एमाले बैठक- यस्ता छन् उम्मेदवार सिफारिस मापदण्ड र छुटपुट कार्यविभाजन
काठमाडौं । नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको ६ बुँदे मापदण्डसहित चैत मसान्तभित्र आ आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।
केन्द्रीय कमिटीको विहीबार सम्पन्न बैठकले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम माथिल्लो कमिटीमा लैजान र माथिल्लो कमिटीले आवश्यकता अनुसार निर्णय गर्ने बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
वडा अध्यक्षको सिफारिस वडा कमिटीले र पालिका प्रमुख उपप्रमुखको सिफारिस पालिका कमिटी तथा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले गर्ने मापदण्ड तय भएको छ । त्यस्तै महानगर र उपमहानगरका प्रमुख उपप्रमुखको सिफारिस जिल्ला र प्रदेशले गरेपछि केन्द्रबाट निर्णय हुने बताइएको छ ।
एमालेले उम्मेदवारका लागि ६ बुँदे मापदण्डसमेत पारित गरेको छ ।
ती यस प्रकार छन्- पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने ।
बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको ढोका बन्द नभए पनि त्यो स्थानीय आवश्यकता अनुसार हुने तर राष्ट्रिय नीति नहुने रिजालले बताए ।
एमाले एक्लै चुनाव जित्न सक्षम रहेकाले तालमेलको बारेमा केन्द्रीय कमिटी बैठकले कुनै निर्णय नगरेको उनले जानकारी दिए ।
बैठकले रिटर्नी फेडरेशनको इन्चार्जमा सूर्य पाठक, उद्योग व्यवसायी महासंघको इन्चार्जमा भानुभक्त ढकाल र मोरङ जिल्ला सहइन्चार्जमा रामलाल साहलाई जिम्मेवारी दिएको छ ।