एआईजी सिफारिस विवादको टुंगो लगाउन बैठक डाकियो – Nepal Press

एआईजी सिफारिस विवादको टुंगो लगाउन बैठक डाकियो

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको सिफारिसविरुद्ध परेको उजुरी टुंगो लगाउन भोलि बैठक बोलाइएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको तीन सदस्यीय उजुरी सुन्ने समितिको बैठक तय गरिएको हो । समितिमा मुख्य सचिव शंकरदास बैरागी कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा सदस्य छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अर्को एक बैठक बोलाएका कारण भोलि बैठक/बस्ने निश्चित नभएको स्रोतले बतायो ।

वरीयता मिचेर सिफारिस गरिएको भन्दै घनश्याम अर्याललगायत सिनियर डीआईजीहरूले गृहसचिव टेकनारायण पाण्डे संयोजकत्वको सिफारिस समितिले गरेको निर्णयविरुद्ध उजुरी गरेका हुन् ।

चैत १ गते बसेको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस भएको एक साताभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था बमोजिम अर्याललगायत उजुरी सुन्ने समितिकहाँ पुगेका हुन् । उजुरी गर्ने म्याद सकिएको १५ दिनभित्र उजुरी सुन्ने समितिले निर्णय गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

बढुवाको उजुरी सुन्ने समितिले बढुवा समितिले बढुवाका आधारहरूको मूल्यांकन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा सो नखुलाएकोमा त्यस्तो कारण वा आधार खुलाउन अवधि तोकी लेखी पठाउन सक्नेछ ।

बढुवा समितिको बढुवा समितिको सिफारिसविरुद्ध बढुवा उजुरी सुन्ने समितिले कुनै उम्मेदावारले नियमावली बमोजिम प्राप्त गर्नु पर्ने अङ्क प्राप्त नगरेको वा प्राप्त नगर्ने अङ्क प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा सो समेत गरी बढुवा समिति समक्ष पठाउनु पर्ने र बढुवा समितिले बढुवाको उजुरी सुन्ने समितिबाट लेखी आए बमोजिम नियुक्तिको लागि सिफारिस गर्नु पर्ने प्रहरी नियमावली २०७१ को व्यवस्था छ।

देउवा सरकारले नेपाल प्रहरीमा एआईजीका तीनवटा दरबन्दी थपेपछि बढुवा समितिले सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर