डेभिड बेकह्यामले गरे युक्रेनी डाक्टरलाई आफ्नो इन्स्टाग्राम ह्याण्डल हस्तान्तरण !
एजेन्सी । इङ्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा युनिसेफका वर्तमान सद्भावना दूत डेभिड बेकह्यामले गत दुई दिनअघि आफ्नो इन्स्टाग्राम ह्यान्डल युक्रेनी एक डाक्टरलाई दिएका छन् ।
रुसी आक्रमणबाट ग्रस्त युक्रेनको अवस्थाका बारेमा जानकारी लिनका लागि उनले आफ्नो ह्यान्डल युक्रेनी डा. इरियानालाई हस्तान्तरण गरेका हुन् ।
रुसको निरन्तरको हमलाबाट क्षत–विक्षत भएको युक्रेनमा त्यहाँका डाक्टरहरूले के कस्तो किसिमका चुनौती व्यहोर्दै आफ्नो सेवा दिइरहेका छन् भन्ने कुरालाई विश्वसामु पुर्याउने हेतुका साथ आफूले ह्यान्डल डाक्टरलाई दिएको उनले बताए ।
डा. इरियाना युक्रेनको खार्किव सहरको एक बाल अस्पतालकी प्रमुख हुन् । इरियनाले आइतबार ब्याक्यामको इन्स्टाग्राम ह्यान्डल मार्फत एक स्टोरी सेयर गर्दै उनी र उनका सहकर्मीले कस्ता किसिमका चुनौती सामना गर्नु परिरहेको छ भन्ने बताएकी थिइन् ।
‘हामीले अहिले आफ्नो ज्यानको नै जोखिम मोलेर दिन को २४ घण्टा नै काम गरिरहेका छौँ । हामीलाई हाम्रो कामको माया लाग्छ’, उनले भनिन ‘युद्धको पहिलो दिनमानै हामीले सुत्केरी र गर्भवती महिलाहरूलाई बेसमेन्टमा सार्न बाध्य भएका थियौ त्यो हामीले संयुक्तरुपमा बिताएको सबैभन्दा कष्टकर समय थियो । दुर्भाग्यवश हामीले इन्टेन्सिभ केयरको आवश्यकता परेका शिशुहरूलाई बेसमेन्टमा लान सकेनौ’ नवजात शिशु हरुको तस्बिर सेयर गर्दै उनले लेखिकी थिइन् ।
यस्तै तर्को क्लिपमा उनले एक सुत्केरी महिला र उनका नवजात शिशुको तस्बिर सेयर गर्दै ती नवजात शिशुलाई श्वासप्रश्वासको समस्या रहेको जानकारी गराएकी थिइन् ।
उक्त स्टोरीहरूपछि डेभिड बेकह्यामले युक्रेनका पीडित बालबालिकाको सहयोगार्थ युनिसेफ मार्फत दान गर्नको लागि अपिल समेत गरेका छन् ।