दलित बालिकालाई बाँधेर यातना दिएको घटनाबारे दलित आयोगको छानबिन सुरु
काठमाडौं । राष्ट्रिय दलित आयोगले मन्थली नगरपालिका ६ की भलुवाजोरकी १३ वर्षीया दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिएको घटनाबारे छानबिन सुरु गरेको छ । आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा गएको आयोगले टोलीले शनिबार घटनास्थल पुगेर स्थलगत अध्ययन तथा छानबिन अघि बढाएको हो ।
सदस्य पुर्कुटीसहितको टोलीले शनिबार मन्थली ६ मा रहेको पीडक शेरबहादुर श्रेष्ठको घर तथा पीडित बालिकाको घरमा पुगेर घटनास्थलको अवलोकन गर्नुका साथै पिडक र पीडित बयान पनि लिएको छ ।
आइतबार बिहान मन्थलीमा पत्रकार र राजनीतिक दलका अगुवासँग भलुवाजोर घटना दही चोर्नेभन्दा पनि जातीय विभेदकै कारण उनलाई बाँधेर यातना दिएको आयोगले प्रारम्भिक निष्कर्ष निकालेको घटनास्थलबाट आयोगका सदस्य पुर्कुटीले नेपाल प्रेसलाई जानकारी दिए ।
आयोगको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी र प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार थिङलाईसमेत भेटेर जानकारी लिएको छ । प्रमुख जिल्ला अधिकारी पहाडी र डीएसपी थिङले पीडक श्रेष्ठ विरुद्ध अपहरण र शारीरिक बन्धकको उजुरी परेकाले अनुसन्धान भइरहेको जानकारी गराएका थिए ।
स्थलगत अवलोकन र पीडकसँगको बयानका क्रममा दलित भएकै कारण बालिकालाई बाँधेर यातना दिएको स्वयम पीडकले नै स्वीकार गरिसकेकाले उनीमाथि जातीय विभेद गरेको अभियोगमा अनुसन्धान चलाउन आयोगका सदस्य पुर्कुटीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
फागुन ३० गते शेरबहादुर श्रेष्ठले छिमेकी १३ वर्षका सरिता नेपालीलाई घरभित्र पसेर दही खाएको निहुँमा थाममा बाँधेर २१ घण्टासम्म यातना दिएका थिए ।
नेपालीका परिवार र जनप्रतिनिधिले बालिकालाई यातना नदिन आग्रह गर्दा पनि घर चोख्याउन रुद्री लगाउने खर्च नदिएसम्म नफुकाउने बताएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई गुहारेर दोस्रो दिन गुहारेपछि प्रहरी पुगेपछि बालिकालाई बाँधिएको डोरी फुकाईएको थियो ।
प्रहरीले पीडक श्रेष्ठलाई ६ दिनदेखि पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको छ । उनलाई शरीर बन्धक र अपहरणमा मुद्दा चलाइएको छ । प्रहरीले लिएको प्रारम्भिक बयानमा श्रेष्ठले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् ।