रोहिङ्यामाथिको हिंसा म्यानमार सैनिकको सुनियोजित नरसंहार : अमेरिका
काठमाडौं । अमेरिकाले म्यानमार सैनिकले रोहिङ्या समुदायमाथि गरेको हिंसालाई सुनियोजित नरसंहारको संज्ञा दिएको छ ।
अमेरिकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्केनले सोमबार अमेरिकासँग म्यानमार सैनिकले रोहिङ्या समुदायमाथि गरेको अत्याचार, सामूहिक बलात्कार , हिंसालगायतका जघन्य अपराधको प्रमाण रहेको बताउँदै यस्तो दाबी गरेका हुन् ।
एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाचलगायतका संस्थाले तयार पारेको रिपोर्टको आधारमा म्यानमार सैनिकले गरेको हमलालाई सुनियोजित नरसंहारको रूपमा लिन सकिने ब्लिन्केनको भनाइ छ । उनले घटनाको सत्य तथ्य छानविनको लागि अमेरिकाले म्यानमारको स्वतन्त्र अनुसन्धान संयन्त्रलाई १ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा पनि गरे ।
म्यानमारको सैनिक प्रशासनले सन् २०१७ देखि रोहिङ्या समुदायमाथि गरिरहेको आक्रमणका कारण हजारौंको मृत्यु तथा विस्थापित भएका छन् । आक्रमणको पहिलो महिनामै ६ हजारभन्दा बढी व्यक्तिहरूको हत्या गरिएको थियो ।
रोहिङ्या म्यानमारको अल्पसंख्यक मुस्लिम समुदाय हो । तर, त्यहाँको सरकारले उक्त समुदायलाई नागरिकका रूपमा स्वीकारिसकेको छैन । सन् २०१४ को जनगणनामा उक्त समुदायलाई समावेश समेत गरिएन । आक्रमणपूर्व म्यानमारमा लगभग १० लाख रोहिङ्या रहेको तथ्यांकले देखाएको छ ।