जुवातासकाे खालमा बस्ने पुरुषहरु नै गाउँ विकासमा जुटेपछि
म्याग्दी । म्यग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् ।
जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको र श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका स्थानीय सीता छन्त्यालले बताइन् । पछिल्लो समय सामाजिक सद्भाव र शान्ति कायममा समेत मद्दत पुगेको उनको भनाइ छ ।
समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ । विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक आठ/दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए पनि अहिले धेरैले बुझेका र समाजिक सुधारमा सहयोग गरीरहेका उनले बताए । जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका र घरायसी झगडा र विवाद समेत घटेको वडाअध्यक्ष छन्त्यालले बताए ।
महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताइन् । आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उनको भनाइ छ । यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको सङ्ख्या अत्यधिक थियो । हाल फुर्सद भएका सबैले काम गर्छन् । खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन् ।
विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको इन्द्रबहादुर छन्त्यालले बताए । ज्येष्ठ नागरिक र विद्यालय जाने बालबालिकाबाहेक सबै काममा हिँड्ने गरेको उनले बताए । दुई वर्ष पहिला दुई करोडभन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा एक लाखभन्दा बढी भित्रिएको थियो । स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर समेत मिलेको उनको भनाइ छ ।
भौगोलिकरूपमा विकट गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुटो, कोदालो, बाउसो, बेल्चालगायत उपकरण प्रयोग गरी दुई किलोमिटर सडक खनेका थिए । गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई झोलुङ्गे पुलसहित ११ योजना सम्पन्न हुँदै छन् । ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र रु ६ लाखको मलामी आश्रयस्थलको काम सकिएको छ । अन्य योजना कार्यान्वयनका क्रममा छन् ।