चैत २५ देखि वैशाख १८ सम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
काठमाडौं । सरकारले आउँदो चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको हो ।
सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो खोप अभियानपछि टाइफाइड विरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी रहेको छ । १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिने जनाइएको छ ।
मन्त्रालयले खोप लगाउने निश्चित मिति र स्थानको बारेमा नजिकको स्वास्थ्य संस्था, विद्यालय तथा वडा कार्यालयमा सम्पर्क गर्न समेत आव्हान गरेको छ ।