रुस युक्रेन युद्धः एकमहिनामा ३८ लाख युक्रेनीले छाडे देश – Nepal Press

रुस युक्रेन युद्धः एकमहिनामा ३८ लाख युक्रेनीले छाडे देश

काठमाडाैं । एक महिनाअघि रुसले युक्रेनमा सुरु गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिसले  युक्रेन छाडेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले  युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क आइतबार सर्वजानिक गरेको हो ।

यो शनिबारको तथ्याङ्कभन्दा ४८ हजार ४५० सङ्ख्याले वृद्धि  भएकाे हो । विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ ।   यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ ।

युक्रेनबाट जीवन रक्षाका लागि भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्यान्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन् । उनीहरूमध्ये झन्डै तीनलाखले रुसमा शरण लिएका बताइएको छ । एक महिनाअघि सङ्कट सुरु हुनुभन्दा अघि यूरोपेली संघको सदस्य रहेको पोल्यान्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्याङ्कमा उल्लेख छ ।

फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ । यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्।

युक्रेनको शरणार्थी सङ्कट दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा खराब सङ्कटका रुपमा लिइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफले बताएअनुसार युक्रेनमा रूसले आक्रमण सुरू गरेदेखि अहिलेसम्म अनुमानित ७५ लाख बाल जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् झन्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छाड्न बाध्य भएका छन् ।

यसमध्ये झन्डै १५ लाख बालबालिकाहरू शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ ।

युद्धका कारण युक्रेनको जीवनस्तर खस्कँदै गएपनि दिनहुँ बिदेसिनेको सङ्ख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ । यस तथ्याङ्कमा युक्रेन छोडेर घर फर्कन गएका छिमेकी राज्यका नागरिकहरू समावेश गरिएका छैनन् ।

यूएनएचसीआरका अनुसार अहिलेसम्म युक्रेनी शरणार्थीमध्ये प्रत्येक दश जनामा छ व्यक्ति पोल्यान्ड  पुगेका छन् अर्थात् पोल्यान्ड पुग्नेको सङ्ख्या २२ लाख ६७ हजार १०३ रहेको छ । युक्रेनबाट तत्काल पश्चिमी छिमेकीहरूमा प्रवेश गर्ने धेरै मानिसहरू युरोपको शेंजेन खुला सिमाना क्षेत्रका अन्य राज्यहरूमा जाने क्रम निरन्तर रहेको छ ।

धेरै जना विपरीत दिशातर्फ पनि गइरहेका छन् । सीमा रक्षकहरूले युद्ध सुरु भएदेखि लगभग दुई लाख ७४ हजार मानिसहरू पोल्यान्ड छोडेर युक्रेन गएकाे पनि बताइएको छ ।

बिदेसिएका शरणार्थीमध्ये करिब छ लाख रोमानियामा प्रवेश गरेका छन् र यीमध्ये अधिकांशे रोमानिया र युक्रेनको बीचमा रहेको मोल्डोभाबाट पार गरेका छन् । धेरै मानिसहरू रोमानिया हुँदै अन्य मुलुकतर्फ गएका पनि बताइएको छ ।

यूएनएचसीआरले तीन लाख ८१ हजारभन्दा बढी युक्रेनीहरू गरिब राष्ट्र माल्डोभातर्फ गएका बताइएको छ । त्यसैगरी करिब तीन लाख ५० हजार युक्रेनीले हङ्गेरीमा शरण लिन पुगेका छन् ।  यूएनएचसीआरको तथ्याङ्कअनुसार रूसमा लगभग २७ लाख ७१ हजारभन्दा शरणार्थीहरूले आश्रय लिएका छन् ।

यसबाहेक, फेब्रुअरी २१ देखि २३ को बीच पूर्वी यूक्रेनको डोनेट्स्क र लुगान्स्कका पृथकतावादी समर्थक क्षेत्रहरूबाट एक लाख १३ हजार मानिसहरू रूसमा प्रवेश गरेका थिए ।

यूक्रेनको सबैभन्दा छोटो सीमा पार गरेर करिब दुई लाख ७२ हजार मानिस स्लोभाकिया पुगेका छन् भने करिब छ हजार ५०० शरणार्थीहरू रूसको निकट सहयोगी बेलारूसको उत्तरी क्षेत्रमा पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर