तथ्यांकमा स्थानीय चुनाव २०७९ : मोरङमा सबैभन्दा बढी मतदाता, मनाङमा कम – Nepal Press

तथ्यांकमा स्थानीय चुनाव २०७९ : मोरङमा सबैभन्दा बढी मतदाता, मनाङमा कम

काठमाडौं । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते हुँदैछ । देशभर एकै चरणमा निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग जुटिसकेको छ ।

आयोगका अनुसार यस निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता सहभागी हुन पाउनेछन् ।

यसअघि नेपालमा सम्पन्न भएका निर्वाचनमा सबैभन्दा बढी मतदाता २०६४ सालको संविधानसभा निर्वाचनमा रहेको थियो । सो निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७६ लाख ११ हजार ८३२ रहेको थियो ।

आउँदो स्थानीय तहको निर्वाचनको लागि नाम लेखाएका मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र १८३ जना अन्य रहेका छन् ।

आयोगले स्थानीय तह निर्वाचन सम्पन्न गर्न देशभर १० हजार ७५३ मतदान स्थल अन्तर्गत २१ हजार ९५५ मतदान केन्द्रहरू राख्ने निर्णय गरेको छ ।

सबैभन्दा बढी मतदाता मोरङमा छन् । मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता छन् । मोरङपछि झापामा ६ लाख ४६ हजार २३४ र काठमाडौंमा ६ लाख ३७ हजार ७७५ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता संख्या मनाङ, मुस्ताङ र डोल्पामा रहेका छन् । आयोगका अनुसार मनाङमा ६ हजार ४९६, मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० जना मतदाता रहेका छन् ।

आगामी निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेका स्थानीय तहमा काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका छन् । काठमाडौंमा ३ लाख २४२, पोखरामा २ लाख ७ हजार ७१२ र भरतपुरमा १ लाख ८५ हजार ७५२ जना मतदाता रहेको आयोगले जनाएको छ ।

सबैभन्दा कम मतदाता रहेका स्थानीय तहमा नार्पा भूमि गाउँपालिका (मनाङ), चामे गाउँपालिका (मनाङ) र छार्का ताङसोङ गाउँपालिका (डोल्पा) रहेका छन् । नार्पा भूमिमा ४४८, चामेमा ७११ र छार्का ताङसोङमा ९६७ मतदाता रहेका छन् ।

यसपटक सबैभन्दा बढी मतदान केन्द्र मोरङमा ८२०, काठमाडौंमा ७५९ र झापामा ७५५ वटा छ । सबैभन्दा कम मनाङमा २८, मुस्ताङमा ३८ र रुकुमपूर्वमा ४९ वटा मतदानकेन्द्र रहने छन् ।

प्रदेशहरूमा सबैभन्दा बढी मतदान केन्द्र मधेस, वागमती र प्रदेश १ मा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार १८९, वागमती प्रदेशमा ४ हजार ९५ र प्रदेश १ मा ४ हजार ५१ वटा मतदानकेन्द्र रहनेछन् ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३८५, सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ र गण्डकी प्रदेशमा २ हजार ३०० मतदानकेन्द्र रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर