टिकापुर : विरासत जोगाउने एमालेको दाउ, बलियो अवस्थामा रेसम चौधरीको पार्टी – Nepal Press

टिकापुर : विरासत जोगाउने एमालेको दाउ, बलियो अवस्थामा रेसम चौधरीको पार्टी

कैलाली । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै अहिले स्थानी तहमा उम्मेदवारहरूको चर्चा सुरु भएको छ । कैलालीको पुरानो सहर टिकापुरमा पनि अहिले मेयरका आकाङ्क्षीहरू टिकटका लागि दौडधुपमा लागिरहेका छन् ।

यहाँ एमाले , काँग्रेस , माओवादी र एकीकृत समाजवादीसँगै निलम्बित प्रतिनिधि सभा सदस्य रेसम चौधरीको नागरिक उन्मुक्ति पार्टी पनि बलियो अवस्थामा देखिएको छ । रेसम चौधरीकी श्रीमती श्रेष्ठ रन्जिता उक्त पार्टीकी अध्यक्ष हुन् । अहिले सम्म उक्त पार्टीबाट वडा नम्बर ७ का अध्यक्ष राम लाल चौधरीको चर्चा छ । उनी २०७४ सालको स्थानीय तहका माओवादीबाट निर्वाचित भएर पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् ।

उनीसँगै टिकापुर वडा नम्बर ३, ४ र ५ वाट निर्वाचित वडाध्यक्षहरू पनि नागरिक उन्मुक्ति पार्टीमा छन् । निर्वाचित मात्रै होइन वडा नम्बर २ बाट माओवादीबाट पराजित भएका वडाध्यक्ष पनि उक्त पार्टीमा छन् । ९ वडा रहेको यहाँ निर्वाचित ३ वडाध्यक्ष रेसम चौधरीको पार्टीमा छन् । रेसम चौधरी प्रतिनिधि सभामा समेत भारी मतले विजयी भएका थिए । उक्त प्रतिनिधि सभा क्षेत्र अन्तर्गत नै रहेको टीकापुर नगरपालिकामा पनि मुख्य दललाई नागरिक उन्मुक्ति पार्टीले चुनौती दिने विश्लेषण गरिएको छ ।

विरासत जोगाउने एमालेको दाउ

यस अघि टिकापुर नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार तपेन्द्र रावलले जितेका थिए । उनले माओवादीका उम्मेदवार शिव थापालाई हराएका थिए । अहिले पुन अरूलाई हराएर एमालेले जित्ने रणनीति बनाएको छ । अहिले टीकापुरमा मेयरमा रावल सहित अन्य दुई जनाको पनि नाम चर्चामा छ ।

जिल्ला सचिवालय सदस्य श्याम खत्री र प्रदेश कमिटी सदस्य मातृका तिमिल्सेना पनि मेयरको दौडमा छन् । खत्री यस अघिको निर्वाचनमा पनि चर्चामा रहेका थिए । तिमिल्सेना भने पहिलो पटक मेयरमा दाबी गरेका हुन् । दुई दशक भन्दा बढी समय देखी पत्रकारितामा रहेका उनी टीकापुरमा लोकप्रिय मानिन्छन् ।

चौथोबाट पहिलो हुने दाउमा काग्रेस

स्थानीय तहको निर्वाचनमा मेयरको मत अनुसार टीकापुरमा नेपाली काँग्रेस चौथो शक्ति हो । मेयरमा पहिलो एमाले भए पनि दोस्रोमा माओवादी, तेस्रोमा फोरम र चौथोमा काँग्रेस भएको थियो । ९ वडा मध्ये कुनै पनि वडामा काँग्रेसले जित्न सकेन । प्रमुखमा एमाले विजयी भए पनि उपप्रमुखमा काँग्रेस उम्मेदवार केशरी विष्ट रावल उपप्रमुखमा विजयी भएकी थिइन् । अहिले उनै उपप्रमुखको मेयरमा चर्चा चुलिएको छ । उनी बाहेक काँग्रेसबाट नवराज रावल,राजकुमार हमाल र भुवनेश्वर अधिकारीको नाम पनि चर्चामा छ ।

यी हुन् माओवादीका आकांक्षी

गत स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवार शिव थापा झिनो मतान्तरले पराजित भएका थिए । टीकापुरमा प्रमुखमा पहिलो देखी चौथो सम्मको मतान्तर करिब १ हजार मात्रै रहेको थियो । अघिल्लो पटक उपविजेतामा सीमित भएको माओवादी सय पटक भने विजेता बन्ने दाउमा छ । झिनो मतान्तरले पराजित भएका थापा पुन मेयरमा उठ्ने चर्चा छ । उनी बाहेक माओवादीबाट नगर अध्यक्ष खडक शाह र बालकृष्ण थारु ‘विकास’को पनि चर्चा छ ।

तालमेलमा समाजवादीको आसा

एकीकृत समाजवादीमा भने तालमेल हुन सक्ने भन्दै धेरैको नाम चर्चामा छैन । अहिले सम्म समाजवादीबाट भैरव रावलको नाम चर्चामा छ । उनी समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष पनि हुन् ।

चार दलमा तीव्र प्रतिस्पर्धा

२०७४ सालको मत परिणाम अनुसार टीकापुर नगरपालिको प्रमुखमा एमालेका तपेन्द्र रावल, माओवादीका शिव थापा, फोरमका लौटन चौधरी काँग्रेसबाट जङ्गबहादुर साउद चौथो भएका थिए । पहिलो र चौथो बिच एक हजारको मात्रै फरक रहेको थियो । अहिले पनि यी दलहरू बिच तीव्र प्रतिस्पर्धा रहने आकलन गरिएको छ ।

उता माओवादीबाट पनि ठुलो सङ्ख्यामा एमाले प्रवेश गरेका छन् । ५२ हजार मतदाता रहेको नगरमा १ नम्बर वडामा मात्रै २२ हजार मतदाता रहेका छन् । यस वडामा गत निर्वाचनमा एमाले विजयी भएको थियो । यहाँ काँग्रेस र एमालेको प्रतिस्पर्धा छ । एमालेबाट निर्वाचित एक नम्बर वडाका अध्यक्ष एकीकृत समाजवादीमा लागेपछि समाजवादीको पनि वडामा आफ्नो अवस्था सुधार भएको दाबी छ ।

माओवादीबाट निर्वाचित र पराजित पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेपछि अहिले उक्त पार्टी पनि बलियो अवस्थामा छ । काँग्रेसमा फोरम समाहित भए पनि काँग्रेस पनि बलियो अवस्थामा देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर