एमालेमा उम्मेदवारको मापदण्ड- वडाध्यक्षको सिफारिस वडाबाटै, सचिवालयको विधिमा केही हेरफेर – Nepal Press

एमालेमा उम्मेदवारको मापदण्ड- वडाध्यक्षको सिफारिस वडाबाटै, सचिवालयको विधिमा केही हेरफेर

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवारको मापदण्डमा सामान्य हेरफेर गरेको छ । पोलिटब्यूरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने प्रस्ताव आएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

यसअघि सचिवालय बैठकले वडाध्यक्ष र सदस्यको सिफारिस पालिका कमिटीले गरेर जिल्ला कमिटीले निर्णय गर्ने भनेको अब वडाध्यक्ष र सदस्यका उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने प्रस्ताव भएको छ ।

वडा कमिटीले सिफारिस गर्ने र त्यसलाई पालिका कमिटीमार्फत जिल्ला कमिटीले निर्णय गर्ने गुरुङले बताए । त्यस्तै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको सिफारिस सम्बन्धित पालिका कमिटी हुँदै जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने प्रस्ताव छ । वडा र पालिका कमिटीहरूको अपनत्व कायम गर्न र सम्बन्धित निकायका पार्टी कमिटीको राय तथा सिफारिस नै जितको आधार हुने भएकाले केही प्रावधानमा थप गरिएको हो ।

महानगरपालिका र उपमहानगरपालिकका मेयर तथा उपमेयरको निर्णय भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रबाट हुनेछ । उम्मेदवारी निर्णय गर्दा हाल रहेका जनप्रतिनिधिलाई प्राथमिकता दिइने तर त्यसमा उनीहरूको कामको समीक्षा, विकासप्रतिको लगाब, लोकप्रियता र जित्न सक्ने आधारलाई हेरेर निर्णय हुने गुरुङले बताए ।

गुरुङले पार्टीका सबै केन्द्रीय सदस्य आ-आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णयसमेत भएको जानकारी दिए ।

बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर