स्थानीय चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा – Nepal Press

स्थानीय चुनावमा भाग लिने विप्लवको प्रस्ताव अल्पमतमा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेताले धारणा राख्ने क्रम सकिएको छ । बिहीबार साँझसम्म ६८ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकार गरी ७२ जनाले नै महासचिव विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राखेका छन् ।

स्थानीय तहको निर्वाचनमा सहभागी हुने पार्टी महासचिव विप्लवको राजनीतिक प्रतिवेदन अल्पमतमा परेको छ । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जनाले चुनाव बहिस्कारको पक्षमा धारणा राखेका छन् । त्यस्तै, चारै जना सल्लाहकारले पनि अहिले चुनाव उपयोग गर्न क्रान्तिकारीको लागि वस्तुगत र आत्मगत दुबै अवस्था नभएको भन्दै बहिस्कार गरेर जाने निर्णय धारणा राखेको एक केन्द्रीय सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

चुनाव सहभागी हुने विप्लवको प्रस्तावको पक्षमा २४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् भने चार जनाले कतै मत राखेनन् । बिहीबार चारजना केन्द्रीय सदस्य र चारजना सल्लाहकारले आफ्ना धारणा राखेका थिए । चारजना केन्द्रीय सदस्यमध्ये इन्द्रजीत पुन ‘उभार’ चुनावको पक्षमा धारणा राखेका थिए भने धिरिन्द्रा उपाध्याय, तिर्थ राईलगायतले चुनाव बहिस्कारको पक्षमा मत राखेका थिए । त्यसैगरी सल्लाहकार समिति अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’, सचिव चित्रबहादुर आले, शंकर खड्का र दिर्घ पाण्डेले चुनाव बहिस्कारको पक्षमा धारणा राखेको स्रोतले बतायो ।

दुबै पक्षमा मत नराख्ने चारजनाले उनीहरुले जता जाँदा पनि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिएका थिए । फरक मत वा दुई लाइनसहित चुनाव उपयोग र बहिस्कार दुबै प्रभावकारी नहुने धारणा राखेको बताइएको छ ।

चुनाव उपयोगको प्रस्ताव अल्पमतमा परिसकेको बताउँदै महासचिवले उक्त प्रस्ताव फिर्ता लिएर बहिस्कारको कार्यक्रम बनाउनु पर्ने एक केन्द्रीय सदस्यले नेपाल प्रेससँग बताए । उनले महासचिवको प्रस्ताव परिमार्जन भएर आउनेमा विश्वास व्यक्त गरेका छन् । अल्पमतले बहुमतको कदर नगरे पार्टी विभाजन हुनेसमेत उनले चेतावनी दिएका छन् ।

महासचिव विप्लवले भोलि धारणा राख्ने बताइएको छ । त्योभन्दा पहिले सचिवालय बैठक बस्न लागेको छ । सचिवालय बैठकमा एकमत बनाउने प्रयास गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर