स्थानीय चुनाव : रुपन्देहीमा राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता – Nepal Press

स्थानीय चुनाव : रुपन्देहीमा राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता

रुपन्देही । रुपन्देहीमा स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता पाएकाबाहेक ३२ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगले केन्द्रीय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरूलाई स्थानीय तहको निर्वाचनका लागि जिल्लास्तरको संगठनात्मक संरचनाको विवरण बुझाउन आइतबारसम्मको म्याद दिएको थियो ।

राष्ट्रिय दलको मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी रुपन्देहीमा सक्रिय छन् ।

राष्ट्रिय दलको मान्यता नपाएका जनमत पार्टी, मंगोल नेशनल अर्गानाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टीले दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस(वी.पि.), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन पनि दर्ता भएका छन् ।

यो सँगै रुपन्देहीमा ३८ दलले दलगत रुपमा चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् ।

रुपन्देहीमा चुनावको तयारी

रुपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता छन् ।

मतदाता नामावलीको दाबी विरोधमा केही संख्या घट्नसक्ने निर्वाचन कार्यालयले जनाएको छ । दाबी विरोधपछि चैत्र १३ गते अन्तिम मतादाता नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

३० वैशाखमा हुने हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदानस्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।

‘यसअघिको प्रदेश एवम प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थलमा ६१० वटा मतदान केन्द्र रहेको थिए । अहिले मतदाताको संख्या बढेकोले मतदान केन्द्र थप्नु परेको हो ’, भण्डारीले भने । साथै प्रत्येक पालिकामा सबै निर्वाचन अधिकृतहरु बस्नका लागि कनेक्टिभिटी लगायतका काम सकिएको भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर