जल दिवसमा राष्ट्रपतिको आग्रह: पानीको मुहान संरक्षणमा जुटौं – Nepal Press

जल दिवसमा राष्ट्रपतिको आग्रह: पानीको मुहान संरक्षणमा जुटौं

काठमाडौं । पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण जोगाउने सन्देश बाँड्दै आज विश्व ‘जल दिवस’ मनाइँदैछ । पानीका मुहान सुक्दै गएको र यसले मानवजीवनसँगै पर्यावरणमा पर्नसक्ने जोखिन न्यूनीकरण गर्न विश्व जल दिवस मनाइँदै आएको छ ।

समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ ।

जल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना सन्देश दिएकी छन् ।

राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ– पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ । भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संरक्षण गर्नुपर्दछ ।

जल दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर