वाणगंगाको मेयरका लागि नेताहरुले बढाए दौडधुप, को-को छन् मैदानमा ? – Nepal Press

वाणगंगाको मेयरका लागि नेताहरुले बढाए दौडधुप, को-को छन् मैदानमा ?

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले दौडधुप बढाएका छन् ।

जिल्लाको सबैभन्दा सम्पन्न मानिने वाणगंगाको मेयर बन्न दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबाट धेरै आकांक्षी देखिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारीमै खटपट भएका कारण अधिकांश वडा तथा उपमेयर जित्दा पनि मेयर गुमाएको नेकपा एमालेले अब कसलाई उठाउँछ भन्ने धेरैको चासो छ ।

११ वटा वडा रहेको यस नगरमा विगतमा मेयरसहित दुई वडामा विजय हासिल गरेको कांग्रेसमा यसपालि मेयरका लागि वर्तमान मेयर मंगलप्रसाद थारु, कांग्रेसका लोकप्रिय मानिएका नेता ध्रुव नेपाल, वडाअध्यक्ष गणेश क्षेत्री, कांग्रेस नगर अध्यक्ष विष्णु थापा, पुराना कांग्रेस नेता विष्णु न्यौपाने र उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका डोलकराम घिमिरे मुख्य आकांक्षीका रुपमा मैदानमा आएका छन् ।

आकांक्षी धेरै भए पनि थारु र नेपालको सम्भावना बढी भएको स्थानीय नेताहरु बताउँछन् ।

थारु कांग्रेसको संस्थापन समूहका नेता हुन् भने नेपाल संस्थापन इतर समूहका प्रभावशाली नेता हुन् । पार्टीका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसंग निकट रहेका उनी पार्टीमा इमान्दार नेताको पहिचान बनाएका छन् ।

एमालेबाट निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोखरेल, अहिलेका उपमेयर चक्र अर्याल तथा प्रदेश कमिटी सदस्य कृष्ण पौडेल चुनावी मैदानमा छन् । यहाँबाट पोखरेल र अर्यालमध्ये एक जनाले मेयर पाउनसक्ने एमाले नेता बसन्तराज खनालले बताए ।

जिल्ला पार्टीको नेतृत्वमा राम्रो काम गरेकाले जिल्लाको मुख्य पालिकामा पोखरेललाई अगाडि सार्नुपर्ने उनीनिकट नेताहरुले दाबी गरेका छन् भने उपपेयर अर्यालले राम्रो काम गरेको र अघिल्लोपटक पनि मेयरमा नाम आए पनि उपमेयरमा बसेर काम गरेकाले उनैलाई अवसर दिनुपर्ने उनलाई अगाडि सार्ने नेताहरुको तर्क छ ।

अघिल्लोपटक एमालेबाट मेयरमा विमला घिमिरे र उपमेयरमा चक्र अर्याललाई उम्मेदवार बनेका थिए । घिमिरे पराजित भएपनि अर्याल विजयी भएका थिए । यो पालिकामा यी दुई पार्टीबाहेक अरु पार्टीले वडा तहमा पनि जित्नसक्ने आधार नभएको स्थानीय पुस्कर आचार्य बताउँछन् ।

पहिले माओवादीको पनि संगठन राम्रै भए पनि अहिले धेरै कमजोर भएको छ । जसपा, नेकपा एकीकृत, जनमोर्चा चौथो शक्तिको लागि लड्नुपर्ने अवस्थामा छन् । कांग्रेसबाहेकका अन्य दलले गठबन्धनको आश गरेर बसेका छन् । माओवादीबाट अघिल्लोपटक उपमेयरमा उम्मेदवार बनाएका चोपनारायण बेल्वासेलाई अगाडि सर्ने तयारी छ ।

कांग्रेस नेता दीपकुमार उपाध्याय, माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेव, एमाले नेता विष्णु पन्थी, बलाराम अधिकारी, विमला घिमिरेको क्षेत्र भएकाले पनि यहाँको नेतृत्वका लागि तीनै दलको विशेष चासो रहेको छ ।

अघिल्लोपटक कांग्रेसका मंगल थारुले १५ हजार ७३८ मत ल्याउँदा एमालेका विमला घिमिरेले १५ हजार २७८ ल्याएकी थिइन् । त्यतिबेला जनमोर्चाले ४०४ मत ल्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर