झलनाथलाई नेम्वाङको प्रश्न- चितवन कि सर्लाहीको तरिकाले ओलीको मतपेटिका खाली गर्ने ? – Nepal Press

झलनाथलाई नेम्वाङको प्रश्न- चितवन कि सर्लाहीको तरिकाले ओलीको मतपेटिका खाली गर्ने ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् ।

आगामी चुनावमा एमालेको बाकसमा जिरो भोट दिएर केपी ओलीलाई दण्डित गर्नुपर्ने अभिव्यक्ति दिएकै भोलिपल्ट एमाले अध्यक्ष ओलीसहितका नेता खनालको निर्वाचन क्षेत्र पुगेका छन् ।

इलाम क्षेत्र नम्बर १ अन्तर्गत फिक्कलमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेम्वाङले भने, ‘अब यो देशभरि ओर्लिएको एमालेको जनसागर छ । कसरी मतपत्र एमालेको खाली गर्ने होला ? केपी ओलीको मतपेटिका कसरी खाली गर्ने होला ? चितवनको निर्वाचन तयारीको तरिकाले काम लाग्छ कि ? सर्लाहीको निर्वाचन तरिकाले काम लाग्छ ?’ नेम्वाङले प्रश्न गरे ।

फिक्कलमा उर्लिएको जनसागरले खनाल छक्क परिरहेका होलान् भन्दै नेम्वाङले कटाक्ष गरे ।

‘इलाममा मात्र होइन, मेची महाकाली, तराई-मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झलझली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर