मतपत्रको रंग र मनोनयनलाई बढी समय दिएकोबारे ओलीलाई आयोगको यस्तो जवाफ – Nepal Press

मतपत्रको रंग र मनोनयनलाई बढी समय दिएकोबारे ओलीलाई आयोगको यस्तो जवाफ

काठमाडौं । निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाइरहेको विषयमा मुख खोलेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त फिडब्याकअनुसार मतपत्रको रंग फेरिएको बताए ।

आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पौडेलले यसरी प्रष्टिकरण दिएका छन् :

‘हरेक निर्वाचनपछि आयोगले निर्वाचनको समीक्षा गर्छ । २०७४ देखि अहिलेसम्म विभिन्न खालका मतपत्रमा विभिन्न चिन्ह र रंग पनि फरक प्रयोग गरिएको छ । मतपत्रमा हरियो, निलो, रातो, कालो प्रयोग गरिएका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा सेतो मतपत्रमा निलो निर्वाचन चिन्ह र निलो नै स्वस्तिक छाप थियो । तर, विभिन्न सरोकारवालाबाट यस्तो मतपत्र हुँदा गणनामा अस्पष्टता भयो भन्ने फिडब्याक हामीले पायौं । मतदातालाई पनि आफ्नो मत ठिक ठाउँमा पर्यो कि परेन भन्ने अस्पष्टता हुने रहेछ । त्यसकै आधारमा विभिन्न प्राविधिकको समिति गठन गरेर प्राप्त सुझावका आधारमा सम्वोधन गरेर सेतो कागजमा हरियो रंगको चिन्ह र विवरण तथा निलो मसीको स्वस्तिक बनाउने निर्णय भएको हो । यसबाट कलर कन्ट्रास्ट भएर गणना मैत्री होस भन्ने मात्र हाम्रो अभिप्राय हो ।’

एमाले अध्यक्ष ओलीले स्थानीय चुनावमा मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि प्रश्न उठाएका थिए । त्यसबारे पौडेलको भनाइ यस्तो छ :

‘हाम्रो सबै पालिकामा ३०/३२ वटा वडा छन् । एउटा वडामा सात जनाले उम्मेदवारी दिनुहुन्छ । ७९ वटा दलले चुनावमा भाग लिनका लागि दर्ता गरेका छन् । एउटा पालिकामा कति उम्मेदवार हुन्छन् अनुमान गर्न सकिन्छ । ती उम्मेदवारको मनोनयन, चेकजाँच, रुजु दर्ता गर्नु पर्यो । समय लाग्छ । त्यसैले आफ्नो र उम्मेदवारी दिन चाहनेको सुविधाको हिसाबले यो निर्णय गरिएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर