नेकपामा अध्यादेश विवाद, प्रचण्ड निवासमा ओलीविरोधी नेताहरुको बैठक
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले सत्तारुढ नेकपाको विवाद झन् चर्किएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भए लगत्तै कार्यकारी अध्यक्ष प्रचण्डले अध्यादेश खारेजीको माग गरेका छन् ।
अध्यादेश जारी भए लगत्तै प्रचण्डनिवास खुमलटारमा पाँच सचिवालय सदस्यसहित प्रचण्ड–माधव नेपाल पक्षका प्रभावशाली नेताहरुको बैठक बसिरहेको छ । अबको रणनीतिबारे छलफल गर्न प्रचण्डले आफू पक्षधर नेताहरुको आकस्मिक बैठक बोलाएका हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार तत्काल बदनीयतपूर्ण ढंगले ल्याइएको अध्यादेश खारेज गरी संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकको एक दिनअघि पार्टीको पहिलो बरीयताका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि विभाजन नजिक पुगेको नेकपामा विवाद थपिएको हो ।
प्रचण्ड–माधव नेपाल पक्षले अध्यादेश खारेजीको एजेण्डा बुधवारको बैठकमा लैजानेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे पार्टीलाई जानकारी नभएको बताए ।
अध्यादेश जारी भएलगत्तै प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुबीच अबको कदमका बारेमा समेत छलफल भएका छन् । स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्रीको निर्णयले मदन भण्डारीको अपमान भएकाे बताए ।
रावलले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र स्वेच्छाचारी भएको भन्दै अध्यादेशले पार्टीलाई थप संकटमा धकेलेको बताए । उनले भोलिका स्थायी कमिटी बैठकमा प्रधानमन्त्री उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने बताए ।
देशको माया गर्ने ,जनताको हित चाहने कुनै नेता छैनन। सबै कुर्सिका लागि बिदेशिको पाउ मोल्ने दलालहरुबाट अब केही हुने वाला छैन।
सबै जनता सवधान रहनु होला।।