विप्लवका सांस्कृतिक नेता भन्छन्- सलमान खानको कार्यक्रम हुन दिइन्नँ, मन्त्रीले राष्ट्रिय बेइज्जत गरे – Nepal Press

विप्लवका सांस्कृतिक नेता भन्छन्- सलमान खानको कार्यक्रम हुन दिइन्नँ, मन्त्रीले राष्ट्रिय बेइज्जत गरे

काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई नेपालमा ल्याउने दोस्रो प्रयाससँगै यसबारे विभिन्न टिका-टिप्पणीहरु सुरू भएका छन् । धेरैलाई विप्लव नेतृत्वको नेकपाले यसपालि के गर्ला भन्ने चासो छ ।

यसअघि २०७४ सालमा सलमानलाई ‘दबंग टूर’ का लागि नेपाल ल्याउने पहिलो प्रयास भएको थियो । तर, विप्लव समूहको थ्रेटका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरियो । अहिले विप्लवको पार्टी नेकपा हिंसाको राजनीति त्यागेर मुलधारमा आएको छ । के यस पार्टीले सलमानको टूर रोक्न कुनै कदम चाल्छ ?

विप्लव नेकपाको जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले सामाजिक सञ्जालमा आज थोरै संकेत गरेका छन् । ‘भारतीय सांस्कृतिक साम्राज्यवादविरुद्ध फेरि पनि एकपटक लडाइँ लड्नुपर्ने भएको’ उनको चेतावनी छ ।

फेसबुकमा थपलियाले लेखेका छन्, ‘कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’

नेपाल प्रेससँग थप कुराकानी गर्दै उनले सलमानको कार्यक्रम हुन नदिइने दाबी गरे । यो कार्यक्रमलाई नेपालमाथिको सांस्कृतिक हमलाका रूपमा व्याख्या गर्दै उनले पार्टी चुप नबस्ने प्रतिक्रिया दिए ।

थपलिया भन्छन्, ‘सलमान खान लोकप्रिय कलाकार हुँदाहुँदै पनि यो कार्यक्रम नेपाली कला-संस्कृतिविरुद्धको अतिक्रमण हो । भारतीय कलाकार नै सर्वश्रेष्ठ छन् भन्ने सन्देश दिने किसिमले कार्यक्रमको ढाँचा निर्माण गरिएको छ । यसको विरुद्धमा हामी उत्रिन्छौं ।’

अमेरिकाका डोनाल्ड ट्रम्पले ‘अमेरिकन फर्स्ट’ भनेजस्तै भारतका नरेन्द्र मोदीले ‘भारत सर्वश्रेष्ठ’ भनेर कमजोर राष्ट्रविरुद्ध प्रभूत्व लाद्न खोजेको उनले बताए । दबंग टूर यही अवधारणाको उपज भएको उनको भनाइ छ ।

‘यो सामाजिक, सांस्कृतिक, आर्थिक कुनै दृष्टिले नेपालको हितमा छैन । राष्ट्रियताको दृष्टिले लज्जास्पद छ । यस्तो कार्यक्रमको विरुद्धमा फ्रन्टलाइनमा उभिएर लडिन्छ,’ उनले भने ।

यस विषयमा पार्टीमित्र र जनसांस्कृतिक महासंघमा छलफल हुने पनि थपलियाले जानकारी दिए ।

‘अहिले जारी केन्द्रीय समिति बैठकमा छलफल होला । सांस्कृतिक महासंघको वैठक राखेर पनि छलफल गरिन्छ । सरकार र अन्य राजनीतिक दलसँग पनि आवश्यक पहल गर्नेछौं,’ उनले भने ।

उनलाई सोधियो, ‘विगतमा भूमिगत राजनीति गर्दा तपाईंहरूसँग सबै डराउँथे, अब त्यस्तो अवस्था छैन । के तपाईंहरूले भन्दैमा कार्यक्रम रोकिएला ?’

थपलियाले जवाफ दिए, ‘अहिले खुलारूपमा हुँदा झन् हामीलाई विरोध गर्न सजिलो हुन्छ । हामी सबै खाले मोर्चाबाट यो कार्यक्रम रोक्न दबाब दिनेछौं ।’

यदि कार्यक्रम गर्ने भए यसको मोडालिटी पूरै बदल्नुपर्ने उनको भनाइ छ ।

‘भारतीय कलाकार आउने, अनि यहाँबाट नेपालीको पैसा सोहोरेर लैजाने कुरा ठिक छैन । यदि नेपाली कलाकारहरु नै राखेर कार्यक्रम गरिएको भए विरोध हुन्थेन । विदेशी कलाकार आएर नाच्ने, अनि हाम्रा भाइबहिनी, छोराछोरीलाई रक्सीको बोतल छापेको टिशर्ट लगाएर मातृभूमिको छातिमाथि उफार्न त कहाँ दिन्छौं र ? उनले भने ।

मन्त्रीले राष्ट्रिय बेइज्जत गरेको आरोप

पर्यटनमन्त्री प्रेम आलेले भारतीय अभिनेता सलमान खानसँग गरेको भर्चुअल संवादको पनि थपलियाले आलोचना गरे । विदेशी हिरोको पोस्टर पछाडि राखेर चाकडी शैलीमा कुरा गर्नुले देशकै बेइज्जत भएको उनको टिप्पणी छ ।

उनले भने, ‘मन्त्रीको प्रस्तुतिले राष्ट्रिय बेइज्जत भएको छ । मन्त्रालयको एउटा अफिसरलाई कुरा गर्न लगाएको भए भइहाल्थ्यो । उहाँले पदीय मर्यादा बिर्सिएर अस्वभाविक तवरले प्रस्तुत हुनुभयो ।’

अघिल्लोपटक के भएको थियो ?

भारतीय अभिनेता सलमान खान ‘द दबंग टूर’ का लागि ११० जनाको दलबलसहित २०७४ सालमा नेपाल आउन लागेका थिए । सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पलसहितको टोलीले २०७४, फागुन २६ गते दशरथ रंगशालामा प्रस्तुति दिने कार्यक्रम थियो ।

तर, विप्लव माओवादीको विरोधपछि कार्यक्रम विथोलियो । सुरक्षा थ्रेट देखाउँदै सलमानले कार्यक्रममा नआउने सन्देश पठाए । आयोजक ओडीसी इन्टरनेटमेन्टले ५ हजार टिकट बेचिसकेको र सलमानको टिमलाई ५ करोड रूपैयाँ अग्रिम भुक्तानी गरिसकेपश्चात कार्यक्रम स्थगित गरेको थियो । स्थगनपछि दुईपटक मिति सरे पनि कार्यक्रम हुन सकेन । त्यसबेला ओडीसीले १० करोड रुपैयाँ घाटा व्यहोरेको बताइएको छ ।

अहिले पनि ओडीसी इन्टरटेनमेन्टले नै कार्यक्रम गर्न लागेको हो । आउँदो जेठ १६ गते दशरथ रंगशालामा नै सलमानको कन्सर्ट राखिएको छ । कन्सर्टका लागि ५ हजारदेखि २५ हजार रूपैयाँको चर्को टिकट मूल्य तोकिएको छ । यसै कार्यक्रमको सन्दर्भमा हिजो पर्यटनमन्त्री आलेले सलमानसँग भर्चुअल संवाद गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर