ओली-वाङ यी भेटवार्ता : बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन चीनलाई आग्रह (भिडिओ) – Nepal Press

ओली-वाङ यी भेटवार्ता : बीआरआईअन्तर्गतका परियोजना अघि बढाउन चीनलाई आग्रह (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) ले बेल्ट एण्ड रोड इनिसियटिभ अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटका क्रममा सो आग्रह गरिएको हो ।

एमाले नेता राजन भट्टराईका अनुसार आजको भेटवार्तामा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहजरूपमा फर्कने वातावरण बनाइदिन पनि आग्रह गरिएको छ ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । ओलीको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

बीआरआईलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङले प्रतिबद्धता जनाए ।

भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर