवँरासँग दँजाइएको पात्र सुयोगविरको मनस्थितिको चरम हुलिया पाठकहरूमाझमा प्रस्फुटित हुन्छ। के मैरै कारणले बरीलाई सञ्चो छैन ? या बरी उसको पुरानो रोगका कारण बिसञ्चो छे ? यी दुई प्रश्नहरूकाबीचमा पिल्सिएर सुयोगविरले बाँचेको पीडा र छटपटीको पराकाष्ठा उसको विक्षिप्तताको चरमबिन्दू हो। र नाटकमा कतै ९शिरीष ओइलाउँदै गर्दा भवँरा टोलाउँदै, बहुलाउँदै गरेको० यही विशेष दृश्य पो छुटेको हो कि भन्ने दर्शकलाई लाग्नसक्छ।

नाटकमार्फत् नाटकको टोलीले दर्शकहरूबाट केही कुराको अपेक्षा गरेको पाइन्छ। सकमबरीको मृत्युलाई उसबेलादेखि आजसम्म व्याख्या गरिँदै आएको निस्सारवादी एवं शुन्यवादी चस्माबाट मात्र नहेरेर हरेक दर्शक एवं पाठकले यसलाई आफ्नै चस्माबाट पनि हेरोस् र हरेकले यस मृत्युमाथि नयाँ र मौलिक आयाम पस्किउन् भन्ने आशय नाटकको देखिन्छ।

र त्यस्तैमा यता पाठकहरू जो उपन्यासलाई सादृश्य हेरेर दर्शक पनि बन्न गइरहेका छन्, उनीहरू पनि नाटकसँग केही अपेक्षा बोकी हलसम्म पुगेका देखिन्छन् । (उपन्यास पढिसकेका अधिकांश) दर्शकहरू भने नाटकबाट बरीको मृत्यु आखिर किन भयो ? चुम्बनकै कारण या त रोगका कारण ! भन्ने द्विविधा अर्को शब्दमा भन्नुपर्दा सुयोगविरको द्वन्द्वात्मक स्थितिको समाधान, सवालको जवाफ खोज्दै नाटकघर पुगेका छन्।

नाटकको टोली र दर्शकको खोजले विरोधाभास व्यक्त गरिरहेको हुँदाहुँदै पनि दुईबीचको समन्वय सुखद रहेको छ। किनभने, नाटकको टोली र दर्शकको भीड दुवैले आखिर खोजेको कुरा एउटै हो।

नाटकभित्र एउटा समालोचकीय चेत खोज्दै दर्शकहरू नाटकघरसम्म पुगेको पाइन्छ। दर्शकहरूलाई शायद अपेक्षा थियो, मृत्युशय्यामा छटपटाइरहेकी बरी आत्मालाप गर्नेछे, आफूभित्रका रहस्यहरू दर्शकसामू खुलस्त पार्नेछे। उपन्यासकी अह्म् पात्र बरीले आफ्नो अहंपछाडिको आदर्श दर्शकहरूसमक्ष कुनै सलिलकीमार्फत् हस्तान्तरण गर्नेछे। या त फेरि सुयोगविरले नै उपन्यासमाभन्दा आफूलाई नाटकमा गहिरो बगाएर बरीको मृत्युमाथि, नारी र प्रेममाथिको आफ्नो अन्तिम समझलाई छताछुल्ल पोखिदिनेछ रक्सीको नशामा। तर, त्यो समालोचकीय चस्मा पारिजातकामार्फत् नाटकले दर्शक स्वयंलाई नै पहिर्याइदियो।

लेखकले लेखेर पाठकलाई सुम्पिसकेपछि त्यो किताब अब पाठकको हो। त्यसमाथि लेखक वा जो कसैको कुनै एउटा निश्चित दर्शनलाई एकलौटी हावी हुन दिनुभन्दा अनेकानेक कोणबाट त्यसमाथि पाठक स्वयंले विवेचना एवं समालोचना गर्नुपर्छ। साहित्यमा समृद्धि शायद यसै अभ्यासले भित्रिँदो हो। मञ्चमा पारिजातलाई उभ्याएर चस्मा र मृत्युमाथि बोल्न लगाउनु नाटकले ‘शिरीषको फूल’ नाटकमार्फत् ‘शिरीषको फूल’ उपन्यासलाई एउटा प्रतिनिधि साहित्यका रूपमा लिँदै दर्शक एवं पाठकहरूबाट यो अपेक्षा गरेको पाइन्छ कि उनीहरू आफ्नो समालोचकीय चेतलाई साहित्यमा प्रयोग गरून्।

यो त भयो, नाटक र दर्शकले खोजेका कुरा । तटस्थ उभिएर हेर्नुपर्दा मैले के खोजिरहेछु त ! मैले शायद दुवै खोजिरहेकी छु । समालोचकीय चेत नाटक र पाठक दुवै पक्षले प्रयोग गरिदिए हाम्रो साहित्य र रंगमञ्च दुवै एकसाथ पो समृद्ध हुने थिए कि ! मेरो तटस्थ दृष्टिले यही निष्कर्ष निकालेको छ ।

अँ, एउटा कुरा त कुरैकुरामा झण्डै भुलेको । उपन्यास जति गम्भिर छ नि ! त्यो गाम्भीर्यलाई नमारीकन पनि रमणीयता र रोचकपन उपन्यासका पाठकले भन्दा ज्यादा नाटकका दर्शकले प्राप्त गर्ने थप कुरा हुन् । उपन्यासमा नपाइने ह्युमर नाटकमा प्रशस्त पाउन सकिन्छ । तन्मयताकासाथ हेर्ने हो भने उपन्यासमा नपाइएको तर, कथाको बहावमा बडो सुहाउँदो (सानु पोइल गएको थाहा पाएपछि सकमबरीले दिएको प्रतिक्रियाले निम्त्याएको) मार्मिक क्षण पनि नाटकमा देख्न पाइन्छ । यस्ता सुक्ष्म कामहरूले नाटकमा प्राण भरेका छन् । यस अर्थमा ‘शिरीषको फूल’को ‘पाठक मात्र’ हुनुभन्दा ‘दर्शक पनि’ हुनुमा सार्थकता महसुस हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *