तिनाउमा पनि तात्यो चुनावी माहोल, अध्यक्षका लागि कुन दलबाट क-कसको दाबी ? – Nepal Press
स्थानीय चुनाव

तिनाउमा पनि तात्यो चुनावी माहोल, अध्यक्षका लागि कुन दलबाट क-कसको दाबी ?

रुपन्देही । दुई संघीय र चार प्रदेश चुनावी क्षेत्र रहेको पाल्पामा १० वटा स्थानीय तह छन् । तीमध्ये तानसेन र रामपुर दुईवटा नगरपालिका हुन् । आठ वटा गाउँपालिका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पाल्पाका दुई नगरपालिकामध्ये तानसेन नेकपा एमालेले र रामपुर नेपाली कांग्रेसले जितेको थियो । तिनाउ, निस्दी, पूर्वखोला र रम्भामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित चुनाव जितेको थियो । त्यसैगरी बगनासकाली गाउँपालिकामा उपाध्यक्षलाई एमालेले जिताएको थियो ।

त्यसैगरी रैनादेवी छहारा र माथागढी गाउँपालिकामा नेपाली कांग्रेस, अध्यक्ष र उपाध्यक्षसहित भारी मतले विजयी भएको थियो । बगनासकाली गाउँपालिकामा काङ्ग्रेसले अध्यक्ष जितेको थियो ।

२०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको परिणाम कस्तो आउला भन्ने विषयमा राजनीतिक पार्टीहरुका आआफ्ना तर्क छन् । गठबन्धन वा एक्लाएक्लै चुनाव हुँदा पार्टीहरुको अवस्था के हुन्छ ? यसैमा आफ्ना जोडघटाउ चल्दैछ ।

नेकपा एमाले विभाजनका कारण नेपाली कांग्रेस आनन्दका साथ पाल्पामा आफ्नो बहुमत आउनसक्ने अड्कलका साथ घरघरमा नेताहरु पुग्दैछन् । नेकपा माओवादी र एकीकृत समाजवादी गठबन्धनको पर्खाइमा छन् ।

पूर्वी पाल्पाको निस्दी, पूर्वखोला र रम्भा गाउँपालिका नेकपा एमालेले सबै दलहरु एकातिर लागे पनि भारी मतका साथ जित्ने जिल्लास्तरीय एवम् सम्बन्धित पालिकाका नेताहरुले बताउँछन् । उनीहरुले आफ्नो पालिकालाई पुनः विपक्षीविहीन बनाउने तरिकाले प्रचार अभियानलाई तीव्रता दिएको बताए ।

जिल्ला सदरमुकाम तानसेन नगरपालिकामा धेरैको चासो छ । मेयरमा कुन पार्टीका को उठ्छन् र उनको व्यक्तित्वले प्रभाव पार्ने बताउँदैछन् । एमालेको गढ भनेर चिनिने मदनपोखरा र दमकडाले तानसेन नगरपालिकाको चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । एमाले नेताहरुले तानसेनको आफ्नो बिरासत कुनै हालतमा नगुम्ने बताएका छन् । त्यसका लागि नेकपा एमालेको नगर कमिटी दिनरात खटिएको छ । काङ्ग्रेस र माओवादी केन्द्रले आफ्नो चुनावी गतिलाई अघि बढाउन थाले पनि गठबन्धनका लागि उनीहरु अल्मलिएका देखिन्छन् ।

धेरैको चासो तिनाउमा देखिन्छ । तिनाउ राजनीतिक रुपमा तरल क्षेत्र हो । बुटवल, देवदह र सैनामैनासँग जोडिएको तिनाउलाई दक्षिणी चुनावी हावाले धेरै प्रभाव पार्दछ । तिनाउ साधन,स्रोतले भरिपूर्ण भएको र लुम्बिनी प्रदेशको मुकाम बुटवलसँगै जोडिएकोले समेत धेरैको ध्यान खिचेको देखिन्छ ।

गत स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा थिए । माओवादी केन्द्रले आफ्नो शक्तिलाई पहिलाको तुलनामा सशक्त बनाएको दाबी गरेको छ भने नेपाली कांग्रेसले कम्युनिस्टहरु विभाजन भएको हुँदा एक्लै चुनाव लड्न कुनै समस्या नभएको बताउँदैछ । नेकपा एमाले भने आफ्नो स्थानीय सरकारले पाँच वर्षको दौरानामा गरेका विकास निर्माण र सांगठनिक सृदृढीकरणले चुनाव जित्नसक्ने तर्क पेश गर्दैछ ।

यहाँ कुनै दललाई कोहीसँग मिल्नु पर्ने अवस्था देखिँदैन । त्यस कारणले पनि स्थानीय तहमा हुनसक्ने गठबन्धलाई कुनै दलले स्वीकार्न आवश्यक देखेका छैनन् । सय–पचासको अन्तरले चुनावमा तलमाथि पर्ने स्थानीय राजनीति पार्टीका नेताहरु बताउँदैछन् ।

तिनाउमा २०७४ को स्थानीय निर्वाचनमा उपविजेता बनेका अधिवक्ता महेन्द्रप्रसाद पाण्डेय यतिबेला नेपाली काङ्ग्रेसको मूल क्याम्प फेरेका कारण गाउँपालिकाको टिकटबाट बञ्चित हुनसक्ने उनकै नेताहरुको भनाइ छ । वर्तमान नेपाली काङ्ग्रेस गाउँ समितिका सभापति एवम् देउवा समूहका प्रेमप्रसाद पाण्डेय चुनावी मोर्चामा आफूलाई एकल उम्मेदवार ठानेका छन् । हुन त नेपाली काङ्ग्रेस तिनाउमा पुराना नेता दमबहादुर कार्की, पदमलाल शाक्यले इच्छा प्रकट नगरेका होइनन् ।

माओवादी केन्द्रमा राजेश श्रेष्ठको नाम आएपनि पहिलाजस्तै उनलाई हटाएर केन्द्रीय निर्वाचन आयोगका सदस्य चक्रव्यूह थापा पालिका अध्यक्षमा आउनसक्ने आंकलन स्थानीय नेताहरुको छ । उनी वौद्धिक एवम् तार्किक नेताका रुपमा चिनिन्छन् । कांग्रेस र माओवादीको गठबन्धन भएमा माओवादीका केन्द्रीय सल्लाहकार अमर प्रधान पालिका अध्यक्ष उम्मेदवार बन्ने दाउमा छन् । उनले नारायणकाजी श्रेष्ठमार्फत लबिङ गर्दै आएको उनी निकट नेताहरुको भनाइ छ ।

एमालेमा भने पुरानै अध्यक्ष ओमबहादुर घर्तीमगर दोहोरिने सम्भावना रहे पनि उनी आफू प्रदेशमा जानका लागि केन्द्रीय नेताहरुसँग पहुँच पुर्याउँदैछन् । जिल्ला सचिवालय सदस्य तथा स्कूल विभाग प्रमुखका रुपमा रहेका दलबहादुर गुरुङ र युवा नेता तथा गाउँ पार्टी अध्यक्ष प्रेम श्रेष्ठ प्रमुख दाबेदारको रुपमा अगाडि आएका छन् । उनीहरुमध्ये दलबहादुरले अघिल्लो चुनावमा ओमबहादुरलाई सहयोग गरेको कारण उनलाई केन्द्रीय, प्रदेश तथा जिल्ला नेताहरुका आशीर्वाद रहनसक्ने छ । पार्टीमा केन्द्रीय पहुँच भएको र समन्वयकारी नेताका रुपमा उनले आफ्नो परिचय बनाएका छन् ।

प्रेम श्रेष्ठलाई स्थानीय पार्टी र कार्यकर्ताहरुको विशेष जोड र चुनावमा पार्टीलाई विजयी बनाउनसक्ने खुवी भएको युवा नेताका रुपमा हेरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर