एक मिनेटमै ८ हजार फिट तल खसेको थियो चिनियाँ विमान, यात्रुहरूको खोजी जारी
एजेन्सी । दक्षिणी चीनमा हिजो दुर्घटनाग्रस्त भएको विमानमा सवार यात्रुहरूबारे अझै यथार्थ विवरण आउन सकेको छैन । विमानले १३३ जना यात्रुहरू लिएर उडेको थियो । ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा दुर्घटना भएको हो ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडर २४ का अनुसार उक्त विमान १ मिनेटभन्दा पनि कम समयमा २९ हजार १ सय फिटको उचाइबाट ७ हजार ८ सय ५० फिट तल खसेको थियो । विमान पहाडमा धसिँदा आगलागीसमेत भएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना स्थलमा पुगेको उद्धार टोलीले हाल विमानमा सवार यात्रुहरूको खोजी गरिरहेको छ । बीबीसीले जानकारी गराए अनुसार हाल उद्धार टोलीले दुर्घटना स्थलबाट केही यात्रीहरूको पर्स, आईडी कार्डलगायतका सामाग्रीहरू फेला पारेको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुको यकिन तथ्यानंक हालसम्म सार्वजनिक गरिएको छैन । प्राप्त शवको पनि हालसम्म पहिचान हुन सकेको छैन ।
चीनमा हिजो भएको उक्त दुर्घटना एक दशक पछिको पहिलो विमान दुर्घटना हो । दुर्घटना पश्चात् चिनियाँ राष्ट्रपति सी जिङ पिङले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन् ।