तालमेलबारे कार्य समिति बैठकमा महरले भने- भुईँको टिप्न खोज्दा खल्तिका कांग्रेस नझरुन् – Nepal Press

तालमेलबारे कार्य समिति बैठकमा महरले भने- भुईँको टिप्न खोज्दा खल्तिका कांग्रेस नझरुन्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको घोषणापत्रमा शिक्षा र स्वास्थ्य जनताले निःशुल्क पाउनुपर्ने एजेन्डा समावेश गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा उनले संविधानमा उल्लेख भएअनुसार जनताले स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार लगायतका विषय समावेश हुनुपर्ने बताए ।

स्थानीय तह निर्वाचनका लागि वार्ड पालिका स्तरबाट नै घोषणापत्र बनाउन पनि उनले सुझाव दिएका छन् ।

उनले संसदीय समिति न्यायसङ्गत गठन हुनुपर्ने र टिकट वितरण गर्दा आफ्नो खल्तीका व्यक्तिभन्दा पनि समावेशी र पार्टीलाई योगदान दिएको व्यक्तिहरू छनौट गर्नुपर्ने बताए ।

कांग्रेसको चुनावी अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको आफूले महसुस गर्दै उनले भने, ‘घर घर जाऔँ कांग्रेस जिताऔँ अभियानले साँच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।’

कांग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनको धारणा छ ।

उनले कांग्रेसलाई शक्तिशाली बनाउन स्थानीय स्तरदेखि नै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाई छ ।

उनले पार्टीका सबै नेताहरूको सहमतिमा अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन् ।

चुनावमा गठबन्धन बनाउँदा आफ्नाहरू रिसाएर ‘भुईँको टिप्दा खल्तीको फुत्किने’ अवस्था सिर्जना नहोस् भन्दै सचेत पनि गराएका छन् ।

उनले गठबन्धन गर्नुपर्ने अवस्था भएमा गठबन्धनभित्रका पाँच दलहरूसँग मात्रै गर्नुपर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर