दैलेखको दुल्लु नगरमा यी हुन् मेयरका आकांक्षी – Nepal Press

दैलेखको दुल्लु नगरमा यी हुन् मेयरका आकांक्षी

सुर्खेत । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा दैलेखको धार्मिक तथा ऐतिहासिक नगरपालिकाको रूपमा रहेको दुल्लु नगरपालिकामा मेयरका आकाङ्क्षीहरू बढ्दै गएका छन् ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हात पारेको यो नगरपालिकामा अहिले कांग्रेस समेत, नेकपा एमालेभित्र पनि आकाङ्क्षीहरू बढ्दै गएका छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका घनश्याम भण्डारीले ६ हजार ३४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी बरनाथ योगीले ६ हजार २८० मत प्राप्त गरेका थिए । योगी सो निर्वाचनमा एमालेबाट पराजित भएको थिए । अहिले नेकपा एसको जिल्ला अध्यक्ष छन् ।

०७४ सालमा नेकपा एमालेले उपप्रमुख सहित कार्यपालिकामा दुई तिहाइ सदस्य जितेको थियो । दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईअन्तर्गत पर्ने यो नगरपालिका माझ खण्डको नामले परिचित छ ।

यहाँ नेकपा एमालेबाट तिलक रिजाल, डा. रमेश आचार्य, रुद्र शाही, कपिल खनाल, हर्कबहादुर खड्का र गंगाराम दाहालले यो पटक मेयरका लागि दाबी गरिरहेका छन् । रिजाल हाल एमालेको जिल्ला सचिव छन् भने शाही उनीसँग पराजित भएका व्यक्ति हुन् ।

यस्तै वर्तमान उपप्रमुख विष्णादेवी थापा र कोकिला शर्माले पनि मेयरमा दाबी गर्दै आइरहेका छन् । ‘उपप्रमुखको रूपमा मैले भूमिका निर्वाह गरिसकेको छु । अब मैले नगरप्रमुखमा दाबी गर्नु स्वाभाविक नै हो,’ उपप्रमुख थापाले भनिन् ।

यस्तै, ०७४ मा विजयी भएको नेपाली कांग्रेसबाट वर्तमान नगर प्रमुख घनश्याम भण्डारी, मातृका रिजाल, भरत रिजाल लगायतको चर्चा चुलिएको छ ।

वर्तमान नगरप्रमुख भण्डारी जिल्ला सभापतिमा पराजित भएका थिए । उनी अहिले प्रदेशसभामा जाने बाटो खुला भए मेयरमा नलड्ने तर त्यो सम्भव नभए मेयरका लागि नै पुनः दाबी गर्ने मुडमा रहेका छन् ।

उनी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका ‘किचन क्याबिनेट’ व्यक्तिको रूपमा रहेका कारण पनि उनले प्रदेशसभाको टिकट सहजै सम्भावना रहेकाले रिजाल बन्धुहरूको भागमा नगरप्रमुखको उम्मेदवारी आइपर्नसक्ने चर्चा कांग्रेसवृतमा हुने गरेको छ ।

गठबन्धन बनेमा कांग्रेसले सहजै विजयी प्राप्त गर्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर