आफूभन्दा रुसी राष्ट्रपति धनी रहेको एलन मस्कको दाबी – Nepal Press

आफूभन्दा रुसी राष्ट्रपति धनी रहेको एलन मस्कको दाबी

एजेन्सी। वर्तमान समयमा संसारकै धनी व्यक्तीका रुपमा टेस्ला कम्पनीका कार्यकारी निर्देशक एलन मस्क स्थापित छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनको कूल सम्पत्ति २७० बिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

यद्यपि संसारकै धनी व्यक्तीकोरुपमा स्थापित मस्कले आफूभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन धनी रहेको दाबी गरेका छन् । इन्साइडरको मुख्य कम्पनी एक्सेल स्प्रिङरका लागि मस्कले दिएको एक अन्तर्वातामा उनले यस्तो दाबी गरेका हुन् ।

‘२६० अर्ब डलर नेट वर्थ (सम्पत्ति) का साथ पृथ्वीकै धनी हुन पाउँदा तपाईंलाई कस्तो लागेको छ ?’ भन्ने प्रश्नलाई जवाफ दिदैँ मस्कले भने ‘मलाई लाग्छ कि पुटिन म भन्दा धेरै धनी छन् ।’ रुसी राष्ट्रपति पुटिनको वास्तविक सम्पत्ति कति छ भन्ने संसारको लागि रहस्यको विषय रहेको छ भने बेला–बेलामा उनको सम्पत्तिलाई लिएर अनेकन आकलनहरु हुने गरेका छ्न् ।

पुटिनलाई ब्ल्याक सी’ मा रहेको १.४ अर्ब डलर मूल्यको दरबार र ४० लाख डलरको मोनाको अपार्टमेन्टसँग जोड्दै उनीसँग अवैध सम्पत्ति २०० बिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइन्छ ।

पुटिनसँग ५८ वटा विमान र हेलिकप्टर बाहेक अन्य १९ घर र ७०० कार रहेको दाबी गरिएको छ, जसमा ७१६ मिलियन डलरको ‘द फ्लाइङ क्रेमलिन’ नामको विमान पनि छ, जसको शौचालयसमेत सुनले बनेको बताइन्छ । यती मात्र नभई उनीसँग १०० मिलियन डलरको मेगायाट पनि भएको बताइन्छ ।

यद्यपि पुटिनको सार्वजनिक सम्पत्ति भने ८०० वर्ग फुटको अपार्टमेन्ट, एउटा ट्रेलर र तीनवटा कार मात्र रहेको छ । पुटिनले आफ्नो सम्पत्तिबारे उठेका सम्पूर्ण अनुमानलाई नकार्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर